काठमाडौँ । प्रत्येक वर्ष पुस १७ गते अर्थात् जनवरी १ तारिखका दिन मनाइने राष्ट्रिय पोशाक तथा टोपी दिवस आज देशभर जागरणमूलक कार्यक्रमसहित मनाइएको छ ।
दिवस मनाउने क्रममा मुख्य सहरमा राष्ट्रिय पोशाक तथा टोपी लगाएर प्रदर्शन गरिएको थियो । विसं २०७० पुस १७ गते काभ्रेपलाञ्चोकको बनेपामा केही युवाको सक्रियतामा सुरु भएको अभियानले अहिले देशव्यापी स्वरूप ग्रहण गरेको छ । यो दिवस पछिल्लो समय राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालको नेतृत्वमा मनाउन थालिएको छ ।
दिवसका अवसरमा पुरुषले दौरा, सुरुवाल र महिलाले गुन्यु, चोली लगाएर प्रदर्शन गरेका थिए । दिवसका कार्यक्रममा पछिल्ला वर्षहरूमा सहभागिता बढ्न थालेको प्रतिष्ठानका अध्यक्ष राजानन्द बजगाइँ माण्डव्यले बताए ।
पोशाकसँगै देशका सबै मौलिक संस्कृतिको संरक्षण गरिनुपर्ने अभियानमा लागेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले हाल करिब ४० जिल्लामा शाखा विस्तार गरेको जनाएको छ । वेषभूषा, भाषाशैली एवं संस्कृति सबै नेपाली मौलिक हुनुपर्ने लक्ष्यका साथ यो अभियान चलाइएको प्रतिष्ठानले जनाएको छ । यो दशौँ पोशाक तथा टोपी दिवस हो । यसअघिका दिवसलाई राष्ट्रिय भनिएको थियो । यस वर्षदेखि भने विश्वभर फैलिएका सबै नेपालीलाई समेट्दै अन्तर्राष्ट्रिय नामाकरण गरेको जनाइएको छ ।
प्रतिष्ठानका महासचिव श्याम बजगाईं दिवस मनाउन थालेपछि फरक राजनीतिक सोच भएका मानिसलाई पनि एकै सूत्रमा गाँस्न सकिएको अनुभव सुनाउनुहुन्छ । ‘संस्कृतिले जोड्छ, राजनीतिले तोड्छ’ भन्ने उखान दिवस मनाउने क्रममा वास्तविक रहेछ भन्ने अनुभूति भएको उनले सुनाए ।
पश्चिमा संस्कृतिले गाँज्दै गएपछि जनवरी १ तारिखकै दिन यो दिवस मनाउन थालिएको प्रतिष्ठानले जनाएको छ । राष्ट्रवादको नारा लगाउनेले नै नेपाली संस्कृतिलाई पन्छाउने गरेकाले पनि जागरणका लागि यो दिवसले योगदान गर्ने विश्वास लिइएको प्रतिष्ठानको भनाइ छ । रासस






प्रतिक्रिया