मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

वैशाख पूर्णिमा र यसको शास्त्रोत्तर महिमा

वैशाख पूर्णिमा र यसको शास्त्रोत्तर महिमा


हिन्दु धर्म र पूर्वीय दर्शनअनुसार एक सम्बतसरमा १२ वटा पूर्णिमा पर्दछन्, जसमध्ये वैशाख पूर्णिमा पनि एक हो । हिन्दु धर्मशास्त्रमा यस पूर्णिमालाई सर्वोत्तम, पावन एवं अति गरिमामय पौराणिक गाथा बोकेको श्रेष्ठ पूर्णिमाको रुपमा लिइएको छ । हिन्दु पञ्चाङ्गअनुसार यो पूर्णिमा हरेक वर्षको वैशाखमास शुक्लपक्षको पन्ध्रौँ तिथिका दिन पर्दछ । वि.सं २०७९ साल जेठ २ गते (मे महिनाको १५ तारिख) का दिन रहेको जनाइएको छ । चैत्रशुक्ल पूर्णिमाका दिनदेखि पवित्र वैशाखमास स्नान सुरू भएर आजको यसै वैशाख पूर्णिमाका दिनमा अन्त्य हुन्छ । यस दिन हिन्दु धर्मावलम्बीहरु बिहान सबेरै उठेर विभिन्न जलाशयहरुमा गई प्रातः स्नान, जप–ध्यान आदिजस्ता नित्य कर्महरुबाट निवृत्त भएर विभिन्न धार्मिक स्थलहरु, मठ–मन्दिर, देवालयहरुको दर्शन गरी ब्रह्मा, विष्णु, महेश, महाकाली, महालक्ष्मी, महासरस्वती आदिजस्ता आ–आफ्ना आराघ्यदेव–देवीहरुको नाममा व्रत, उपासना, पूजा–पाठादि कर्महरु गरेर भजन–कीर्तन, नाच–गान, मेला–महोत्सव आदि गरी दिन बिताउँछन् । यस दिन नेपालका काठमाडौँ, लुम्बिनी, गोसाइकुण्ड तथा भारतका विभिन्न धार्मिक पीठहरु, भुटान, बंगलादेश, पाकिस्तान साथ–साथै विश्वका अन्य विभिन्न हिन्दु एवं बौद्ध मुलुकहरुमा ठूलो मेला लाग्छ । नेपालीहरु बसोबास गरेका संसारका सबै देशहरुमा यस वैशाख पूर्णिमालाई आ–आफ्नो शैली र परम्पराअनुसार भव्य र बडो हर्षोल्लासका साथ मनाउने गरिन्छ ।
 
आजभन्दा करिब २७६७ वर्ष पहिले (इशापूर्व ५४३ वर्ष) आजको यसै दिन विष्णु भगवान्ले आफ्नो नवौँ अवतारको रुपमा बुद्ध अवतार धारण गरेका थिए । शान्ति, सत्यता, अहिंसा र  सरलताका प्रतीक भगवान् बुद्धको जन्म यही वैशाख पूर्णिमाका दिन भएको हुनाले यस दिनलाई विशेषगरी बौद्ध धर्मावलम्बीहरुले आ–आफ्नो परम्पराअनुसार विभिन्न कार्यक्रमहरुको आयोजना गरी बौद्ध जयन्तीको रुपमा मनाउने पनि गर्दछन् । आफू एक राजकुलमा जन्मेको भए तापनि उनका अन्तहृदयमा मानव जीवनमा आइपर्ने पीडा र दुःख निवारण गर्ने ज्ञानको खोजीमा २९ वर्षको कलकलाउँदो उमेरमा वास्तविक नाम सिद्धार्थ गौतम भएका बुद्ध  राजदरवार बाहिर निस्केर कैयौँ वर्षसम्म एक वृक्षमुनी बसी कठोर तपस्या गरेर उनले बुद्धŒव प्राप्त गरेका थिए । बुद्ध यस धरतीमा जन्मेको दिन, ज्ञान प्राप्त गरेको  दिन र समाधी (मृत्यु) भएको दिन गरी यी ३ वटै घटना भएको दिन यही वैशाखशुक्ल पूर्णिमाको दिन थियो, जुन दिनको महŒव ठूलो छ । बुद्धलाई विश्वमै शान्ति र अहिंसाका अग्रदूत मानिन्छ । आजको विश्वमा झण्डै ५० करोडभन्दा बढी मानिसले गौतम बुद्धले प्रतिपादित गरेको बुद्धधर्म मान्दछन् । विश्वका विभिन्न धर्महरुमध्ये बुद्धधर्मलाई चौथो ठूलो स्थान दिइएको छ । आजको यस दिनमा बुद्धं शरणं गच्छामि, धम्मं शरणं गच्छामि आदिजस्ता संस्कृतका देववाणीहरु गुञ्जायमान गरेर संसारभर बुद्ध भगवान्को भावपूर्ण सम्झना र श्रद्धा–सुमन गर्ने गरिन्छ ।   
 
मार्गशुक्ल पूर्णिमालाई उधौली पर्व र वैशाखशुक्ल पूर्णिमालाई उभौली पर्वको रुपमा मनाइने गर्दछ । नेपालको मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, जुम्ला, मुगु आदिजस्ता उच्च हिमाली भेकका वासिन्दाहरु जाडो छल्नका निम्ति आ–आफ्ना थानी–मानी र देवी–देवताको पूजा–आजा गरेर मार्गशुक्ल पूर्णिमा पर्व मनाएर तल न्यानो ठाउँहरुमा झर्दछन् भने यसरी तल झरेका वासिन्दाहरु गर्मी याम सुरू भएपछि वैशाखशुक्ल पूर्णिमा पर्व मनाएर आ–आफ्नो बस्तीमा माथि उक्लने क्रम सुरू हुन्छ । कतिपय वासिन्दाले यस दिन परम्परादेखि मानिँदै आएका आ–आफ्ना देवी–देवता र थानी–मानीको मान–मर्दन गर्नुको साथ–साथै कुलपूजा पनि गर्ने चलन छ । पवित्र वैशाखमास स्नानको अन्तिम दिन भएको हुनाले यस दिन गरिएको थोरै राम्रो काम किन नहोस्, त्यो अति पुण्यमयी, फलदायी र अक्षयरुपी हुन्छ भन्ने सबैमा धार्मिक विश्वास छ । नेपालका राई, लिम्बु, किरात जस्ता जात–जातिहरुको समुदायले त यस वैशाख पूर्णिमालाई विशेष रूपमा मनाउने परम्परागत चलन पनि छ ।
 
वैशाख पूर्णिमा कुर्म (कछुवा) जयन्तीको नामले पनि प्रसिद्ध छ । जल र स्थल दुवैमा रहन सक्ने कुर्म अवतारलाई विष्णु भगवान्को जलचर प्राणी मत्स्य अवतार पछिको दोस्रो अवतार मानिएको छ । मन्दराचल पर्वतलाई आफ्नो ढाडमा धारण गरेर क्षीर सागरमा देवता र दानवबाट समुद्र मन्थन गरिएको दिन पनि यही थियो । समुद्र मन्थनबाट १४ प्रकारका वस्तुहरु प्राप्त हुनुको अलावा एक अति महŒवपूर्ण र दुर्लभ वस्तु अंरित पनि प्राप्त भएको थियो । तत्पश्चात विष्णु भगवान्ले छल गरी दानवहरुलाई मदिरापान र देवताहरुलाई अंरितपान गराएका थिए । त्यतिबेलै यसरी अंरित पान गर्न पाएका देवताहरुले सदाका लागि अमरत्व प्राप्त गरेका थिए । पौराणिक दृष्टिले यो दिनको गरिमा गहन रहेको बताइएको छ ।
 
वैशाखशुक्ल पूर्णिमाका दिन यस धर्तीमा धेरै महान पुरुषहरु जन्मेका थिए, जसमध्ये गुरु गोरखनाथ पनि एक हुन् । सिद्धयोगी गुरु (महादेव) का पुत्र र शिष्यका रुपमा आजको यसै दिन गुरु गोरखनाथको यो भूमिमा जन्म भएको थियो । नेपालको राजपरिवार गुरु गोरखनाथको कृपाले पुलकित (संरक्षित) भएका दृष्टान्तहरु प्रशस्त सुन्नमा आउँछन् । पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणपूर्व गुरु गोरखनाथले दर्शन दिएका र उनलाई आशीर्वचन प्रदान गरेका कुराहरु पनि इतिहासमा उल्लेख भएको पाइन्छ । यो सकल धर्ती रक्षाका निम्ति गुरु गोरखनाथको देन रहेको विष्णु भगवान्बाट पनि उद्घोष भएका केही दृष्टान्तहरु पनि गोरखनाथ सम्प्रदायबाट अवगत हुन आउँछन् । देवादिदेव महादेवबाट प्राप्त शिक्षालाई सरलीकृत गरेर सनातन संस्कारको रक्षा, जागरणलाई फैलाउनका निम्ति गुरु गोरखनाथको योगदान उल्लेखनीय रहेको बताइन्छ । महादेव स्वयंबाट भएको एउटा कथन यस्तो छ–
 
अहमेवास्मि गोरक्षो मदूपं तन्निबोधतः ।
योगमार्ग प्रचाराय मयारुपमिदं ध्रितम् ।।
 
भावार्थ : म नै गोरक्ष हुँ, गोरक्षलाई मेरो नै रुप जान्नु, योगमार्गको प्रचारका लागि मैले नै यो रुप धारण गरेको हुँ । शिवजीको यो वाणीबाट उनकै सच्चा स्वरुप प्राप्त गरेका र प्रकृतिउपर पूर्ण स्वामित्व सिद्धि प्राप्त गर्नुभएका गुरु गोरखनाथलाई हामी सबैले सम्मान गर्नु युक्ति संगत देखिन्छ । राजपाटका खान्दानियाहरुले आजको यस दिनलाई गुरु गोरखनाथको सम्झनामा ठूलो उत्सबका रुपमा मनाउने गर्दछन् ।
 
यस पूर्णिमालाई चण्डीपूर्णिमा भनेर पनि चिनिन्छ । वैशाखशुक्ल पूर्णिमाका दिन देवी दुर्गा भगवतीले आफ्ना नौ स्वरुपहरुमध्ये कालिकाको रुप धारण गरेर देवासुर सङ्ग्राममा दैंत्यराज शुम्भ र निशुम्भका शक्तिशाली सेनाद्वय चण्ड र मुण्डलाई मारिन्, यिनीहरुको टाउका काटेर दुर्गा भगवतीसमक्ष लगेर बुझाइन् । त्यसपछि यी कालिकाको नाम चामुण्डा अर्थात चण्डेश्वरी(चण्डी) भनेर उनै दुर्गा भगवतीले राखेकी हुनाले यिनको नाम चण्डी रहन गएको तथ्य मेधावी ऋषिद्वारा रचित दुर्गा सप्तशतीबाट अवगत हुन आउँछ । दुष्टको नाश गरेर साधु–सन्त र सज्जनको रक्षा गर्ने शक्ति स्वरुपिणी यिनै चण्डी नाम गरेकी दुर्गा भगवतीको जन्म यही वैशाख पूर्णिमाका दिन यसरी हुन गएको पौराणिक कथन छ । यस दिन नेपाल र अन्य विभिन्न हिन्दु मुलुकमा रहेका देवीका मन्दिरहरुमा विशेष हर्ष र उल्लाषका साथ बाजा–गाजासहित बलि चढाएर चण्डी पूर्णिमाको उत्सव मनाउने चलन छ । यस दिन नेपालका कतिपय स्थानहरुमा मेला लाग्ने गर्दछ ।
वैशाखमास महात्म्यमा वैशाख महिनाको महिमाबारे भनिएको छ–
 
न माधव समो मासों न क्रितेन युगं समम् ।
न च वेद समं शास्त्रं न तीर्थ गंगया समम् ।।
 
भावार्थ : जसरी सत्ययुग समानको कुनै अर्को युग छैन, वेद समानको कुनै अर्को शास्त्र छैन, गंगाजी समानको कुनै अर्को तीर्थ छैन, त्यसैगरी वैशाख समानको कुनै अर्को महिना छैन । वैशाख महिनाभर प्रातः स्नान, तीर्थ–व्रत, बाहिरका जलाशयहरुमा गएर स्नान, दान–पुण्यजन्य विभिन्न कर्महरु, सामाजिक संघ–संस्थाहरु, मठ–मन्दिरहरुको निर्वाण कार्य आदिमा सक्दो सहयोगमध्ये केही गर्न नसकिएको अवस्था भए तापनि, एक गहन शास्त्रीय एवं पौराणिक गाथा बोकेको यस वैशाखे पूर्णिमाका दिन कस्तो कर्म हामीले गर्न सक्छौ त ? मन, वचन र कर्म अनि स्वच्छ आत्माले त्यो गरौँ, आआफ्ना मनका बहहरु मनैमनले पोख्दै सम्पूर्ण जगतका स्वामी उनै परमात्मा परमेश्वर विष्णु भगवान्प्रति भक्ति–भाव समर्पित गरौँ, यसो गर्न सकेमा मात्र पनि हामी सबैको कल्याण अवश्यंभावी हुनेछ भन्दै यहीँनेर आएर मैले आफ्ना वाणीहरुको बिट मार्ने अनुमति चाहन्छु, सबैमा सादुभाव । अस्तु !