मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

‘बिपीले लिनुभएको परराष्ट्र नीति सन्तुलित भएकाले आज पनि उत्तिकै उपयोगी’

‘बिपीले लिनुभएको परराष्ट्र नीति सन्तुलित भएकाले आज पनि उत्तिकै उपयोगी’

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको अन्तर्राष्ट्रिय राजनीतिमा उच्च स्थान र कूटनीतिक क्षेत्रमा सन्तुलित योगदान रहेको विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले बताएका छन् ।

कांग्रेसले बिपीको ११०औँ जन्मदिनको अवसरमा आइतबारदेखि सानेपामा आयोजना गरेको ‘बिपी साहित्य सम्मेलन–२०८०’ को दोस्रो दिन ‘अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बिपी’ विषयमा छलफल भएको थियो ।

सो विषयमा मन्तव्य राख्दै पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले बिपीले लिएको परराष्ट्र नीति सन्तुलित भएकाले आज पनि उत्तिकै उपयोगी भएको बताए ।

उनले भने,“मार्क्स र गान्धीको विचारबाट प्रभावित हुनुभएका बिपीको विचारमा मार्क्सवाद र गान्धीको आर्थिक समाजवाद तथा अहिंसावादी व्यवहार झल्किन्छ । बिपीलाई २०१७ सालमा प्रधामन्त्रीबाट हटाउन देशभित्र कै सामन्तवर्ग र विदेशी शक्तिको साथ र उक्साहटमा तत्कालीन राजा महेन्द्रले भूमिका खेलेका हुन् ।”

उनले बिपी अग्रगामी, लोकतान्त्रिक र समाजवादी चरित्रको हुनुहुन्थ्यो भन्दै भारतमा आफ्नै मित्र इन्दिरा गान्धीले सङ्कटकाल लगाएको, सिक्किम भारतमा विलय भएको आदि कारणले राजासँग मेलमिलापको नीति लिएर बिपी नेपाल आउनुभएको उल्लेख गरे ।

पूर्वप्रधानमन्त्री डा भट्टराईले बिपीको राष्ट्रियताको विषयमा राजासँग मिलेर जान खोज्ने मेलमिलापको नीति सही भए पनि राजाले विश्वासघात गरेको उल्लेख गरे । उनले बीपीले अँगालेको सो नीति सफल नभए पनि सही भएको बताए । उनले नेपालमा दलहरूबीच पदका लागि बाहेक सहमति नजुट्नु दुर्भाग्य भएको बताए । पूर्वप्रधानमन्त्री डा भट्टराईलृ भने, “कोही ठूलो मान्छे बन्न खोज्छ भने उसले बल मिच्याइँ गर्छ भनेर बिपी भन्नुहुन्थ्यो ।”

अन्तर्राष्ट्रिय राजनीतिमा बिपीको योगदान अतुलनीय नेता : डा खड्का

कांग्रेसका नेता तथा पूर्वपरराष्ट्रमन्त्री डा नारायण खड्काले बिपीको व्यक्तित्व अन्तर्राष्ट्रिय क्षेत्रमा उच्च र सम्मानित भएको बताए। उनले भने, “राजा महेन्द्रले बिपीलाई अपदस्थ गरेपछि संयुक्त राष्ट्रसङ्घको महासभामा जाँदा संयुक्त राज्य अमेरिकामा ९३ जना नेबेल पुरस्कार विजेताले विरोध गरेको घटना ऐतिहासिक थियो ।”

उनले चीनका राष्ट्रपति माओत्से तुङसँगको वार्ता, चीनका प्रधानमन्त्रीसँग सगरमाथा नेपालको हो भनेर दाबी पेश गर्ने बिपीले मुस्ताङमा नेपाली नागरिक मारिँदा माफी मगाई क्षतिपूर्ति गराएको घटना कूटनीतिक क्षेत्रमा महत्त्वपूर्ण योगदान भएको उल्लेख गरे ।

कूटनीतिक क्षेत्रमा बिपीको योगदानलाई सबैले सम्मान गर्नुपर्छ : नेता ज्ञवाली

नेकपा (एमाले)का उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवलीले चीनसँग सम्बन्ध राख्दा भारत विरोधी र भारतसँग सम्बन्धलाई निरन्तरता दिँदा चीन विरोधी हुनुपर्दैन भनेर बिपीले लिएको अडान परराष्ट्र मामिलामा उल्लेखनीय भएको बताए ।

नेता ज्ञवालीले बिपीले भारत र चीनसँगको नेपालको सम्बन्ध राजनीतिक भन्दा व्यापारिक आधारमा हुनुपर्ने नीति लिनुभएको, भारतको अनुचित दबाबलाई बिपीले अस्वीकार गरेको, भारतमै रहँदा प्रजातन्त्रको पक्षमा र नेपालमा आउँदा राष्ट्रियताको पक्षमा देखिने दोधारमा हुँदा बिपीले राष्ट्रियतालाई प्राथमिकता दिएको बताए । उनले बिपीसँगको राजनीतिक लाइनमा समर्थन जनाउन नसकिए पनि कूटनीतिलाई सबै दलले र मुलुकले सम्मान गर्नुपर्ने बताए।

चीन र भारतसँग समान सम्बन्ध राख्ने क्षमता बिपीले राख्नुहुन्थ्यो : कूटनीतिज्ञ अधिकारी

कूटनीतिक क्षेत्रकी जानकार इन्द्र अधिकारीले बिपीले संयुक्त राष्ट्रसङ्घको १५औँ साधारणसभामा दिनुभएको अभिव्यक्तिले बिपीलाई विश्व जगत्मा चिनाएको बताइन् । “बिपीले ठूला शक्ति राष्ट्रले युद्ध र हतियारमा लगानी गरिरहेको भन्दै त्यसको मार साना र अविकसित देशमा परिरहेकोले धनी र ठूला राष्ट्रले विकासशील राष्ट्रलाई सहयोग गर्नुपर्छ भनेर माग गर्नुभएको थियो”, उनले भनिन्, “सो अभिव्यक्तिबाट बिपीको उचाइ एक्कासि अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभाव जमाउन सकेको थियो ।”

बिपीले प्रधानमन्त्री भएपछि चीनको भ्रमणको तयारी हुँदै गर्दा भारतीय प्रधानमन्त्री तथा मित्र जवाहरलाल नेहरूले चीनसँग वार्ता गर्ने विषयमा सुझाव दिँदा अस्वीकार गरेको उनले स्मरण गराइन् । कूटनीतिज्ञ अधिकारीले नेहरूको दबाबलाई अस्वीकार गर्दै नेपाल सार्वभौम र स्वतन्त्र देशको हैसियतमा आफ्नो कूटनीति र सम्बन्ध छिमेकीसँग राख्न सक्छ भन्ने जवाफले आफ्नो हैसियत देखाएको बताइन् ।

उनले चिनियाँ राष्ट्रपति माओत्सेतुङ र प्रधानमन्त्री चाउ एन लाईसँग वार्ता गरेर कूटनीतिक सम्बन्ध विस्तार गरेको स्मरण गर्दै चिनियाँ प्रधानमन्त्रीले गरेको सम्मानलाई आज पनि ऐतिहासिकरूपमा लिने गरिन्छ भनिन् ।

सो कार्यक्रमको सहजकर्ता सुधीर शर्माले गरेका थिएभने कार्यक्रमको संयोजन पार्टी केन्द्रीय सदस्य नानु बाँस्तोला तथा श्रीबाबु कार्की र अमृत ज्ञवालीले गरेका थिए । रासस