मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
नेपाल   

समयअनुसार नेपाली जनताको विकासको चाहना पूरा गर्न सबै एकजुट हुनुपर्छ : राष्ट्रपति

समयअनुसार नेपाली जनताको विकासको चाहना पूरा गर्न सबै एकजुट हुनुपर्छ : राष्ट्रपति


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

चितवन । राष्ट्रपति रामचन्द्र पौडेलले समयअनुसार नेपाली जनताको विकासको चाहना पूरा गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् ।

चितवनको भरतपुर महानगरपालिका-१ ठिमुरा र तनहुँको देवघाट गाउँपालिका-५ घिन्टार जोड्ने त्रिशूली नदीमा बनेको पुलको शनिबार उद्घाटन गर्दै राष्ट्रपति पौडेलले केही भएन होइन, केही भएको छ र केही हुँदैन होइन, केही हुँदैछ भन्ने आश र विश्वासको जगमा नेपाली जनताको समयअनुसारको विकासको चाहना पूरा गर्न सबै एक भएर जुट्नुपर्नेमा जोड दिए ।

Advertisement

उनले देशको समृद्धिको मुख्य आधार कृषि क्रान्ति, पर्यटनको विस्तार र ऊर्जा शक्तिको विकाससँगै सुशासनको खाँचो औँल्याए । लोकतन्त्रप्राप्तिसँगै क्रमशः भएको विकासको गति र त्यसको स्तरोन्नतिलाई यस्ता पूर्वाधारका कामले भविष्यको बृहत्तर विकासको आयामलाई बढावा दिन आशा एवं भरोसा जगाएको उनको भनाइ थियो ।

राष्ट्रपति पौडेलले माथिल्लो जिम्मेवारीमा बसेकाहरुबाट काम सम्पन्न भएको छ कि स्थानीय जनताको मेहनतबाट मात्रै काम सम्पन्न भएको छ भन्ने कुराको अब मूल्यांकन गर्नुपर्ने बेला भएको बताए । ‘सरकारले धेरै योजनामा धेरै ठाउँमा धेरै बजेट राखेको छ, तर ती योजना अलपत्र छन्, तर जहाँ स्थानीय जनताले मेहनत गरेका छन्, त्यहाँ मात्रै काम सम्पन्न भएका छन्’, उनले भने, ‘त्यसैले अब मूल्यांकन हुनुपर्छ कि माथिल्लो जिम्मेवारीमा बसेकाले काम सम्पन्न गरेका छन् कि स्थानीय जनताको मेहनतबाट मात्र काम सम्पन्न भएका छन् ।’

ठूलो त्याग, बलिदान र संघर्षबाट हामीले नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले आत्मनिर्भर नेपाली र समृद्धिसहित विकसित आधुनिक नेपाल निर्माण नै संघीय लोकतान्त्रिक गणतन्त्रको मुख्य लक्ष्य भएको बताए । ‘सफल राजनीतिक आन्दोलनको कार्यभार पूरा गरेपछि अब हाम्रो ध्यान सुशासन, विकास र समृद्धितर्फ केन्द्रित हुनुपर्छ, यसमा कहीँकतै द्विविधा हुनुहुँदैन’, उनले भने ।

उत्पादन, रोजगारी, उद्योगधन्दासहितका आर्थिक क्रियाकलाप र निर्यातमुखी अर्थतन्त्रको विकास समयको माग भएको राष्ट्रपति पौडेलको भनाइ थियो ।

मुलुककै महत्त्वपूर्ण केन्द्र मानिएको चितवन, नवलपरासी र तनहुँको संगमस्थल पवित्र तपोभूमि देवघाटमा उपस्थित भएर यस क्षेत्रका बासिन्दासँग भेटघाट गर्न पाउँदा आफूलाई खुसी लागेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यहाँसम्म आइपुग्दा गर्नुपरेका संघर्ष र अनेक अवरोध तपाईंहरूबाट छिपेको छैन भने । उनले दामोदर कुण्डबाट बगेर आएको कृष्णा (कालीगण्डकी) र गोसाइँकुण्डबाट बगेर आएको त्रिशूलीजस्ता पवित्र नदीको संगम देवघाटधाम क्षेत्रको व्यापक प्रचार गरी यसलाई राष्ट्रिय गौरवको योजनामा समेटेर यहाँको विकास गर्न आवश्यक भएको धारणा व्यक्त गरे ।

शेयर गर्नुहोस:

54
Shares