मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

काठमाडौँ महानगरले बस्ती हटाउन खोजेपछि सुकुमबासीको विरोध

काठमाडौँ महानगरले बस्ती हटाउन खोजेपछि सुकुमबासीको विरोध


काठमाडौँ । काठमाडौँ महानगरले थापाथलीस्थित बागमती किनारको सुकुमबासी बस्ती हटाउन खोजेको भन्दै सो क्षेत्रमा बसोवास गर्ने नागरिकले विरोध गरेका छन् । बस्ती हटाउनका लागि सोमबार दिउँसो काठमाडौँ महानगरको नगर प्रहरी र डोजर पुगेको थियो । महानगर प्रहरी र सुकुम्वासीबीच मुठभेड हुँदा साढे चार घन्टासम्म थापाथली परिसर अशान्त बन्न पुगेको थियो ।  
 
बस्ती हटाउने सूचना पाएपछि सुकुमबासी बासिन्दा विरोधमा उत्रिएका थिए । उनीहरूले महानगर प्रमुख बालेन साहविरुद्ध नारा लगाएका थिए । बस्ती परिसरका सडकमा टाएर बाल्दै उनीहरू ढुङ्गामुढामा उत्रिएका थिए । 
 
“यसरी जबरजस्ती उठिबास लगाउन खोज्ने ? हामी सधैँ डोजर आतङ्कमा बस्न चाहदैनौँ । हाम्रो रहर हैन । विकल्पसहित महानगर आउँछ भने हामी छोड्न तयार छौँ”, लामो समयदेखि यही बस्दै आएकी स्मिता आचार्यले भनिन्, “मेयर साहसँग हामीले पटकपटक वार्ता गर्न चाहेका थियौँ । तर उहाँले समय दिनुभएन । आज यसरी जबरजस्ती सुरक्षा बल प्रयोग भयो ।” 
 
केही बासिन्दाहरु विरोधमा उत्रिरहँदा केही भने घरबाट सामान निकाल्न व्यस्त थिए । यही बस्तीमा १७ वर्षदेखि बस्दै आएका ६५ वर्षीय रत्नबहादुर श्रेष्ठ घरभित्रका सामान बाहिर ओसार्न व्यस्त थिए । “म काममा थिए । यहाँ डोजर आएको थाहा पाउनेवित्तिकै घर आएँ । सामान त निकाल्न प¥यो नि, स्कुले नातिलाई पनि बस्ती हटाउनका लागि छिटो बिदा दिएछन् ।”
 
पुरानो ठेगाना सर्लाही भए पनि त्यहाँ आफ्नो जग्गा जमिन नभएको बताउने उनले भोट माग्न आउने नेता र स्थानीय नेताको प्रतिज्ञाले निराश मात्र बनाएको आक्रोश पोखे । 
 
काठमाडौँ महानगरपालिकाका प्रवक्ता नविन मानान्धरले एकीकृत बागमती सभ्यता विकास समितिलाई सहयोग गरेको बताउँदै भने, “बागमती सफा र स्वच्छ राख्ने अभियानका लागि सुकुमबासी बस्ती हटाउने भनेपछि महानगरले सहयोग गरिरहेको छ ।”
 
उनले समितिले ४ गते मङ्सिरसम्मको अवधि दिए पनि बासिन्दाले अटेर गरेको बताए, “उहाँहरूलाई बस्ती हटाउन १० दिनसम्म म्याद दिएका थियौँ । अटेर गरेपछि आज गएका हौँ । यद्यपि आज बस्ती हटाउन सक्ने अवस्था छैन ।” 
 
यस सुकुमबासी बस्तीमा एक सय ३६ घर रहेको छ । केहीबेर बासिन्दा र नगर प्रहरीबीच सामान्य मुठभेड भएको थियो । बस्ती तनावग्रस्त बनेपछि नगर प्रहरी, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी खटाइएको थियो । रासस