नर्दन भर्जिनियाको मनाससपार्कबाट टेक्सस ड्यालसको भौतिक दूरी एकहजार तीनसय ५० माइल छ । किलोमिटरमा हिसाब गर्नुपर्दा दुईहहजार एकसय ६० हुन्छ । गाडीमा ननस्टप यात्रा गर्ने हो भने २० घण्टा लाग्छ । यो भनेको नेपालको राजधानी काठमाडौंबाट अफगानिस्तानको काबुल भन्दा पनि परको दूरी हो ।
टेक्सस र भर्जिनियाको समय एक घण्टाको अन्तर छ । अर्थात टेक्ससमा दिउँसोको १२ बज्दा भर्जिनियामा दिउँसोको एक बजिसकेको हुन्छ । जहाजमा यात्रा गर्ने हो भने तीन घण्टा उँड्नु पर्छ ।
मैले यो दूरीको हिसाब गर्दा पाठकवृन्दलाई लाग्नसक्छ यो त हामीलाई थाहा भएकै विषय हो । दूरीको गणना गरेर भूगोल पढ्न लागेको हो र ? यो चाँही पक्कै होइन ।
त्यति टाढाको भर्जिनियाले केही दिन देखि टेक्ससका नेपालीका मनमा मथिङ्गल मच्चाएको छ । क्यालिफोर्नियाको नेपाली समुदायमा कम्पन ल्याएको छ । वासिङ्गटनका नेपालीले आँशु झारेका छन् । सुदूर दक्षिणको फ्लोरिडाका नेपाली समुदायमा चिन्ता जगाएको छ ।
तीन वर्ष अघि सुनौलो अमेरिकी सपना बोकेर अमेरिका आएकी ममता काफ्ले गायब भएकी छिन् । उनी अमेरिकाको पूर्बीय राज्यहरु मध्यमा पर्ने भर्जिनियामा विगत तीन वर्षदेखि लोग्नेसँग बस्दै आएकी थिइन् । चार बर्षे दाम्पत्य जीवन र तीन बर्षे अमेरिकी जीवन पुरा गर्न नभ्याउँदै उनी जुलाई ३० बाट गायब भइन् । कहाँ गइन् ? कोसँग गइन् ? किन गइन् ? यी सबै कुराहरु अन्यौलमा रहिरहेको अवस्थामा ती सबै प्रश्नहरुको जवाफ उनकै लोग्नेसँग मात्र रहेको प्रयाप्त प्रमाण फेला परेपछि नरेश दत्त भट्ट पक्राउ परेका छन् । पक्राउसँगै उनी गायव भएकै दिनदेखि जिउँदो नरहेको प्रहरीले अप्रत्यक्ष संकेत दिइसकेका छन् । उनको हत्या (?) भैसकेको र उनको शरिरलाई उनका आफ्नै लोग्नेले वेपत्ता पारेको प्रहरी अभियोग छ ।
हिन्दु धर्म संस्कारमा विवाहको यज्ञमा पण्डितले सुख पाएपनि सँगै र दुःख पाएपनि सँगै बाँच्ने बाचा, कसम ख्वाउँछन् । यही बाचा कसम खाएर बिहे गरेका थिए काभ्रे पनौतीकी ममता काफ्ले र कञ्चनपुरका नरेश दत्त भट्टले । सन् २०२० मा उनीहरुले एरेञ्ज म्यारिज गरेका थिए । कोही मार्फत कुरा चलेर फेसबुकमा केही महिना कुराकानी गरेपछि उनीहरुबीच बिबाह भएको थियो ।
तीन वर्ष अघि सन् २०२१ मा ममता अमेरिका आएकी हुन् । उनका पति नरेश भने अमेरिकी सेनाको रिजर्भ फोर्समा कार्यरत रहेर गत वर्षमात्र अवकाश लिएका थिए । भट्ट सन् २०१७ देखि सेनामा प्रवेश गरेर केही महिना अघिमात्र अवकास लिएका थिए । सेनाको लजिस्टिक स्पेसलिष्टका रूपमा कार्यरत थिए ।
गत वर्षमात्र उनीहरुबाट एक छोरी पैदा भएकी थिइन् । भर्जिनियाको युभिए प्रिन्स विलिमय मेडिकल सेन्टरमा बालबालिका (पेडियाट्रिक) नर्सका रुपमा कार्यरत ममता जुलाई ३० देखि बेपत्ता भइन् । विगत केही समयदेखि पति पत्नीबीच सुमधुर सम्बन्ध नरहेको र फेब्रुअरीमा झगडा पनि भएको सञ्चारमाध्यमहरुमा आएका छन् । त्यही झगडा पछि ममता मनाससपार्कको घर छाडेर फल्सचर्च नजिक अपार्टमेन्टमा बसेको वासिङ्गटन पोष्टले अनुसन्धानपूर्ण रिपोर्टमा उल्लेख गरेको छ ।
बिबाह गरेको चार वर्ष नपुग्दै उनीहरुको दाम्पत्य जीवनमा दरार आउनुको कारण खुल्न सकेको छैन । ममताले सम्बन्ध विच्छेद गर्ने मनसायले सामाजीक सञ्जालहरुमा लेखेको, केही साथीहरुसँग कुराकानी गरेको भन्ने तथ्य पनि यतिखेर बाहिरिएका छन् । लोग्ने शारिरीक र मानसिक यातना दिने गरेको उनले केही सहकर्मीहरुसँग शेयर गर्ने गरेको कुराहरु पनि छरपष्ट भएका छन् ।
तर नेपालमा रहेका माता पिताहरु धार्मिक प्रवृत्तिको र जस्तोसुकै कठिन परिस्थितीमा पनि लोग्नेलाई रिझाएर, खुशी बनाएर बस्नुपर्छ भन्ने पारिवारिक मान्यतामा हुर्किएकी हुँदा अलग हुन निकै गाह्रो परेको स्रोतहरुले बताएका छन् । कान्तिपुर टेलिभिजनले उनका मातापितासँग गरेको कुराकानीबाट पनि उनीहरु धार्मिक प्रवृत्तिको रहेको देखिन्छ । त्यसो हुँदा ममताले आफ्नो पीडा लुकाएर आफू खुशी रहेको माइतीलाई देखाउने गरेकी थिइन् ।
नरेशले के कारणले ममतालाई यातना, पीडा दिन सुरु गरेको भन्ने तथ्य अहिलेसम्म बाहिर आउन सकेको छैन । जे जति आएका छन् ती सबै अनुमानका भरमा, कथिएका कुराहरु मात्र छन् । नरेश कतै अर्की महिला प्रति आकर्षित भएर बिस्तारै पारिवारिक कलह सुरु भएको हो कि भन्नेहरु पनि छन् । केही व्यक्तिहरूसँग भएका अन्तरङ्ग कुराकानीका स्क्रिनशटहरू पनि सार्वजनिक भएका छन् ।
अर्कातिर केही महिना अघि नरेशका मातापिता अमेरिका आउँदा कलह सुरु भएको हो भन्नेहरु पनि छन् । तर सत्यतथ्य भने अहिलेसम्म बाहिर आउन सकेको छैन ।
अमेरिकामा कोही मानिस हरायो भने एकाध घण्टा परिवारजनले खोजी गर्छन् । संभावित जानसक्ने, हुनसक्ने ठाउँमा पुगेर खोज्छन् । आफन्त, साथीहरुलाई फोन गरेर जानकारी गराउँछन् । त्यतिगर्दा पनि भेटिएन भने तत्काल ९११ मा कल गरेर प्रहरीलाई खबर गर्ने चलन छ । तर एक वर्षकी दुधे बालिकाकी आमा ममता हराएको पाँच दिनसम्म पनि नरेशले प्रहरीलाई खबर गर्दैनन् । आफन्त, साथीहरुलाई सूचना दिँदैनन् । उनको यो व्यबहारले ममता वेपत्ता भएको कसैले जानकारी समेत नपाउनन् भन्ने नियतले प्रेरित रहेको देखिन्छ ।
अगष्ट ५ तारिकमा केही आफन्तले दवाव दिएपछि वाध्य भएर प्रहरीलाई खबर गर्छन् । तर त्यसपछि जीवनसँगिनी हराउँदा देखिनुपर्ने पीडा, चिन्ता उनमा केही देखिदैन । अनुसन्धानमा प्रहरीलाई उनी सहयोग गर्ने तर्फ चासो देखाउँदैनन् । उल्टो गाडी बेचेर रकम जोहो गर्ने तिर लाग्छन् ।
परिवारका सदस्य, त्यो पनि जीवनसंगिनी हराइरहेकी छिन् । एक वर्षे बच्चीकी आमा बेपत्ता छिन् । यो बेलामा ममतालाई खोज्नेतिर नरेशको दौडधुप हुनुपर्ने हो, सारा सरकारी र आफ्नो संयन्त्र प्रयोग गरेर पत्नीलाई सकुशल खोज्नेतिर उनी फोकस हुनुपर्ने थियो । पीडामा भएको बेलामा मानिसको ध्यान त्यो पीडालाई हटाउनेतिर पहिले ध्यान जान्छ । पीडा तनावलाई नपन्छाई अर्को तिर लाग्न एउटा स्वस्थ, स्वच्छ मान्छेको दिमाग जानै सक्दैन । तर टेस्ला गाडी बिक्री गर्नु, पत्नीलाई खोज्ने भन्दा पनि घर बिक्री गर्न रियल्टरसम्म पुग्नुले यो घटना घटाउन नरेशको हात छैन भनेर कसैले पत्याउन सक्ने आधार छैन ।
यो घटनाको कारक ममताका पति नरेश नै हुन् । किनकी लामो समयदेखि अमेरिका बस्दै आएको र लोग्ने भएको कारणले झुक्नुपर्ने ठाउँमा निहुरिएर, सम्झौता गर्नुपर्ने ठाउँमा सम्झौता गरेर, गल्ती भएको ठाउँमा माफी मागेर उनले परिवारको मियो हुनुपर्नेथियो । तर भएको परिवार भताभुङ्ग मात्र भएन ठूलो रहर बोकेर, सपना देखेर अमेरिका आएकी एक चेलीको ज्यान गएको छ, आमालाई राम्रोसँग चिन्नै नसकी एक बर्षिया छोरी टुहुरी भएकी छिन् । नेपाली बालबालिकाहरु अभिभावकको, परिवारको संरक्षण हेरचाह नपाएर चाइल्ड केयर सेन्टरमा पुग्ने घटनाहरु विरलै हुन्छन् । तर एक बर्षिया मुना त्यसमा अपवादमा परिन् । जन्म दिने आमालाई उनले भेट्न त नपाउने नै भइन्, बाउलाई समेत जीवनभरि घृणाका पात्रका रुपमा लिने अवस्था सिर्जना भएको छ ।
अमेरिकी कानुन अनुसार उनी आजन्म जेलमा सड्न सक्छन् । कतिपय यस्ता क्रुर हत्यामा संलग्नलाई त फाँसी दिएका घटना पनि अमेरिकामा छन् । जे भएपनि अब नरेश पूर्ववत सामाजीक जीवनमा फर्किने संभावना ज्यादै कम छ ।
मान्छेको हत्याका संलग्नलाई संसारका कुनै पनि देशले कडा सजायँ मात्र होइन, बर्षौ लुकेर बसेपनि फेला परेको दिनबाट जेलमा राख्छन् । लुकेर केही समय बस्न सक्लान्, तर फेला परेको दिनबाट देश, कानुन, समाज कतैबाट पनि बँच्न सक्दैनन् । अमेरिकी सेनामा आवद्ध भैसकेको नरेशले हत्या पछि यी संभावित तथ्यहरु प्रति नजरअन्दाज गरेर भाग्न सक्छु भनेर कसरी यो घटना घटाए ? रहस्य यसमा छ ।
ग्रीनकार्ड र आमाबाबुको दोष ?
यो घटना पछि अमेरिका लगायत विकसित देशमा बस्ने नेपालीसँग बिहे गरेर छोरीचेली नपठाउँ, पिआरवालाहरु सबै पीडक हुन् भन्ने धारणा बसाउने गरि सामाजीक सञ्जालमा लेखिन थालिएको छ । धार्मिक प्रवृत्तिका, गाउँमा रमाएर बसेका उनका मातापिता माथि पिआरको लोभमा छोरी वधशाला पठाएको भन्ने भाष्य निर्माण गर्न एकथरि लागेका छन् । जसले युरोप, अमेरिका, अष्ट्रेलिया आउन र छोराछोरी पठाउन लाख प्रयास गरे र असफल भए तिनीहरूनै यस्तो क्रुर आरोप, अभियोग ती निर्दोष मातापिता प्रति लगाउनेहरु छन् ।
कसैले पनि आफ्ना छोराछोरीको नराम्रो होस्, कुभलो होस् भनेर सोच्नै सक्दैन । आफन्त मार्फत कुरा चलेको, फेसबुकमा पनि ममता र नरेशबीच कुराकानी हुन थालेको र एक अर्कालाई मन पराउन थालेपछि पारिवारिक सहमतिमा परम्परागत रुपमा बिहे भएको हो । तर क्रुरता भन्ने कुरा संसारको जहिँ पनि हुन्छ । धेरै मानिसहरुमा क्रुरता हुँदैन, ज्यादै न्यून मान्छेहरुमा त्यो स्वभाव हुन्छ । त्यही थोरै मान्छेहरु मध्यमा एउटा नरेश भट्ट हुन् । यसमा नत ममताको बाबुआमाको कुनै गल्ती छ, नत ग्रीनकार्डकै कुनै दोष छ । नत अमेरिकाकै यसमा कमजोरी छ ।
म अमेरिकाको टेक्ससको ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्सको युलेस सिटीमा बस्छु । मेरो घरको झ्यालबाट संसारको तेस्रो व्यस्त विमानस्थल डिएफडब्लुबाट उँडेका र ल्याण्ड गर्न लागेका विमानहरू देखिन्छन् । औसतमा हरेक एक मिनेटमा टेकअफ र ल्याण्ड हुन्छन् । साना फुच्चे सेस्ना, एटिआर विमान होइनन्, प्रायः सबै ठूला बोइङ्ग र एअरबस बिमानहरु हुन्छन् । एअरबस ३८० देखि लिएर बोइङ्ग ७४७ जस्तो भीमकाय डबल डेकर विमान टेकअफ र ल्याण्ड गरिरहन्छन् । तर दुर्घटना भएका छैनन् । संसारमा हुने विमानहरु मध्य १० लाख उडानहरुमध्य शुन्य भन्दा पनि तल हुन्छ दुर्घटना दर । बोइङ्गले गरेको एउटा सर्वेक्षणले सन् १९५९ देखि २०२२ सम्ममा दुईहजार एकसय २३ विमान दुर्घटना भएका थिए । ती मध्य मानिसहरुको मृत्यु भएका विमान दुर्घटना ६ सय ३५ मात्र थिए ।
जसरी उँडेका जनि सबै विमान दुर्घटना हुँदैनन् । दशलाख उडानमा एउटामा कुनै समस्या देखिनसक्छ । बाँकी सबै सकुशल गन्तव्यमा पुगिराखेकै छन् । त्यस्तै विवाह गरेका सबैको सम्बन्ध विच्छेद पनि हुँदैन, पिआर, ग्रीनकार्ड वा नागरिकता लिइसकेकाहरुसँग बिहे भएर आएका सबैको यस्तो दुःखद घटना पनि हुँदैन । सबैमा यस्तो लागु पनि हुँदैन । यस्ता घटनाहरु व्यक्तिको चरित्र, सोच र अपराधिक मानसिकतामा निर्भर गर्ने कुरा हुन् ।
अमेरिका आएर पत्नीलाई सुख, सयल, सन्तुष्टी, इज्जत दिने लोग्नेहरु जहिँ तहिँ छन् । लोग्नेलाई सम्मान गर्ने, हरदम साथ दिने, दुःखमा सहयोग सही सल्लाह दिने पत्नीहरु पनि धेरै छन् । तर लाखमा गणना गर्दा पनि नआउने एकाध संख्यालाई आधार बनाएर सबै त्यस्तै गलत हुन् भन्ने सोच बनाउनु, भाष्य खडा गर्न खोज्नु चाँही दुःखद पक्ष हो ।
सामाजीक सञ्जाल हेर्दा अमेरिकामा बस्ने सबै पत्नी पीडक हुन् भनेर जवरजस्ती परिभाषा बनाउन खोजिएको देखिन्छ । ममताका परिवारलाई जानाजान छोरीलाई मार्न र मर्न पठाएको फैसला सामाजीक सञ्जालका प्रयोगकर्ताहरुले गरेको पाइएको छ । यस्तो आरोप फगत आरोपमात्र नभएर इर्स्या जलन र खुच्चिङ्ग भन्ने शैली मात्र हो ।
कामना छ-नेपाली समुदायमा ममताको घटना अन्तिम बनिदेओस् । हरेक बर्ष समुदायको मुटु कमाउने गरि हुन थालेका घटनाहरुमा अब पूर्णविराम लागोस् । हाम्रो स्मृतिमा अझै ताजा छ गत वर्ष ड्यालस टेक्ससमा भयानक दुर्घटना भएको थियो । समाजलाई परेको बेलामा हरदम अघि सर्ने कृष्ण लामिछानेको आत्महत्या एउटा भयानक घटना थियो । ६ महिना अघि नर्थ क्यारोलाइनाका अर्जुन मैनालीले कार भित्र आगो लगाएर गरेको आत्मदाह अर्को भयंकर घटना थियो ।
एक महिना अघि टेक्ससको वेकोमा लुटेराहरुले गोली हानेर रुकुमका दीपक ओलीको हत्या गरे । एक साता अघिमात्र एकजना नेपाली विद्यार्थी कौशल पोखरेलको पौडी खेल्ने क्रममा डुबेर निधन भयो ।
अमेरिकाको नेपाली समुदायभित्र हरेक साता जस्तो घटना दुर्घटनाहरु भैरहेका हुन्छन् । कुनै भवितव्य त कुनै कालगतीले घटना भएका छन् । कति लापरवाहीले भएका छन् त कति अञ्जानमा भैरहेका छन् । अहिले ममता गायव हुनु र उनको हत्याको शंका हुनु र त्यो पनि लोग्नेबाट, यो भन्दा ठूलो भयानक घटना समुदायका लागि केही हुनसक्दैन ।
अमेरिकामा कानुनको परिपालनामा सरकारी निकायले थोरै पनि लचकता अपनाउँदैनन् । चाहे लोग्नेबाट पीडित पत्नीले होस् या पत्नीबाट पीडित पतिले होस् । कसैले पनि नचाहेर सम्बन्ध कायम गरिराख्नु पर्दैन । अमेरिकी समाजमा बिवाहलाइ सहज इन्ट्रीका रूपमा लिइन्छ । त्यसैगरि सम्बन्ध विच्छेदलाइ पनि सहज एक्जिटका रूपमा स्विकार गरिन्छ । हाम्रो पूर्विय संस्कारमा बिहे पनि निकै जुराउनुपर्ने हुँदा कठिन इन्ट्री हुन्छ । सम्बन्ध विच्छेद त धेरै कठिन कार्य हो । तर ममताले जसरी पीडा बोकेर, मनमा गुम्साएर कसैले बस्नु पर्दैन । लोग्नेसँग सहजै एक्जिट लिन अर्थात पार पाउन सकिन्छ ।
कानुनको पालनामा अग्रपक्तीमा रहेको र हत्याको अभियुक्तलाई प्रशान्त महासागर मुनि पुगेर भएपनि खोज्ने देशमा छौँ हामी । तसर्थ ममताको हत्यामा संलग्नले कानुनी कारवाहीबाट उम्किने, भाग्ने, छल्ने संभावना छँदैछैन । समाजको अपेक्षा अब ममताको घटना अरु कसैमाथि नदोहोरियोस् भन्ने हो । यति लेख्दै गर्दा अब घरमा सामान्य मनमुटाव हुनासाथ सम्बन्ध विच्छेदका लागि वकिल, अदालतमा दौडिहाल्नु भन्ने पनि होइन । किनकी परिवार भनेको एउटा सहमति, सम्झौताको अलिखित करार पनि हो । परिवारमा लोग्नेले भनेको पनि शत प्रतिशत लागु हुँदैन, पत्नीले भनेको पनि सयमा सय लागु नहुनसक्छ । दुबैले सम्झौता गरेर एउटा विन्दुमा आउनैपर्छ । सहमति, सम्झौता, सम्मान भएन, धोका भयो भने त्यो परिवारमा या त ममता जस्तो हुन वाध्य हुन्छन्, यात कोही पुरुष एबिसिडी जस्तो हुने अवस्था आउनेछ ।
प्रतिक्रिया