मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
नेपाल   

रवि लामिछानेसँग ३१ करोड बिगो दाबी गर्दै कास्की अदालतमा मुद्दा दायर

रवि लामिछानेसँग ३१ करोड बिगो दाबी गर्दै कास्की अदालतमा मुद्दा दायर

सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरूद्ध मुद्दा दायर


शेयर गर्नुहोस:

189
Shares

  • change font
  • change font
  • change font

पोखरा । सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरूद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतमा आइतबार मुद्दा दायर भएको छ ।

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको आरोपमा पक्राउ परी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनीविरूद्ध सम्पत्ति शुद्धीकरणमा रू २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच र सहकारी ठगीतर्फ रू तीन करोड ३७ लाख ६५ हजार बिगो दाबीसहित मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिइन् ।

Advertisement

उनका अनुसार रास्वपा सभापति लामिछानेसहित उक्त सहकारी ठगी प्रकरणमा जोडिएका रामबहादुर खनाल, छविलाल जोशी र लीला पछाइविरूद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरिएको हो ।

प्रतिवादी खनालसँग रू १४ करोड ३० लाख ९१ हजार नौ सय ११, जोशीसँग रू ७४ करोड ३४ लाख ७१ हजार ५५, पछाइसँग रू २४ करोड ६७ लाख सात हजार २४ बिगो दाबी गरिएको सहायक जिल्ला न्यायाधिवक्ता शर्माले जानकारी दिइन् । यस्तै सहकारी ठगीमा जोशीविरूद्ध रू पाँच करोड २६ लाख ६५ हजार र दीपेश पुनसँग रू दुई करोड १४ लाख आठ हजार आठ सय ४३ बिगो माग गरिएको छ ।

सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित मुद्दा दर्ता भएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।

लामिछानेसहित १९ जनाविरूद्ध सङ्गठित अपराधमा पनि आइतबारै मुद्दा दर्ता भएको छ । सहकारी ठगी मुद्दामा पनि लामिछानेसहित ३१ जनाविरूद्ध मुद्दा दायर भएको हो । सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरूद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ ।

जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा सभापति लामिछानेसहित विभिन्न व्यक्तिविरूद्ध सजायको माग दाबीसहित अभियोगपत्र दर्ता भएको बताए । सहकारी बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए उनीमाथि कास्कीसहित अन्य जिल्लासमेत सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ ।

सभापति लामिछानेविरूद्ध अभियोगपत्र पेस

यसैबीच, सहकारीको बचत रकम अपचलनको आरोपमा पक्राउ परी जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध कास्की जिल्ला अदालतमा आइतबार अभियोगपत्र पेस भएको छ ।

जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले सभापति लामिछानेसहित सहकारी ठगीका आरोपित अन्य व्यक्तिविरूद्ध पनि अभियोगपत्र पेस भएको जानकारी दिए ।

“अहिले अभियोगपत्र रूजुको काम भइरहेको छ, लामिछानेलगायतविरूद्ध मुद्दा दर्ता गर्न अदालतले आवश्यक प्रक्रिया अगाडि बढाइसकेको छ”, उनले भने ।

शेयर गर्नुहोस:

189
Shares