टेक्सास । अमेरिकाको टेक्सास राज्यको हर्सस्थित श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको संयोजनमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। उक्त रक्तदान कार्यक्रममा २७ जनाले रगत दान गरेका छन् ।
समाजको वार्षिक उत्सवको अवसर पारेर आयोजना गरिएको उक्त रक्तदान कार्यक्रम अक्टोबर २७ तारिख आइतबारका दिन टेक्सासको हर्सस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा सम्पन्न भएको हो ।
समाजका उपाध्यक्ष दीपक ढकालले दिएको जानकारीअनुसार उक्त रक्तदान कार्यक्रमा ब्लड डोनर्स अफ अमेरिका (बिडिए) को सहयोग तथा कार्टर ब्लड बैंकको प्राविधिक सहयोग रहेको थियो ।
कार्यक्रममा श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको कार्यसमितिका अध्यक्ष नुरनाथ सुवेदी, समाजको ट्रष्टी अध्यक्ष डाक्टर मिलन पौडेल, समाजको महिला समितिकी अध्यक्ष शारदा पुडासैनी, ब्लड डोनर्स अफ अमेरिका, टेक्सास च्याप्टरका अध्यक्ष विकास भण्डारी, पूर्वअध्यक्ष शिव काफ्ले, अजयराज बगालेलगायतको उपस्थिति रहेको थियो ।
समाजका उपाध्यक्ष तथा रक्तदान कार्यक्रमका संयोजक ढकालले रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै रगत दान गर्ने रक्तदाताहरु र कार्यक्रम सम्पन्न गर्न प्रत्यक्ष परोक्ष रुपमा साथ सहयोग गर्ने व्यक्ति तथा संघ संस्थाहरुलाई आयोजकको तर्फबाट धन्यवाद व्यक्त गरेका छन्।
धार्मिक क्रियाकलापहरु गर्ने मुख्य उद्देश्य राखेर सन् २००९ मा स्थापना गरिएको यस समाजले, आफ्नो स्थापना कालदेखि नै विविध धार्मिक तथा सामाजिक कार्यहरु गर्दै आइरहेको छ। यसै सिलसिलामा समाजले आफ्नो हरेक वार्षिक उत्सवको अवसरमा प्राथमिकताका साथ रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।
प्रतिक्रिया