काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सहकारी ठगी प्रकरणमा संलग्न सबैमाथि छानबिन हुने बताएका छन् ।
बुधबार काठमाडौँमा आयोजित तमु पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले सहकारी ठगीमा संलग्नलाई कुनै दलमा आबद्ध भएको कारण छाड्न नसकिने बताए । रास्वपाका नेतालाई मात्रै सहकारी प्रकरणमा कारबाही गर्यो भन्नु गलत भएको उनको भनाइ छ ।
गुरूङले राज्यले गर्ने छानबिनलाई सबैले सहयोग गर्नुपर्ने र अदालतको आदेशलाई सबैले पालना गर्नुपर्नेमा जोड दिए । छानबिनलाई नै प्रभाव पार्ने काम गैरकानुनी भएको उनले बताए ।
सरकारका प्रवक्तासमेत रहेका गुरूङले सहकारीसम्बन्धी अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय मंगलबारको मन्त्रिपरिषद् बैठकले गरेको जानकारी दिए । यस्तै, उनले मुलुकको सुरक्षा, आर्थिक विकास समृद्धिको लागि सरकारले काम गरिरहेको धारणा व्यक्त गरे ।
उनले एआईको प्रयोगसम्बन्धी नीति ल्याएर त्यसलगत्तै कानुन निर्माण गर्ने जानकारी दिए । उनले आफ्नो कार्यकालमा नेपालको सञ्चार र सूचना प्रविधिको क्षेत्रमा व्यवस्थित परिस्थिति निर्माण गरेरै छाड्ने दाबी गरे ।
प्रतिक्रिया