मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
ग्लोबल   
बोस्टन   
मुख्य समाचार   

पञ्चमी पूजा सम्पन्न गरिएसंगै बिदा भो नेपालीहरुको बहुआयामी महान चाड ‘हरितालिका तीज’

पञ्चमी पूजा सम्पन्न गरिएसंगै बिदा भो नेपालीहरुको बहुआयामी महान चाड ‘हरितालिका तीज’


पशुपतिनाथ बुद्ध मन्दिरमा आयोजित तीज विशेष ‘सामूहिक पूजा’ मा सहभागिता जनाउदै ब्रतालु तथा श्रध्दालु भक्तजनहरु।

हिन्दू धार्मिक विधि अनुसार पञ्चमी पूजा सम्पन्न गरिएसंगै नेपालीहरुको बहुआयामी महान चाड ‘हरितालिका तीज’ बिदा भएको छ। अमेरिकाको न्यू इंग्ल्याण्ड क्षेत्रमा रहेका आप्रवासी नेपाली नारीहरुले धार्मिक विधि अनुसार पञ्चमी पूजा गरेर यस वर्षको हरितालिका तीजलाई बिदाइ गरेका छन्।

आफ्नो धर्म, संस्कृति, संस्कार, परम्परा, रितिरिवाज, लवाइ खवाइ, बोलीचाली, चालचलन आदिलाई आत्मसात् गरेर अमेरिकाको व्यस्त दैनिकीलाई पनि उचित व्यवस्थापन गर्दै महान चाड तीज भव्यताकासाथ मनाइएको थियो।

पशुपतिनाथ बुद्ध मन्दिरमा आयोजित तीज विशेष 'सामूहिक पूजा' मा सहभागिता जनाउदै ब्रतालु तथा श्रध्दालु भक्तजनहरु।
पशुपतिनाथ बुद्ध मन्दिरमा आयोजित तीज विशेष ‘सामूहिक पूजा’ मा सहभागिता जनाउदै ब्रतालु तथा श्रध्दालु भक्तजनहरु।

तीजको अन्तिम धार्मिक कर्म गर्ने दिन पञ्चमीमा, अमेरिकाको बोस्टन सहर स्थिति पशुपतिनाथ तथा बुद्ध फाउण्डेशन अफ न्यू इंग्ल्याण्ड(प्याब्फोन-PABFONE)को आफ्नै सामुदायिक भवनमा स्थापित पशुपतिनाथ बुद्ध मन्दिरमा ‘सामूहिक पञ्चमी पूजा’को आयोजना गरिएको थियो। मन्दिर व्यवस्थापन समितिले सेप्टेम्बर १९ तारिख मंगलवारका दिन तीज विशेष सामूहिक पञ्चमी पूजाको आयोजना गरेको थियो। मन्दिर सञ्चालन भएसंगै पहिलो पटक आफ्नै सामुदायिक भवनमा तीज विशेष पूजा र पञ्चमी पूजा गर्न पाउदा श्रद्धालु भक्तजन महिलाहरुले निकै खुशी र गर्व महसुस गरेका थिए। मन्दिरमा आबद्ध पण्डितहरुले धार्मिक विधि अनुसार हरितालिका तीज विशेष सामूहिक पूजा र पञ्चमी पूजा’ गराएका थिए। ब्रतको दिन अर्थात सेप्टेम्बर १८ तारिख सोमवार तीज विशेष सामूहिक पूजा सम्पन्न गरिएको थियो।

सृजनशील महिला समूहद्वारा आयोजित ‘हरितालिका तीज-२०२३’ कार्यक्रम ।

मन्दिरका दैनिक पूजारी युवराज गजुरेलले नेतृत्व गरेको उक्त सामूहिक पूजा कार्यक्रममा, रमेश पराजुली, महेश सुवेदी, मनोहर धिताल, गोपालप्रसाद आचार्यलगायतले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। मन्दिरका दैनिक पूजारी गजुरेलले जनाए अनुसार उक्त पूजामा पाँच सयको सहभागिता रहेको थियो। पञ्चमी पूजाको धार्मिक कर्म गराउने भूमिका भने पण्डित मनोहर धितालले निर्वाह गरेका थिए। तुलनात्मक रुपमा अघिल्लो दिनको ‘सामूहिक पूजा’ भन्दा ‘पञ्चमी पूजा’मा न्यून सहभागिता रहेको थियो। धार्मिक कर्म गर्दै तीज मनाउने क्रममा मन्दिरमा उपस्थित ब्रतालु तथा श्रद्धालु भक्तजनहरुले हिन्दू धार्मिक ग्रन्थ अनुसार आफ्नो, जीवन साथीको, सन्तानको, परिवारलगायतको सुख, शान्ति, स्वास्थ्य, दिर्घायू, उत्तरोत्तर प्रगति, उन्नति, समृद्धिको कामना गर्दै आफ्नो आराध्य देवी देवताहरुको दर्शन, पूजापाठ तथा आराधना र भजन किर्तन गरेका थिए। सोही अवसरमा, सहभागीहरुले तीज विशेष गीतहरु गाउदै नाच्दै हर्षोल्लास मनाउदै आपसमा शुभकामनासमेत आदानप्रदान गरेका थिए। मन्दिरका पूजारी गजुरेलले सामूहिक पूजा कार्यक्रम निकै प्रभावकारी र उत्साहजनक रहेको प्रतिक्रिया दिएका छन्। कार्यक्रमका बारेमा संक्षिप्त प्रतिक्रिया दिदै उनले भने, ‘समग्रमा सामूहिक पूजा कार्यक्रम निकै प्रभावकारी र उत्साहजनक रह्यो। भक्तजनहरुले विधिपूर्वक खुलेर पूजापाठ गर्न पाए। यसले भक्तजनहरुसहित मन्दिरपरिवार र गुरुहरुलाई पनि निकै खुशी तुल्याएको छ।’ अमेरिकाको मासाच्युसेट्स राज्यमा रहेका आप्रवासीहरुको धार्मिक आस्था र धार्मिक कर्मतिर आकर्षण बढ्दै गएको जिकीर गर्दै पूजारी गजुरेलले भावी दिनमा यस आकर्षणलाई थप उचाइमा पुर्याउन, सामुदायिक एकता र सक्रियताको खाँचो औल्याए।

नेपाली वोमन्स ग्लोबल नेटवर्क, न्यू इंग्ल्याण्ड, बोस्टन च्याप्टरद्वारा आयोजित ‘हरितालिका तीज-२०२३’ कार्यक्रम।

अमेरिकाको न्यू इंग्ल्याण्डवासी आप्रवासी नेपालीहरुले नेपाली तिथि मिति अनुसार पर्ने हरेक चाड पर्वहरु सक्दो एकजुट भएर हर्षोल्लासका साथ मनाउदै आइरहेका छन्। यसैक्रमा, यस वर्षको हरितालिका तीज पनि मनाए। तीजको अवसर पारेर अमेरिकाको मासाच्युसेट्स राज्यमा क्रियाशील आप्रवासी नेपालीहरु आवद्ध संघ संस्थाहरुले तीज विशेष कार्यक्रमको आयोजना गरेका थिए। जस अनुसार नरउड(Norwood) स्थित सृजनशील महिला समूह(Creative Woman Group of New England)ले सेप्टेम्बर ९ तारिख सनिवार, बोस्टन स्थित नेपाली वोमन्स ग्लोबल नेटवर्क, न्यू इंग्ल्याण्ड च्याप्टर, बोस्टनले सेप्टेम्बर १० तारिख आइतवार र ग्रेटर बोस्टन नेपाली समुदाय(जिबिएनसि)ले सेप्टेम्बर १६ तारिख सनिवारका दिन तीज विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न गरेका थिए।

जिबिएनसिद्वारा आयोजित हरितालिका तीज-२०२३’ कार्यक्रम ।

तीजको मूल मर्मलाई आत्मसात् गर्दै धार्मिक, सांस्कृतिक, परम्परा, रितिरिवाज, नेपालीपन र नेपाली पहिचानको संरक्षण तथा संवर्धन गर्न सक्दो भूमिका खेल्ने र महान चाड हर्षोल्लासका साथ मनाउने मुख्य उद्देश्यका साथ आयोजित उक्त कार्यक्रमहरु निकै उत्साहजनक, सन्देशमूलक र मनोरञ्जनात्मक रहेका थिए।

तीज मनाउने क्रममा, गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाको मासाच्युसेट्स च्याप्टरले पनि सेप्टेम्बर १५ तारिख सुक्रवारका दिन विशेष कार्यक्रमको आयोजना गरेको थियो।

एनआरएनए, एनसिसि, मासाच्युसेट्सद्वारा आयोजित ‘प्रशंसा तथा सांस्कृतिक उत्सव’ कार्यक्रम।

हरितालिका तीजको अवसर पारेर आफ्ना सदस्यहरुप्रति सम्मान व्यक्त गर्ने र नेपालीहरुको महत्वपूर्ण सांस्कृतिक उत्सव ‘हरितालिका तीज’ पनि मनाउने मुख्य उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको थियो। सम्पन्न ति कार्यक्रमहरुमा सहभागिता जनाउनेहरुले आपसमा शुभकामना आदानप्रदान गरेका थिए। नेपालको झल्को दिने गरी नेपालीपन तथा पहिचान झल्काउने पहिरन र शृंगारमा सजिएका सहभागी नारीहरुले, हरितालिका तीज लक्षित गीत संगीतमा नाचगान गर्दै हर्षोल्लास मनाएका थिए। तीज विशेष सांगीतिक माहोलका बिच मनाइएका उक्त कार्यक्रमहरुमा, नेपालीपन, पहिचान र स्वादका मिष्ठान्न परिकारहरुको पनि व्यवस्था गरिएको थियो।