न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा रहेको नेपाली महावाणिज्य दूतावासले अमेरिकामा रहेका नेपाली मूलका नागरिकलाई नेपाल सरकारले प्रदान गर्ने गैरआवासीय नेपाली परिचयपत्र लिन आग्रह गरेको छ ।
नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आइतबार न्यूयोर्कको ज्याक्सन हाईट्समा आयोजना गरेको वृहत् सामुदायिक अन्तरक्रिया कार्यक्रममा कार्यवाहक महावाणिज्य दूत विष्णुप्रसाद गौतमले यस्तो आग्रह गरेका हुन् । सहभागीहरुले उठाएको प्रश्नको जवाफ दिँदै महावाणिज्य दूत गौतमले अमेरिकी राहदानी लिइसकेका नेपाली मूलका हरेक नागरिकलाई नेपाल सरकारले उपलब्ध गराउने एनआरएन परिचयपत्र लिन सुझाव दिए ।
१० वर्षको समयावधि हुने उक्त एनआरएन परिचयपत्रले धेरै फाइदा हुनेसमेत उनले दाबी गरे । नेपालमा सम्पत्ति लिन, संरक्षण गर्न वा त्यस्तै खालको हरेक कारोबार गर्न एनआरएन परिचयपत्र अनिवार्य भएको बताउँदै यस विषयमा अमेरिकामा रहेका नेपाली मूलका नागरिकहरु सुसुचित हुन आग्रह पनि गरे । उनले एनआरएनएले जारी गर्ने परिचय पत्र र नेपाल सरकारले जारी गर्ने परिचयपत्र नितान्त फरक भएको भन्दै त्यसका विषयमा सामाजिक अगुवाहरुले सबैलाई प्रष्ट पार्न आग्रहसमेत गरे ।
कार्यक्रममा महावाणिज्य दूत गौतमले अमेरिकामा नेपाली उत्पादन प्रवद्र्धन गर्नु हामी सबैको कर्तव्य भएको भन्दै यहाँ रहेका नेपाली एवं नेपाली मूलका नागरिकलाई नेपाली बस्तुको उपभोग गर्न आग्रह गरे ।
न्यूयोर्कमा रहेका अधिकांश संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको उक्त कार्यक्रममा महावाणिज्य दूत गौतमले दुतावासले दिने सेवाका बारेमा जानकारी गराएका थिए । उनले दुतावासले ई पासपोर्ट, एनआरएन कार्ड, मञ्जुरी नामा (पावर अफ अटोर्नी), भिजा सुविधा, जन्म, विवाह र मृत्यु दर्ता सिफारिस जस्ता सेवाहरु उपलब्ध गराइरहेको जानकारी दिए । त्यस्तै उहाँले महावाणिज्य दुतावासले नगद वा ई भुक्तानी लिन नसक्नुको कारण बारे पनि प्रष्ट पारे ।
महावाणिज्य दुत गौतमको जानकारी पछि सहभागीहरुले दूतावासले प्रदान गर्ने सेवाका विषयमा जिज्ञासा राखेका थिए । उनीहरुले एनआरएन कार्ड, राहदानी तथा विविध सिफारिसका विषयमा केन्द्रित रहेर प्रश्न गरेका थिए ।
कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिंदै गौतमले ई पासपोर्ट अनिवार्य नगरिएको र यदि एमआरपी पासपोर्टको म्याद एक वर्ष बाँकी छ भने तत्काल नवीकरण गर्न सुझाव पनि दिए । उनले नेपालबाट राहदानी नविकरण गर्दा राष्ट्यि परिचय पत्र अनिवार्य भए पनि अमेरिकाबाट नवीकरण गर्दा ऐक्षिक बनाइएको जानकारी दिए। उनले तत्कालका लागि दुतावासले २ वर्षको अस्थायी राहदानी जारी गर्ने सम्बन्धमा पनि प्रष्ट्याएका थिए ।
कार्यक्रममा वाणिज्य दूत गणेशप्रसाद अधिकारीले सहभागीहरुको प्रश्नको जवाफ दिँदै महावाणिज्य दुतावास छिटो र छरितो ढंगबाट सेवा दिन सधैँ तत्पर रहेको बताए । उनले महावाणिज्य दुतावास सधै नेपाली समुदायसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको भन्दै कुनै पनि गुनासोलाई सम्बोधन गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।
दूतावासको कार्यक्षेत्र न्यूयोर्क, कनेक्टीकट र न्यूजर्सी भए पनि विवेकको आधारमा अन्य क्षेत्रमा बस्ने नेपाली एवं नेपाली मूलका नागरिकहरुलाई सेवा दिइरहेको भन्दै अधिकारीले समस्यामा रहेका नेपालीहरुको सेवामा महावाणिज्य दूतावास सधैँ तत्पर रहेको जानकारी दिए ।
नेजाकी उपाध्यक्ष मच्छेदेवी गुरुङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेजा कार्यसमिति सदस्य लोकमणि राईले स्वागत गरेका थिए । त्यस्तै अर्का सदस्य अनिल अधिकारीले सहभागीले उठाएका प्रश्नहरुको समन्वय गरेका थिए भने सचिव कल्पना घिमिरेले धन्यवाद ज्ञापन गरेका थिए । अन्तरक्रिया कार्यक्रम नेजाका क्षेत्रीय संयोजक गोकुल श्रेष्ठको समन्वय एवं सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया