ड्यालस (टेक्सस) – टेक्सस राज्यको तल्लो सदनका लागि आउँदो वर्ष हुने निर्वाचनमा नेपाली मुलका दिनेश शर्माले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
शनिबार टेक्ससको अर्भिङमा आयोजना गरिएको विशेष कार्यक्रमबीच शर्माले टेक्ससको हाउस अफ रिप्रजेन्टेटिभमा चुनावी क्षेत्र (डिस्ट्रिक्ट) नम्बर ९२ बाट उम्मेदवारीको घोषणा गरेका छन् । डेमोक्रेटिक दलको तर्फबाट शर्माले उम्मेदवारी दिने तयारी गरेका हुन् ।
उनी टेक्ससको राजनीतिमा माथिल्लो तहमा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली हुन् ।
डेमोक्रेटिक दलको तर्फबाट उम्मेदवार हुनका लागि उनले आउँदो मार्चमा हुने प्राइमरीमा यो पार्टीबाट खडा हुने अन्य उम्मेदवारहरुलाई जित्नुपर्ने हुन्छ । प्राइमरीमा डेमोक्रेटिक दलका नेता, कार्यकर्ता तथा सो दलसँग निकटहरुले मात्र मतदान गर्छन् ।
टेक्सस राज्यको तल्लो सदनको मुख्य चुनाव भने आउँदो वर्ष अर्थात सन् २०२२ को नोभेम्बरमा हुनेछ । टेक्ससको तल्लो सदन हाउस अफ रिप्रजेन्टेटिभमा एकसय ५० सदस्य हुन्छन् । हरेक दुई वर्षमा हाउसका सदस्यका लागि चुनाव हुनेगर्दछ ।
शर्माले आफु नेपालमा जन्मिएपनि अमेरिकालाई कर्मभूमि बनाएर लामो समयदेखि बस्दै आएको उल्लेख गर्दै रिपब्लिकन पार्टीले टेक्ससका निम्न वर्गलाई नहेरेको हुँदा त्यो आवाजलाई स्टेटको क्यापिटल हिलसम्म पुर्याउन उम्मेदवारी दिन लागेको उल्लेख गरे । ‘२१ प्रतिशत टेक्सनसँग अझै पनि स्वास्थबीमा छैन । राज्य सरकारले यो वर्गलाई कहिल्यै पनि हेरेको छैन । रिपब्लकन गभर्नर र सिनेटर जनताप्रति पटक्कै उत्तरदायी छैनन’ उनले भने ।
त्यस अवसरमा अमेरिकन मुलधारको राजनीतिमा संलग्न टेरी मेजा, ग्वएन बरुड, ब्राउडी मुलिगन, काजी चौधरी लगायतले शर्मालाई शूभकामना दिएका थिए । नेपाली समुदायको तर्फबाट नेपाली समाज टेक्ससका वरिष्ठ उपाध्यक्ष राजेन्द्र वाग्ले, एनआरएनएकी उमा कार्की थापा, एनआरएनए अमेरिकाका पूर्ब अध्यक्ष सुनिल साह, युलेस सिटी काउन्सिल सदस्य टीका पौडेल, नेपाली मन्दिर बोर्ड अफ ट्रष्टीका विनय अर्याल, नेप्लिज अमेरिकन चेम्बरका पूर्ब अध्इक्ष बाल जोशी, एनआरएनए टेक्ससका अध्यक्ष सोफिन थापा, बृेदराव बस्नेत, डा. जस्मिन सिंह, डा. जोया सिंह, लगायतले शर्माको उम्मेदवारीले हलचल ल्याएको उल्लेख गर्दै जिताउन सबै लाग्नुपर्नेमा जोड दिएका थिए ।
सोही क्रममा नेपाली समुदायलाई अमेरिकी मुलधारको राजनीतिमा ल्याउन भूमिका खेल्दै आएका प्रभात दीक्षित, उम्मेदवार शर्माले पत्नी रेणुका शर्माले पनि मन्तव्य व्यक्त गरेका थिए । शर्माको उम्मेदवारीलाई समर्थन जनाउँदै सहयोगका लागि शनिबार २२ हजार डलर संकलन भएको छ ।
टेक्ससको तल्लो सदनका एकसय ५० र माथिल्लो सदन सिनेटका ३१ सदस्य हुन्छन् । लामो समयदेखि टेक्ससमा रिपब्लिकन बाहुल्यता छ । पछिल्लो समयमा रिपब्लिकन दलको मत घट्दै गएको छ भने डेमोक्रेटिकले आफ्नो प्रभाव बढाउँदै लगेको छ ।
शर्माले उम्मेदवारी घोषणा गरेको डिस्ट्रिक्ट ९२ डेमोक्रेटिक बाहुल्य चुनााव क्षेत्रका रुपमा चिनिन्छ । यो डिस्ट्रिक्टमा ड्यालस फोर्टवर्थ इन्टरनेसनल एअरपोर्टसँग जोडिएको युलेस, बेडफोर्ड र आर्लिङ्गटनका केही भागहरु छन् । युलेसमा नेपालीहरुको बाक्लो बसोबास रहेको छ । पछिल्लो समयमा आर्लिङ्गटनको भेरिडिएन पनि नेपाली समुदायको निकै ठूलो बसोबास छ ।
अमेरिकाको चुनावमा उम्मेदवार हुन, मतदान गर्न यहाँको नागरिक हुनुपर्छ । नेपालबाट आएर अमेरिकाको राजनीतिमा माथिल्लो तहमा पुग्ने ह्यारी भण्डारी हुन् । उनी राजधानी डिसीसँगै जोडिएको मेरिल्याण्ड राज्यको तल्लो सदनमा सदस्य छन् । भण्डारीको राजनीति प्रवेशले अमेरिकामा रहेका नेपाली समुदाय पनि निकै सकृय भएको छ ।
प्रतिक्रिया