टेक्सस (अमेरिका) । अमेरिकाको स्थानीय समय अनुसार शनिबार मात्र जनैपूर्णिमा तिथि परेको भएपनि ड्यालसको नेपाली मन्दिरले आइतबार समेत उपस्थित भक्तजनहरुलाइ जनै वितरण र रक्षावन्धन बाँध्ने कार्यक्रम राखेको छ ।
शनिबार दिउँसो बसेको नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको बैठकले दुबै दिन जनैपूर्णिमा मनाउने निर्णय गरेको हो । पञ्चाङ्ग निर्णायक समितिले अमेरिकामा पूर्णिमा तिथि शनिबार मात्र रहेको उल्लेख गर्दै पात्रो प्रकाशित गरेको भएपनि नेपाली समुदायका अधिकांशले नेपालमा चाडपर्ब मनाएपछि मात्र अमेरिकामा मनाउने गर्दै आएका छन् ।
‘हामीले समुदायको आग्रहलाइ ध्यानमा राखेर जनै वितरण, रक्षावन्धनको कार्यक्रमलाइ आइतबार पनि निरन्तता दिने निर्णय गरेका छौँ’ मन्दिर बोर्ड अफ ट्रष्टीका अध्यक्ष विनय अर्यालले भन्नुभयो ।
मन्दिरका पूजारी डा. शेखर पण्डितले पनि आइतबार समेत नियमित रुपमा मन्दिरमा जनैपूर्णिमामा हुँदै आएका कामहरु हुने जानकारी दिनुभयो । ‘जति पनि भक्तजनहरु आइतबार आउनुहुन्छ, उहाँहरु सबैलाइ जनै वितरण, रक्षावन्धनका कामहरु हुनेछन्’ उहाँले भन्नुभयो ।
केही चाडपर्वहरु नेपालमा भन्दा अमेरिकामा अघिल्लै दिन हुँदा सर्वसाधारण द्विविधामा पर्दै आएका छन् । नेपालको भन्दा १२ घण्टा समय पछि भएपनि तिथिका कारण केही पर्वहरु अघिल्लै दिन पर्ने गरेको छ । त्यस्तो अवस्थामा मन्दिरले भक्तजनरुको चाहना अनुसार दुबै दिन सेवा दिने नीति बनाएको छ ।
अमेरिकाका अधिकांश नेपाली समुदाय र भारतीय समुदायले पनि अाइतबारनै रक्षावन्धन मनाउने भएका छन् ।
प्रतिक्रिया