ड्यालस (टेक्सस) । ड्यालसको पशुपतिनाथ तथा बुद्ध मन्दिरका सबै पदाधिकारीहरु निर्विरोध रुपमा चयन भएका छन् ।
गत आइतबार मनोनयनपत्र दर्ता हुँदा केही पदमा चुनाव हुने संभावना भएपनि उम्मेदवारहरुले मनोनयनपत्र फिर्ता लिएपछि निर्विरोध रुपमा पदाधिकारीहरु चयन भएका हुन् । सबैभन्दा चासोको रुपमा लिइएको मन्दिर बोर्ड अफ ट्रष्टीको अध्यक्षमा दुई जनाले उम्मेदवारी दिएकोमा डा. प्रेम अधिकारीले फिर्ता लिएका छन् । डा. अधिकारीले अध्यक्षको दावी फिर्ता लिएपछि रमेश पोखरेल निर्विरोध रुपमा ट्रष्टीको अध्यक्ष भएका छन् ।
डा. अधिकारीले सहमतिका लागि जुनसुकै पदमा रहेर पनि काम गर्न तयार भएको बताएपछि उपाध्यक्ष बनाइएको छ । त्यस्तै अर्का उपाध्यक्षमा भुवन आचार्य यसअघिनै निर्विरोध भैसकेका छन् । सचिवमा रबिन खनाल निर्विरोध भएका छन् ।
उता मन्दिरको दैनिक कार्य सञ्चालन गर्ने कार्यसमितिका पनि सबै पदमा निर्विरोध भएका छन् ।
अध्यक्षमा सीता सापकोटा, उपाध्यक्षद्वयमा छबीमणि चौलागाई र शैलेन्द्र मानन्धर, महासचिवमा भेषराज शिवाकोटी, सचिवमा दिनेश ज्ञवाली, कोषाध्यक्षमा आमोद श्रेष्ठ र सहायक सचिवमा राम गमाल निर्विरोध भएका छन् ।
सदस्यहरुमा अच्युत थापा, गगनकुमार धामी, डा. लक्ष्मी पौडेल, माला महत र मुनेष कँडेल चयन भएका छन् ।
नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र टेक्ससले नेपाल बाहिरको संभवत सबैभन्दा ठूलो पशुपतिनाथ मन्दिर तथा बुद्ध स्तुपाको निर्माण अघि बढाएको छ । टेक्ससको ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्समा पर्ने युलेस सिटीमा करिब ६० लाख डलरको सुरु भैसकेको यो परियोजना अघि बढाएर सम्पन्न गर्ने दायित्व नयाँ समितिको काँधमा आएको छ ।
चुनावी प्रकृयाबाट चयनमा गएको भए मन्दिरमा अवरोध आउने चिन्ता नेपाली समुदायका अगुवाहरुमा थियो । विशेषगरि डा. प्रेम अधिकारी लचिलो भएर सहमतिका लागि ट्रष्टीको अध्यक्ष छाडेर उपाध्यक्षमा रहेर भएपनि मन्दिर निर्माणको कार्यमा योगदान दिन तयार भएपछि अन्य पदमा सहमतिको वातावरण सिर्जना भएको हो ।
डा. अधिकारी यसअघि टेक्ससको सबैभन्दा ठूलो नेपाली संस्था नेपाली समाज टेक्ससको दुई कार्यकाल अध्यक्ष भैसकेका व्यक्ति हुन् । अध्यक्षमा निर्विरोध भएका रमेश पोखरेल यस अघि मन्दिर कार्यसमितिको अध्यक्ष भएर काम गरिसकेका व्यक्ति हुन् । नेपाली समुदायमा दुबै जना निकै उच्च छबी र सच्चा समाजसेवीका रुपमा चिनिन्छन् ।












प्रतिक्रिया