मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सौर्य एयरको विमान दुर्घटना : १८ यात्रुको निधन, क्याप्टेन घाइते

सौर्य एयरको विमान दुर्घटना : १८ यात्रुको निधन, क्याप्टेन घाइते

प्रधानमन्त्री ओली, सभापति देउवा र अध्यक्ष प्रचण्डद्वारा शोक व्यक्त

हिमालय खबर

शेयर गर्नुहोस:

6.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ । उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो ।

विमानमा सवार १८ जनाको शव यत्रतत्र छरिएर रहेका अवस्थामा सङ्कलन गरिएको विमानस्थल सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिए । प्रहरी उपरीक्षक विकका अनुसार सो विमानका चालक दलका एक सदस्यलाई जीवितै उद्धार गरिएको छ ।

१८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ । प्राधिकरणका अनुसार अमितमान महर्जन, सागर आचार्य (सेफ्टी प्रमुख), अश्विन निरौला (सिएएमओ म्यानेजर), दिलीप वर्मा (क्यूए प्रमुख), यज्ञप्रसाद पौडेल, शुसान्त कटुवाल (को–पाइलट), सुदीपलाल जोशी, सर्वेस मरासिनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिज्जा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, मनुराज शर्मा, सन्तोष महतो, पुण्यरत्न शाही, एरिफ रेडा (विदेशी नागरिक)ले ज्यान गएका छन् । क्याप्टेन मनिषरत्न शाक्य घाइते भएका छन् ।

सौर्य एयरको जहाज मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गरेको उक्त विमान दुर्घटनामा परेको हो ।

प्राविधिक परीक्षणका लागि पोखरा जाँदै

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता जसोदा सुवेदीले पोखरामा सुविधा सम्पन्न ‘ह्याङ्गर’ भएका कारण सौर्य एयरलाइन्सको जहाज प्राविधिक परीक्षण लागि आउन लागेको जानकारी दिएकी छन् ।

काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सो एयरलाइन्सको ९ एन एएमई जहाज दुर्घटना भएको थियोे । उक्त जहाज उड्नेक्रममा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो ।

“जहाजमा कुनै खराबी आएर नभई निश्चित घन्टा उडेपछि नियमित तालिकाअनुसार गर्नुपर्ने प्राविधिक परीक्षणका लागि पोखरा आउन लागेको थियो”, उनले भनिन्, “पोखरामा रहेको सुविधासम्पन्न ह्याङ्गरमा राखेर जहाज परीक्षण गर्न एयरलायन्सका कर्मचारी र प्राविधिकहरु जहाजमा सवार रहेको जानकारी आएको छ ।”

गत वर्ष काठमाडौँबाट पोखरा आउँदै गरेको यति एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटना हुँदा ७२ जनाको ज्यान गएको थियो ।

प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

नियमित प्राविधिक परीक्षणका लागि पोखरा उड्न लाग्दा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको निधनबाट आफूलाई अत्यन्त दुःख लागेको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत् उल्लेख गरेका छन् । उनले दुर्घटनाको यस दुःखद घडीमा सवैलाई धैर्य रहन अनुरोध गरेका छन् ।

सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले नागरिक उड्डयन प्राधिकरणका अधिकारीलाई भेटेर विमान दुर्घटनाको कारण बुझ्न आफू घटनास्थलमा पुगेको जानकारी दिए । प्रधानमन्त्री ओली सौर्य एयरको विमान दुर्घटनाका बारेमा बुझ्न विमानस्थल पुगेका थिए ।

यसअघि गृहमन्त्री रमेश लेखक, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रि पाण्डे, राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडासहितको टोलीले विमानस्थल पुगी घटनाका बारेमा जानकारी लिई आवश्यक निर्देशन दिएका थिए ।

सभापति देउवाद्वारा दुःख व्यक्त

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएकोप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
सभापति देउवाका तर्फबाट कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार शोक विज्ञप्ति जारी गरी सौर्य एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका हुन् ।

सभापति देउवाले दुर्घटनामा दिवङ्गत भएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतकको आत्माको चिरशान्तिको कामनाका साथै शोकाकुल परिवारजनमा पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना व्यक्त गरेका छन् ।

राष्ट्रलाई अपूरणीय क्षति : अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परी १८ जनाको मृत्यु भएको खबरले स्तब्ध तुल्याएको बताएका छन् ।

उनले बुधबार सामाजिक सञ्जालमार्फत नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्रको तर्फबाट सम्पूर्ण मृतकहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । उनले घाइते पाइलटको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अध्यक्ष प्रचण्डले भनेका छन्, “यस दुर्घटनाबाट राष्ट्रलाई गम्भीर क्षति पुगेको छ, देशले दक्ष प्राविधिकहरु गुमाएको छ । दुर्घटनाको व्यवस्थित उद्धार, घाइतेको प्रभावकारी उपचार र घटनाको छानबिनका लागि नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै धैर्यधारणका निम्ति सम्पूर्णमा अपिल गर्दछु ।”