नेपालीहरु जहाँ बस्छन् त्यहीं मिनी नेपाल बनाउँछन्। नेपाली चाडपर्व आउँदा होस् कि नेपालबाट विशेष कलाकारहरु आएको बेला, प्रवासमा भएपनि सिङ्गै नेपाल ठडिएको आभास भइहाल्छ। माहोल नै यस्तो बन्छ कि बन्द हल, मन्दिर वा पार्क जता भएपनि नेपाली नै नेपाली भएजस्तो देखिन्छ। झन् तिज त पर्व नै यस्तो हो कि नेपाली नारीहरुको सांस्कृतिक पहिरनले नै वरिपरिको माहौल नै झकिझकाउ बन्दिन्छ।
हो, यस्तै दृष्य शुक्रवार बृहत्तर ह्युस्टनको रिचमण्डस्थित पशुपतिनाथ मन्दिरमा देखिएको थियो। पशुपतिनाथमन्दिर व्यवस्थापन समितिले बिहान र बेलुकी गरेर दुई शिफ्टमा तिज-ब्रत पूजा गर्ने व्यवस्था मिलाएको थियो।नेप्लिज एशोसियसन अफ ह्युस्टन (एनएएच) एवं मन्दिर व्यवस्थापन समितिको संयोजनमा भएको सामूहिक पूजा कार्यक्रममा सयौं ब्रतालु नारीहरुको सहभागिता रहेको एनएएचका सदस्य हरि न्यौपानेले हिमालय खबरलाई जानकारी गराएकाछन्। न्यौपानेका अनुसार विहान ११ बजे र साँझ सात बजे गरेर दुई चरणमा भएको पूजा कार्यक्रममा करिब २५० जना ब्रतालु महिलाहरुले सामूहिक पूजा अर्चना गरेका थिए।
दुबै शिफ्टमा मन्दिरका पूजारी गुरु दिलीप शास्त्रीले पूजा गराउनु भएको हो। मन्दिर व्यवस्थापन समितिले ब्रतालुहरुलाई पूजामा सहज बनाउन स-शुल्क पूजा सामग्री उपलब्ध गराएको थियो।
तस्बिरः दिलिप शास्त्री/ हरि न्यौपाने
प्रतिक्रिया