अमेरिका – म्यासाच्यूसेट्स राज्य फलरिभरमा ग्यास स्टेशन संचालन गर्दै आएका नेपाली लालकिशोर महासेठको अज्ञात लुटेराले गोली हानी हत्या गरेका छन् ।
बोष्टन शहर नजिक रहेको फलरिभरमा सोमवार राती करिव साढे १० बजेतिर स्टोर भित्र उक्त घटना भएको हो । त्यस वेला महासेठ त्यहां काम गरिरहेको बताईएको छ ।
मृतक महासेठको छातीमा गोली लागेको थियो । गोली लागेर ढलेका महासेठलाई केही समयपछि स्टोरमा आएका ग्राहकले आपतकालिन नम्बर ९११ मा फोन गरी जानकारी दिएका थिए । आपतकालिन सेवाका कर्मचारीले उनलाई तत्काल स्थानीय अस्पताल लिएर गएका थिए । तर, अस्पताल पुग्नु अघिनै उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको थियो ।
स्टोर वरपर पैसा छरिएको अवस्थामा देखिएकाले लुटपाट गर्ने उद्देश्यले उक्त घटना भएको प्रहरीले जनाएको छ ।
नेपालमा धनुषा घर भएका महासेठ लामो समयदेखि त्यहां बस्दै आएका थिए । ५४ बर्षका महासेठका श्रीमती दुई छोरा र एक छोरी भएको बताईएको छ । उनी मधेसी एशोसियसन इन अमेरिकामा पनि संलग्न थिए ।
उनको मृत्यु प्रति एनआरएनए अमेरिका लगायत संघ संस्थाले शोक व्यक्त गरेका छन् ।
ग्यास स्टेशनको कामलाई अत्याश्यक तर जोखिम मानिन्छ ।
प्रतिक्रिया