काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धान पूरा गरेको कास्की प्रहरीले पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको २७ करोड ८९ लाख रुपैयाँ स्रोत नखुलेको भेटेको छ ।
त्यस्तै, पूर्वडीआईजी छविलाल जोशीसँग भएको ७४ करोड ३४ लाख रुपैयाँको स्रोत नखुलेको हुँदा बिगोसहितको माग दाबीका लागि सिफारिस गर्न प्रहरीले राय दिएको छ ।
लामिछानेको परिवारका नाममा रहेको सम्पत्ति जफत गर्नुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन दिएको प्रहरीको एक उच्च अधिकारीले जानकारी दिए । कास्की प्रहरीले सोमबार अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय कास्कीलाई बुझाएको थियो । रविको परिवारका सदस्यसहित पाँच जनालाई मुद्दा नचलाई सम्पत्ति भने जफत गर्नुपर्ने राय दिएको एक उच्च प्रहरी अधिकारीले जानकारी दिए ।
ती प्रहरी अधिकारीले भने, ‘‘सम्पत्ति शुद्धीकरणबारे रवि लामिछानेको हकमा मुद्दा चलेका कारण उनको परिवारका सदस्यलाई मुद्दा नचलाई सम्पत्ति भने जफत गर्नुपर्ने राय प्रहरीले दिएको छ । बाँकी सरकारी वकिल कार्यालयले कसरी मुद्दा दर्ता गराउँछ, त्यसमा भर पर्छ ।’’
प्रहरी अधिकारीका अनुसार, सम्पत्ति शुद्धीकरणबारे अनुसन्धान गरेको प्रहरीले लामिछानेको २७ करोड ८९ लाख रुपैयाँ स्रोत नखुलेको भेटेको जनाएको छ ।
लामिछाने र जोशीलाई उक्त रकम बराबर बिगो कायम गरी मुद्दा चलाउन प्रहरीले राय दिएको छ । त्यसरी नै सहकारी ठगीतिर जोशीलाई पाँच करोड २६ लाख र लामिछानेको हकमा तीन करोड ३७ लाख विगो दाबी गरिएको छ ।
त्यसरी नै सूर्यदर्शन सहकारी ठगीमा हाल फरार रहेका गितेन्द्रबाबु राई जीबीका हकमा ३४ करोड रुपैयाँ ठगी र एक अर्ब ८६ लाख रुपैयाँ सम्पत्ति शुद्धीकरणको बिगो कायम गर्नुपर्ने राय प्रहरीले दिएको छ ।
प्रहरीको प्रतिवेदनमाथि जिल्ला सरकारी वकिल कार्यालयले अभियोजनका लागि काम थालिसकेको छ । त्यसबाहेक सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका र फरार प्रतिवादीको हकमा कुल एक अर्ब ५१ करोड रुपैयाँ बिगो कायम हुनुपर्ने राय प्रहरीले प्रतिवेदनमा दिएको छ ।
प्रहरीले सूर्यदर्शन सहकारीमा प्रकरणमा रवि र छविसँगै कुल ५१ जनालाई प्रतिवादी बनाएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनबारे यसअघि मुद्दा अदालत पुगिसकेको छ ।
गएको असोज १८ गते सहकारीको रकम अपचलन प्रकरणमा कुल १९ जनालाई प्रतिवादी बनाइएको थियो भने एक अर्ब ३५ करोड बिगो दाबी गरिएको थियो । पुनः थप ३२ जनालाई प्रतिवादी र विगो थप १६ करोड गरेर कुल एक अर्ब ५१ करोड र प्रतिवादी तथा संख्या ५१ पुगेको प्रहरी स्रोतको भनाइ छ ।
रवि र छविसहित पाँच जना पूरक जाहेरीका आधारमा पक्राउ गरेर प्रहरीले मुद्दा चलाएको थियो । प्रतिवादी बनाएकाहरूमा बाग्लुङग ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीसमेत छन् । उनी बाग्लुङकै अर्को इमेज सहकारी प्रकरणमा पक्राउ परेर पुर्पक्षका लागि जेलमा छन् ।
कास्की प्रहरीले पक्राउ परेका रवि र छविसहितका आरोपीलाई तीन वटा मुद्दामा कारबाही माग गर्दै अनुसन्धान प्रतिवेदन सोमबार सरकारी वकिल कार्यालय बुझाएको हो ।
उनीहरूमाथि सम्पत्ति शुद्धीकरण, संगठित अपराध र सहकारी ठगीमा कारबाही माग गरिएको छ । कास्की प्रहरीले पूर्वडीआईजी छविलाल जोशीलाई पक्राउ परेको ८५ दिनमा अनुसन्धान सकी सरकारी वकिल कार्यालय बुझाएको हो । उनी असोज ६ गते काठमाडौंबाट पक्राउ परेका थिए । त्यस्तै रवि लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए ।
उनीहरू हाल कास्की प्रहरीकै हिरासतमा छन् । जिल्ला सरकारी वकिल कार्यालय पुस ६ गतेभित्र मुद्दा अदालत दर्ता गरी सक्नुपर्ने कानुनी व्यवस्था छ । जिल्ला सरकारी वकिल कार्यालयले भने प्रहरीले लिएको दाबी विगो र प्रतिवादीहरूका हकमा समेत हेरफेर गरी मुद्दा दर्ता गराउन सक्छ । पक्राउ परेकामाथि जिल्ला अदालत कास्कीले मंगलबार चार दिन थुनामा राख्न अनुमति दिएको छ । बाह्रखरी
प्रतिक्रिया