मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
अमेरिका समाचार   

रवि प्रकरणमा अमेरिकाका नेपाली के भन्दैछन्

रवि प्रकरणमा अमेरिकाका नेपाली के भन्दैछन्


ड्यालस (टेक्सस) । राष्ट्रिय स्वतन्त्र पार्टीका तत्कालिन अध्यक्ष तथा निवर्तमान उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकता प्रकरणमा गंभीर त्रुटी भएको फैसला सर्वोच्च अदालतले गरेपछि अमेरिकामा रहेका नेपालीहरुबीच पक्ष र विपक्षमा सामाजीक सञ्जालमा कृया-प्रतिकृयाहरू आइरहेका छन् ।

अदालतको शुक्रबारको फैसलाले लामिछानेको उपप्रधानमन्त्री, सांसद, पार्टी अध्यक्ष लगायतका सबै पदहरु गएको छ । यतिखेर उनी रित्तो हातमात्र होइन नागरिकता विहिन समेत भएका छन् ।

Advertisement
ADVERTISEMENT

यसै सेरोफेरोमा रविले नेचुरलाइज प्रकृयाबाट नागरिकता लिएको अमेरिकामा बस्ने नेपालीहरुबीच उनको पक्ष र उनको विपक्षमा अनेकन तर्कहरु गरिरहेका छन् । धेरैले रविले प्रकृया मिचेर, नेपालको कानुनलाई अवज्ञा गरेर अघि बढेकोले यो अवस्था आएको टिप्पणी गरेका छन् । कतिले चाँही नेपाल सतीले सरापेको मुलुक भएको उल्लेख गर्दै राम्रो काम गर्नेलाई विभिन्न तत्वहरुले रोक्ने गरेको गुनासो राखेका छन् ।

‘यायाबर’को नामबाट ट्विटरमा नियमित रुपमा आफ्ना धारणाहरु राख्दै आएका ड्यालसका भीम कार्की (सिपिए) ले रवि प्रकरणमा लेखेका छन् -‘रवि लामिछानेज्यू आयाराम गयाराम हुनुभएछ । अस्वभाविक उदयन, अकस्मात पटाक्षेप ।’

त्यस्तै दुई दशकदेखि भर्जिनियामा बसोबास गर्दै आइरहेका नेपाल अमेरिका पत्रकार संघ (नेजा) का संस्थापक अध्यक्ष गिरिश पोखरेलले पनि ट्विटरमा लेखका छन् -‘गैर आवासीय नेपाली अर्थात एनआरएन र अहिलेको रवि लामिछाने मुद्धामा के सम्बन्ध छ ? रवि अमेरिकाको पासपोर्ट लिएर नेपाल गए, नेपालमा गएर अमेरिकाको पासपोर्ट हुँदाहुँदै पुनः नेपालको पनि पासपोर्ट बनाए, नागरिकता पनि पुरानै चलाए । गैर कानुनी काम गरे ।’

पोखरेलले एनआरएन अमेरिकाले जारी गरेको विज्ञप्ती प्रति असहमति व्यक्त गर्दै सबैले कानुनको पालना गर्नुपर्ने संकेत गरेका छन् ।

नेपालमा लामो समय आर्थिक पत्रकारिता गरेका र हाल न्यू ह्याम्पसायरमा बस्दै आएका प्रभात भट्टराईले फैसला प्रति खुशी व्यक्त गरेका छन् । उनी लेख्छन्- ‘आफैले आफूलाई भगवान दावी गर्ने हाम्रो रवि कानुनभन्दा माथि छैनन् । धन्यवाद सर्वोच्च । ‘

एनआरएन अमेरिकाका पूर्ब उपाध्यक्ष रामकुमार सुवेदीले चितवनको गत निर्वाचनमा दोस्रो हुनेलाई निर्वाचित घोषणा गर्नुपर्ने तर्क फेसबुकमा राखेका छन् । उनले ‘यसो गर्नुलाई ऐन, नियम र विश्वव्यापी प्रचलन’ हुने दावी समेत गरेका छन् । चितवन क्षेत्र नम्बर २ मा कांग्रेसका उमेश श्रेष्ठ दोस्रो भएका थिए । सुवेदीले श्रेष्ठप्रति सामाजीक सञ्जालमा आफ्नो आशक्ति झल्काएका छन् ।

भर्जिनिया निवासी निदेश अधिकारीले भने ‘छिटो ५२० डलर तिरेर एनआरएन कार्ड बनाउनुस् । नत्र नेपालमा तपाईले गरेको लगानी खेर जाला’ लेखेर सचेत गराएका छन् । नेपाल सरकारले प्रदान गर्ने एनआरएन कार्ड वाहकले राजनीतिक बाहेकका सबै अधिकार प्रयोग गर्न पाउँछन् । त्यसको लागि ५२० डलर सरकारलाई तिर्नुपर्छ ।

प्रवासी मञ्च अन्तराष्ट्रिय समितिका अध्यक्ष सञ्जय थापाले रविले नेपालको कानुन मिच्न खोजेकै हुन् भनेर ठोकुवा गरेका छन् । थापाले ‘रवि जत्तिको मान्छेले नागरिकता लिने र छोड्ने प्रकृया नबुझेका होइनन होला भन्न्दै कानुन मिचेको’ कुरा फेसबुकमा लेखेका हुन् ।

अष्टिन निवासी देवराज न्यौपानेले फैसला उपर आपत्ति जनाउँदै ‘सतीले सरापेको देश । आत्मदाह हैन संघर्ष गरौं’ भनेर आव्हान गरेका छन् । न्यौपाने नेपाल कमर्स क्याम्पस मिनभवनका स्ववियूका पूर्ब सभापति पनि हुन् ।

क्यानडामा कृयाशील नेपालीमुलका पत्रकार वेनुप भट्टराईले रवि लामिछानेलाई सञ्चारकर्ममै फर्कन भन्दै नेपालटच अनलाईनमा लामो आलेख लेखेका छन् ।

न्यूयोर्क निवासी विश्व शाहले ‘सुजाता जोष्ट राजनीतिमा आउन नागरिकता त्याग्न नपर्ने’ उल्लेख गर्दै फेसबुकमा लामो टिप्पणी लेखेका छन् । उनले कानुन सबैलाई बराबर लागु हुनुपर्ने एउटालाई मात्र बलीको बोका बनाउने भन्दै आक्रोश जनाएका छन् ।

न्यूयोर्कमै कृयाशील सञ्चारकर्मी सुनिता शर्मा कोइरालाले सल्लाहयुक्त फेसबुक स्टाटस लेख्दै ‘बिदेशमा बस्ने नेपालीहरु एकै चोटी चट्टै छाडेर नेपाल नजानु । नागरिक हुने प्रकृया पुर्याएर मात्र जानुहोस् ।’

मेरिल्याण्डका निवासी रमेश भट्ट नेपाली छोरोले फेसबुकमा लेखका छन् -‘म नेपाली, हामी नेपाली भन्ने नाराका साथ नेपाली दूतावास अगाडी विरोध प्रदर्शन गरेर नेपाल सरकारलाई दवावमुलक सन्देश दिने कि ? नेपाली हुन पाउनु आफ्नो जन्म सिद्ध अधिकारका लागि आवाज उठाउने कि ?’

भर्जिनिया निवासी पत्रकार गुणराज लुईटेलले-‘सर्वोच्चको फैसलापछि एनआरएनहरुले आफ्नो सम्पत्ति विदेशतिरै लैजान थाल्नेछन् । ब्रेनड्रेनमात्र होइन वेल्थड्रेन पनि तीब्र हुने आशंका’ भन्दै फेसबुकमा स्टाटस लेखेका छन् ।

रवि अमेरिकामा रहँदा न्यूयोर्क, न्यूजर्सी, मेरिल्याण्ड लगागतका राज्यहरुमा बसेका थिए । झण्डै डेढ दशक अमेरिका बसेका उनले २०७० सालमा नेचुराइज प्रकृयाबाट अमेरिकाको नागरिकता लिएका थिए । नागरिकता लिएको चार वर्षपछि उनी नेपाल फर्किएर टिभीमा कार्यक्रम चलाउन थाले । त्यसपछि पटक पटक विवादमा तानिइरहे ।

अमेरिकामा रहेका नेपालीहरु जो रविलाई राम्रोसँग चिन्छन् र जान्दछन्, उनीहरु रविप्रति सकारात्मक देखिदैनन् । अमेरिकामा उनलाई नभोगेका, प्रत्यक्ष नदेखेकाले भने उनीप्रति ठूलो आशा र भरोसा राखेको देखिन्छ ।

शुक्रबारको सर्वोच्चको फैसलाले अमेरिकाको नागरिकता छाडेर नेपालको सार्वजनिक पदमा जान खोज्ने हो भने पुनः नागरिकताको प्रकृयामा जानुपर्ने अनिवार्यता गरेको छ ।

शेयर गर्नुहोस:

5.3k
Shares