मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

योगाभ्यास अपरिहार्य जीवन पद्धति

योगाभ्यास अपरिहार्य जीवन पद्धति


कृष्ण मुरारी ज्ञवाली

गत जुन महिनामा केही दिनका लागि क्यानडाबाट ह्युस्टन गएका बेला त्यहाँका नेपालीहरुसंग योग र नियमित योगाभ्यासबाट हुने फाइदाहरुका बारेमा छलफल गर्ने मौका मिलेको ‘थ्यो। भाइ मधु ज्ञवालीका माध्यमबाट जुटेको त्यो अवसर र पतञ्जलि योग समिति नेपालसंग मेरो संलग्नताका कारण हामीले दुईदिने खुल्ला योगाभ्यास गर्ने कार्यक्रम तय गऱ्यौं।

योग यात्रामा पदार्पण गर्नु भन्दा पहिले योगको बारेमा केही जानकारीमुलक छलफल गर्नु सान्दर्भिक भएकाले योगका बारेमा सार्वजनिक चिन्तन गरिएका विषय बस्तुलाई समेटेर यो संक्षिप्त आलेख तयार पारिएको हो।

शब्दहरूको धेरै अर्थ हुन्छन्, “शब्दानाम् अनेकार्था” योग शब्दको पनि धेरै अर्थ छन् । सामान्य अर्थमा योग भनेको जोड्नु हो। महर्षि पतञ्जलिका अनुसार, योग भनेको समाधि हो । व्यासका अनुसार- आत्मा र परमात्माको सम्बन्ध नै योग हो ! गोरखनाथका अनुसार जिवात्मा र परमात्माको संयोग नै योग हो । त्यस्तै वशिष्ठऋषिका अनुसार मनलाई समन र दमनको उपाय नै योग हो । त्यस्तै ज्योतिषशास्त्र अनुसार ग्रहहरूको विशेष स्थितिलाई योग भनिन्छ । प्रसङ्ग अनुसार शब्दको अर्थ बुझ्नु पर्छ । यहाँ योगलाई हामीले आत्मदर्शन, आत्म साक्षात्कार, आत्मवोध को रूपमा बुझ्नु पर्छ। योग जीवनदर्शन हो, योग आत्मानुशासन हो। योग शारीरिक व्यायाम पनि हो। योग शारीरिक व्यायाम मात्र पनि होइन यो त चित्तलाई निर्मल पार्ने विद्या हो । योग चिकित्सा विज्ञान हो, साथै सम्पूर्ण जीवनको विज्ञान हो। योग गर्ने पहिलो आधार शरीर हो । मानिसले जीवनका चार पुरुषार्थ धर्म, अर्थ, काम, मोक्ष पूर्ण गर्न शरीर चाहिन्छ। शरीर मात्र भएर हुँदैन शरीर पनि निरोगी चाहिन्छ । रोगी शरीरले केही कर्म गर्न सक्दैन । शरीरमा लागेको रोग हटाउने तथा शरीरमा रोग लाग्न नदिन योग यात्रामा समावेस हुनु पर्छ। योगको प्रारम्भ भगवान शिवबाट भएको हो। त्यही अभियानलाई सफल पार्न महर्षि पतञ्जलिको प्रादुर्भाव भयो। वहाँले तयार गरेका सूत्रलाई योग दर्शन भन्न थालियो । यिनै योगका कुराहरु श्रीमद भगवत गीतामा पनि बयान गरिए‌को छ । अँध्यारोलाई उज्यालोमा,  दुखलाई सुखमा, प्रतिकूलतालाई – अनुकूलतामा, पराजयलाई विजयमा, रोगी शरीरलाई निरोगी बनाउने, समस्यामा विचलित नभै समभावमा बाँच भन्ने सन्देश योगबाट प्राप्त हुन्छ । योगमा सफल हुन भोगबाट जोगिनु पर्छ । भोगले रोग, भय, दुख, अशान्ति, असुरक्षा, असहिष्णुता, अधैर्य, अज्ञान, घृणा, बुढोपन हुँदै मृत्युमा पुग्छ । भोग जति भोग्यो बढी रहन्छ, तृप्त हुँदैन। आरोग्य, निर्भयता, सुख, शान्ति, सन्तुष्टि, प्रेम करुणा, विवेक, धैर्य, सहिष्णुता, तेज, अमरता योगको शरणमा गए मात्र प्राप्त हुन्छ ।

योगले शरीरमात्र होइन मनको पनि उपचार गर्छ। अहिलेको मानिस मानसिक समस्याबाट गुज्रीरहेको छ । मनमा बेचैन, खालीपन के नपुगे जस्तो छटपटी चिन्ता भयबाट त्रसित छ । यसको निराकरणको उपाय भनेको दैनिक प्रातकालिन योगाभ्यास नै हो। दुई घण्टाको पैदल यात्रा वराबर १० मिनटको यौगिक जोगिङ्गले पूर्णता दिन्छ ।११ पटक सूर्य नमस्कार गरेमा १ घण्टा जीम गरे भन्दा बढी फाइदा हुन्छ । ९९ पटक सूर्य नमस्कार गर्न पाँच मिनट पनि लाग्दैन। विभिन्न आसनहरु १५ मिनट जति गऱ्यो भने रोग निवारण हुन थाल्छ । त्यस्तै प्राणायामहरू ३० मिनट गर्नसके धेरै राम्रो। अनि अन्त्यमा आफ्नो इच्छा अनुसार ध्यान गरे पछि पूर्ण हुन्छ । दैनिक आफ्नो लागि आफूलाई माया गरेर दुई घण्टा समय दिन सके धेरै राम्रो । व्यस्त जीवनबाट समेत समय मिलाएर योगाभ्यास गर्नु जरुरी छ ।

समय आफ्नै हो। शरीर र मन आफैसंग छ । अरु लिन पर्ने अवस्था नै छैन। केवल विहान अबेलासम्म सुत्ने समयलाई घटाएर समय व्यवस्थापन गर्नु मात्र हो | आफ्नो अवस्था, उमेर विचार गरेर प्राणायामहरुमा सर्वप्रथम भस्त्रिका प्राणायाम ५मिनट गर्नु पर्छ । यसले फोक्सोको समस्या हटाउँछ । कपालभाति प्राणायाम १० मिनट गर्नुपर्छ। यसले धेरै रोगहरु निर्मूल गर्छ। उज्जै प्राणायामले थाइराइड रोग निको पार्छ। अनुलोम-विलोम प्राणायामले टाउको सम्बन्धि समस्यामा विशेष काम गर्छ  भने भ्रामरी ११ पटक गर्दा टाउकोको समस्या र उच्चरक्तचापलाई नियन्त्रण गर्छ । ॐ को जप र ध्यानले मनका विकार हटाई शान्ति प्रदान गर्छ । यी प्राणायामसंग रोग विशेषका आसन पनि जोड्ने हो भने रोगबाट छिटै छुटकारा पाइन्छ ।उभिएर काम गर्ने, उभिएर पकाउने, धेरै समय गाडीमा बसिरहने आदि कारणबाट ढाड-कम्मर दुख्न थाल्छ ।त्यसको निदानकालागि मर्कटासन, उष्ट्रासन मकरासन, भुजङ्गासन, धनुरासन गर्नु पर्छ। एक आसन एक मिनटको गर्न सकिन्छ । मोटोपन वा पेट घटाउन ‘ताडासन, त्रिकोणासन, पादवृत्त द्विचक्रीकासन, अर्धहलासन, कटीसौन्दर्यासन, गर्न सकिन्छ । त्यसैगरि पेट वा मधुमेहका लागि मण्डुकासन, चक्रासन, गोमुखासन, नौकासन पवनमुक्तासन, कन्धरासन आदि गर्दै प्राणायाम गरेमा रोग निर्मूल हुन्छ। रोग नलागेको व्यक्तिलाई रोग लाग्दैन। यो एक दिन गरेर पुग्दैन नियमित गर्नु पर्छ। यस अतिरिक्त आहार-विहारमा विचार पुऱ्याएमा योगको लक्ष्य पूर्ण सफल हुन्छ । गीतामा पनि आहार विहारको बारेमा उल्लेख गरिएको छ—

सुक्काहार बिहारस्य युक्त चेष्टस्य कर्मसु ।

युक्त स्वप्न बवोधस्य योगो भवति दुख ॥

यसको अर्थ हो—जसको भोजन र व्यायाम नियमित र सन्तुलित छ, साथै सुत्ने र उठ्ने कार्य पनि विधियुक्त छ त्यस्ता व्यक्तिको दुख योगले हटाउँछ। त्यसकारण मानव जातिको हरेक कर्म निर्धारित छन् । मानिसले शरीर सन्तुलित बनाइराख्न पर्छ। धेरै खाने अथवा खाँदै नखाने, धेरै सुत्ने वा सुत्दै नसुत्ने पनि गर्नु हुँदैन।

दिन‌को न्यूनतम एक घण्टा योग गर्ने व्यक्तिले कमसेकम १० मिनट ध्यान गर्ने बानी गर्नु पर्छ । बानी परे पछि यो समय बढाएर आफ्नो इच्छा अनुसार गर्न सकिन्छ । ध्यान गर्दा धारणा चाहिन्छ अर्थात विषय चाहिन्छ । बिना विषय मनलाई रोक्न सकिदैन। मन हावा जस्तै चञ्चल छ । थाहै हुँदैन, कतिबेला कहाँ कहाँ पुग्छ। त्यसै भएर ध्यानका लागि प्रारम्भमा आफ्नो श्वासको गतिलाई अध्ययन गर्ने अर्थात नाकबाट भित्र बाहिर गर्ने, श्वासलाई निरीक्षण गर्ने। यही विधि गरी राखेपछि मन बाहिर जाँदैन। मनलाई बाँधेर कार्यमा लगाएपछि ध्यान प्रारम्भ हुन्छ। त्यसकोलागि बस्ने आसन सुविधायुक्त, कोठाको वातावरण शान्त र मन सफा हुनु पर्छ । मनमा कुरा खेलाई राख्यो भने ध्यान हुँदैन। मनलाई निर्विषय बनाएपछि अर्थात मन पूर्ण खाली भएपछि ध्यान गर्न आफूले रोजेको विषयमा निरन्तर मन टिकाइ राख्नु ध्यान हो । सत्कर्म, योगाभ्यास आदिबाट वृत्तिहरु सूक्ष्म हुँदै गएका हुन्छन्। नष्ट भइसकेका हुँदैनन् । मनमा उठ्ने विकार, विचारलाई वृत्ति भनिन्छ। ति वृत्ति र केशलाई निर्मूल पार्न ध्यानको आवश्यकता पर्छ। ध्यान एक दिन वा हप्ता  १० दिन गरेर पुग्दैन । निरन्तर जीवन भर गर्नुपर्छ । जसरी शरीरलाई दैनिक खानाको आवश्यकता पर्छ, ठीक त्यसै गरी, मन सफा गर्न ध्यान चाहिन्छ। अन्यथा संसारमा रहेका सबै मानवलाई परिणाम दुख, ताप दुख, संस्कार दुखले सताइरहन्छ ।

तृष्णा बलवान् छ । तृष्णाको गाग्री कहिल्यै भरिंदैन।  तृष्णाले गर्दा इन्द्रीय दुर्बल हुँदै जान्छ। शरीर बुढो हुँदै जान्छ। तृष्णा कहिले पनि बुढो हुँदैन । भोग पनि कहिले पूर्ण हुँदैन। भोग अतृप्त नै रहन्छ। यसमा मूख्य भूमिका षड‌विकारको रहेको हुन्छ – षडविकार भन्नाले काम, क्रोध, लोभ, मोह, मद, मर्त्सयलाई बुझिन्छ । यी विकारहरुलाई मनबाट नहटाएसम्म मन शान्त हुँदैन । यिनै विकारको पछि लागि रहने वा आसक्त भइरहने मानव दानव बन्न पनि  बेर लाग्दैन । हाम्रा पूर्वज ऋषिहरु यिनै ज्ञानको कारण महान बने। तिनै महान ऋषिका हामी सन्तती हौं। हाम्रा नसाहरुमा तिनै पूर्वजहरुका रगत दौडिरहेको छ । हाम्रा मस्तिष्कमा ज्ञानको अथाह भण्डार छ त्यसलाई खोल्यौं भने ज्ञान प्राप्त हुन थाल्छ आफ्नो विषयमा चिन्तन मनन गर्न दर्शनले सिकाउँदा दर्शन धेरै छन् तथापि मानव जातिको सुख-दुख, जय-पराजय, मान-अपमान आदिमा मार्ग दर्शन गर्न सक्ने खुबी योग दर्शनले राख्दछ ।

म र मेरो कर्तव्यका बारेमा ज्ञान दिंदै मृत्युलाई कसरी सुधार्न सकिन्छ भन्ने कुरामा आश्वस्त पार्ने विद्या नै योग विद्या हो त्यसैले भनिन्छ “गरौं योग, रहौं निरोगी।