अमेरिका – अमेरिकाको केन्द्रिय बैंक फेडरल रिजर्भले वुधवार ब्याजदर एकै पटक उच्च शुन्य दशमलव ७५ प्रतिशतले वढाएको छ । अमेरिका उपभोक्ताले झेल्नु परेको उच्च मुल्य बृद्धिलाई रोक्न फेडले सन् १९९४ यता पहिलो पटक यति धेरै प्रतिशतले व्याजदर वृद्धि गरेको हो ।
ब्याज बृद्धिले अमेरिकामा वस्ने नेपाली समुदायलाई कस्तो असर गर्छ ? अमेरिकामा लगानी गर्दै आएका ओजेस उप्रेती भन्छन् पहिलो असर घर किन्नेलाई पर्छ, घरका लागि ऋण लिदां महंगो पर्छ, ऋणको किस्ता मोर्गेज वढी तिर्नु पर्ने हुन्छ ।
असर यति मात्र होइन क्रेडिट कार्ड चलाउंदा व्याज महंगो हुन्छ, कार वा सवै प्रकारको ऋणको मार्गेज बढ्छ ओजेसले भने यदी बजारमा उपभोग्य वस्तुको मूल्य पनि घटेन भने अर्थतन्त्रमा संकट थपिन्छ ।
घर कार वा क्रेडिट कार्ड लिनेलाई मात्र होइन ऋण लिएर सानो तिनो व्यवसाय गर्नेलाई पनि ब्याजभार थपिन्छ, ओजेस भन्छन् ।
नेपाली समुदायले अमेरिकामा स्टोर, रेष्टुरेण्ट लगायत थुप्रै साना व्यवसायमा लगानी छ । ब्याजदर महंगो हुदां ग्यांस स्टेशन लगायत साना व्यवसायवाट फाइदा लिन अव पहिले भन्दा केही कठिन हुन सक्छ, ओजेसले भने ।
अमेरिकी उपभोक्ता उच्च मूल्य बृद्धिको मारमा परेका छन् । मूल्य बृद्धिदर ८ दशमलव ६ प्रतिशत छ । विशेष गरी ग्यांस लगायत उपभोग्य वस्तुको मूल्य उच्च दरले वढेको छ । ग्यांसको मूल्य अहिले औषतमा प्रति ग्यालेन ५ अमेरिकी डलर भन्दा वढी छ ।
व्याजदर वढे लगत्तै क्रेडिट कार्डमा लाग्ने ऋणको व्याज पनि बढ्छ । यस अवस्थामा सकेसम्म क्रेडिट कार्डमा ऋण कम राख्नुनै बेश हुन्छ ।
फेडले आवश्यकता परे व्याजदर अरु वढाउने संकेत पनि दिएको छ । फेडको ब्याजदर बृद्धिले शेयर बजारमा भने केही उछाल आएको छ । मुख्य शेयर सुचकांक डो जोन्समा केही उछाल आएको छ । यो बर्षको शुरुआत देखिनै अमेरिकाको शेयर बजारमा गिरावट आएको थियो ।
अहिलेको उच्च व्याजदर बृद्धिलाई फेडको आक्रमक चालको रुपमा विश्लेषण गरिएको छ ।
अमेरिका विश्वकै सवैभन्दा ठुलो अर्थतन्त्र भएकाले फेडको यो निर्णयले विश्वभर अर्थतन्त्रमा प्रभाव पार्ने छ ।
नेपालमा प्रभाव, डलर महंगो
फेडको व्याजदर बृद्धिले गर्दा अमेरिकी डलर विश्वका अन्य मुद्राका तुलनामा थप मजबुत भएको छ । यसको अर्थ अव एक अमेरिकी डलर किन्न पहिले भन्दा वढी नेपाली रुपैंया तिर्नु पर्ने छ ।
अहिले प्रति डलर करिव १ सय २५ रुपैंया छ । डलर थप मजबुत हुनु भनेको यो दर भाउ बढ्नु हो । प्रति डलर अव १३० रुपैंयासम्म पुग्छ होला ओजेश भन्छन् ।
डलर मजबुत हुदां प्रत्यक्ष असर भारतको अर्थतन्त्रमा पर्छ । भारतिय रुपैंया र नेपाली रुपैंया विच स्थिर १ सय भारु बरावर १६० नेरुको विनिमय दर भएकाले डलर मजबुत हुदांको असर नेपालमा पनि छिटो पर्छ ।
डलर मजबुत हुदां नेपालमा पनि विदेशवाट आउने समान महंगो पर्छन । नेपालमा उपभोग हुने समानमा आयातको अंश उच्च रहेकाले मूल्य बृद्धिको भार उपभोक्तालाई थपिने छ । लत्ताकपडा, जुक्ता देखि मोवाइल फोनसम्मको मूल्य बढ्ने छ ।
नेपालले तिर्नु पर्ने वैदेशिक ऋणको सांवा ब्याजका लागि पनि थप रुपैंया जर्गेना गर्नु पर्ने हुन्छ ।
यसको एउटा फाइदा भने हुन्छ । नेपाल राष्ट्र बैंकको नाफा भने वढ्छ । अमेरिकाको फेड जस्तै नेपालको केन्द्रिय बैंक हो । राष्ट्र बैंक नाफा कमाउने संस्था नभए पनि नेपालमा जम्मा भएको डलर अमेरिकामा राखेको हुन्छ । यसमा ब्याज आउंछ । यही नाफा हो । फेडले ब्याज बृद्धि गर्दा राष्ट्र बैंकले राखेको डलरवाट पाउने व्याज पनि वढ्छ ।
प्रतिक्रिया