काठमाडौँ । जिल्ला अदालत काठमाडौँले नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीमाथिको आरोप पुष्टि हुने फैसला गरेको हो ।
तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन ।
त्यसका लागि फेरि पुस २५ गते सुनुवाइ हुने भएको छ । न्यायाधीश ढकालको इजलासमै हुने सुनुवाइले लामिछानेमाथिको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ ।
फैसलाको ठहर खण्डमा भने मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१), (२) र (३) ङ बमोजिमको कसुर गरेको ठहर गरेको छ । १६ महिनाअघि क्रिकेटर सन्दीप लामिछानेमाथि नाबालिकामाथि बलात्कार गरेको आरोपमा मुद्दा चलेको थियो ।
जिल्ला अदालत काठमाडौँले बलात्कारको अभियोगमा दोषी ठहर गरेका दिन शुक्रबार क्रिकेटर सन्दीप लामिछाने नेपाल प्रो च्याम्पियन क्रिकेटको कप्तानका रुपमा वीरगञ्जमा रहेका थिए ।
पर्सा क्लब ११ को कप्तानी गरिरहेका सन्दीपले क्लबलाई शुक्रबार फाइनलमा पुर्याए । तर, विडम्बना ! सन्दीपले आफ्नो टिमलाई फाइनलमा पुर्याउँदै गर्दा जिल्ला अदालत काठमाडौँले उनको मुद्दा ‘फाइनल’ मा पुर्याएको छ ।
जबरजस्ती करणीमा दोषी ठहर गरे पनि कति वर्ष जेल सजाय गर्ने भन्नेचाहिँ पुस २५ गते नै कुर्नुपर्ने हुन्छ । त्यसबेलासम्म लामिछानेलाई पक्राउ गरिने छैन । उनकै कम्तानीमा वीरगञ्जमा ‘फाइनल’ खेल हुनेछ ।
अदालतले मुलुकी अपराध संहिताको दफा, उपदफा नै उल्लेख गरेर अपराध किटान गरेको छ । कानुनका ती दफामा तोकिएको व्यवस्थाअनुसार नै अब लामिछानेमाथि सजाय हुने छ ।
काठमाडौं जिल्ला अदालतले गरेको फैसलाको ठहर खण्ड यसप्रकार छ :
…परिवर्तित नाम गौशाला–२६ को जाहेरी दरखास्त, प्रतिवादी सन्दीप लामिछानेको वयान, परिवर्तित नाम गौशाला–२६, राजन राणा, बाबुकाजी थापा मगर, सबिन श्रेष्ठ, अनिष श्रेष्ठ, समीर पुरी, सन्तोष प्रसाद अधिकारी, लालबहादुर बानियाँ, सहजाद आलम र देव खनाल समेतले गरिदिएको घटना विवरण कागज तथा निजहरुको बकपत्र लगायत मिसिल संलग्न सीसीटीभी फुटेजबाट परिवर्तिन नाम गौशाला २६ तथा प्रतिवादी सन्दीप लामिछानेले काठमाडौंबाट नगरकोट गई, पुनः काठमाडौं आई पुनः काठमाडौं इनको एउटै कोटामा बसेको देखिन्छ । सो कुरामा बादी प्रतिवादीको विवाद रहेकोसमेत देखिँदैन ।
राति एउटै कोठामा बसेको अवस्था देखिएको, सो समयमा परिवर्तित नाम गौशाला–२६ ले करणी भएको भनेको र गौशाला–२६ तथा सन्दीप लामिछानेको घटना हुँदाको दिनको क्रियाकलाप र घटनाक्रम समेतलाई विचार गर्दा प्रतिवादी तथा परिवर्तित नाम गौशाला–२६ का वीचमा करणी भएको देखियो ।
….गाविस, नुवाकोटको बसाइँ सराइ दर्ता रजिष्टर, शंकरापुर नगरपालिका काठमाडौंको बसाइँ सराइ दर्ता किताब, नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जको डेलिभरी रजिष्टर, परिवर्तित नाम गौशाला–२६ को बकपत्र, … गाउँपालिका वडा नम्बर २ को कार्यालय, नुवाकोटको मिति २०८० भदौ ५ गते तथा मिति ०७९ कात्तिक २९ गतेको पत्र तथा सो साथ संलग्न प्रमाणसमेतबाट परिवर्तित नाम गौशाला–२६ को जन्ममिति २०६१ साल असार १८ मा भएको देखिई वारदात हुँदाका बखत निजको उमेर १८ वर्ष पुगिसकेको देखियो ।
१८ वर्ष उमेर पुगेको परिवर्तित नाम गौशाला–२६ को नाजुक आर्थिक अवस्था समेतको फाइदा उठाई करणी भएको देखिँदा सहमतिको करणी भएको भन्ने नदेखिएकाले प्रतिवादी सन्दीप लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१), (२) र (३) ङ बमोजिमको कसुर गरेको ठहर्छ ।
सो संहिताको दफा २१९ (३) ‘घ’ बमोजिमको कसुर कायम गरी सजाय गरीपाउँ भन्ने अभियोग दाबी सो हदसम्म पुग्न सक्दैन । फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ को दफा ९ वमोजिम सजाय निर्धारण सुनुवाईका लागि मिति २०८० पुस २५ गते पेशी तोक्नू ।
सो मितिअगावै वादी प्रतिवादी तथा जाहेरवाला पक्षका कानून व्यवसायीबाट सजायको प्रतिवेदन तथा पीडितलाई भराउनुपर्ने क्षतिपूर्तिको रकम र सोको आधारसमेत पेश गर्न लगाउनू ।












प्रतिक्रिया