चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाली आकाशलाई सुरक्षित र गतिशील बनाउने विषयमा अध्ययन सुरू गरिएको बताएका छन् ।
भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री पाण्डेले नेपालको आकाशमा देखिने समस्याको कारण पत्ता लगाउन अध्ययन सुरू गरिएको बताए । उनले भने, “नागरिक उड्डयनको क्षेत्रमा नेपाली आकाशलाई कसरी सुरक्षित गर्ने र गतिशील बनाउने भन्ने सन्दर्भमा अध्ययन भइरहेको छ । अध्ययनपछि बन्ने नीति र नीतिपछि बन्ने कानुन, कानुनले निर्धारण गर्ने विभिन्न संरचना के हुन सक्छन भन्ने विषयले महत्त्व राख्छ ।”
आकाशलाई सुरक्षित र गतिशील बनाउन मन्त्रालयले काम अघि बढाइसकेको र चाँडै यसको परिणाम मन्त्रालयले प्राप्त गर्ने मन्त्री पाण्डेको भनाइ थियोे । भरतपुर विमानस्थल विस्तारको कामका लागि नागरिक उड्डयन प्राधिकरणले काम गरिरहेको उनले बताए । विमानस्थल विस्तारको विषयमा आफूले सरोकारवाला निकायसँग निरन्तर छलफल गरिररहेको उनले बताए ।
मन्त्री पाण्डेले मन्त्रालयका छुट्टाछुट्टै तीन विभागमा नीतिगत, कानुनी र संरचनात्मक सुधारका लागि के गर्न सकिन्छ भन्ने विषयमा जोड दिइएको बताए ।
प्रतिक्रिया