ड्यालस (टेक्सस) । ड्यालसको टेक्ससमा आउँदो डिसेम्बरभित्र नयाँस्थानमा पशुपतिनाथ तथा बुद्ध मन्दिर सार्ने तयारी भएको छ ।
शनिबार आयोजना गरिएको विशेष कार्यक्रममा नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रका पदाधिकारीहरुले डिसेम्बरभित्रै पहिलो चरणको निर्माण सम्पन्न गरेर मन्दिर सार्ने तयारी भैरहेको जानकारी दिए । अहिले ड्यालस काउन्टीको अर्भिंग सिटीमा रहेको मन्दिर नौ माइल पश्चिम तर्फ रहेको युलेस सिटीमा सार्ने तयारी भैरहेको छ ।
युलेस सिटीको रोयल लेनमा ८ एकड जमिनमा पशुपतिनाथ मन्दिर, बौद्ध स्तुपा, मेडिटेसन हल, पार्क, क्याफ्टेरिया सहितको भव्य मन्दिर निर्माण हुनेछ । शनिबार आयोजित कार्यक्रममा मन्दिर निर्माणका लागि तीनहजार डलर सहयोग गरेर संस्थापक सदस्यता लिने एकसय ४० जनाले नयाँ संस्थापक सदस्यता लिएका छन् । १२ हजार डलर सहयोग गरेर बोर्ड अफ ट्रष्टी हुनुहुने २६ जना र जनही ५० हजार डलर सहयोग गरेर संरक्षकत्व ग्रहण गर्नुहुने नौ जनालाई सम्मान गरिएको थियो ।
संस्थापक सदस्यता ग्रहण गर्ने नयाँ एकसय ४० सहित अब तीनसय चार पुगेका छन् ।
कार्यक्रममा बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष मनोज सिग्देलले हालसम्मको आर्थिक अवस्था बारे जानकारी दिनुहुँदै बैंक मौज्दात ११ लाख ३१ हजार डलर रहेको र पहिलो चरणमा खरिद गरिएको भवनमा आवश्यक मर्मत, सुधार गरेर डिसेम्बरभित्र अर्भिंगबाट मन्दिरलाई युलेस सार्ने तयारी भैरहेको जानकारी दिनुभयो ।
अर्भिंगको मन्दिर रहेको सम्पत्ति १५ लाख डलरमा बिक्रीको प्रकृया अघि बढिसकेको छ ।
खरिद गरिएको पुरानो भवनलाई आवश्यक सुधार, मर्मत गर्नका लागि १० लाख डलर खर्च हुने अनुमान समितिले गरेको छ । यो भवनको केही भाग तत्काललाई मन्दिरको रुपमा प्रयोग गरिने र अधिकांश भाग बिभिन्न कार्यालयका लागि भाडामा दिने योजनामा समिति रहेको छ ।
दोस्रो चरण अन्तरगतका पशुपतिनाथ मन्दिर, बौद्ध स्तुपा, पार्क, पार्किंङ्गलट निर्माणको लागि आउँदो शिवरात्रीका दिन जग खन्ने योजनामा समिति रहेको छ ।
यो सबै निर्माण गर्नका लागि ५० लाख डलरको हाराहारीमा बजेट लाग्ने अनुमान गरिएको छ । समितिले मन्दिर निर्माणका लागि सहयोग गरेर सदस्यता ग्रहण गरिदिन अनुरोध समेत गरेको छ ।
शनिबारको कार्यक्रममा वक्ताहरुहरुले युलेसमा निर्माण हुने मन्दिर नेपाल बाहिर नेपाली समुदायको पहलमा निर्माण हुने सबैभन्दा ठूलो मन्दिर भएकोले सबैको सहयोग, सद्भाव र गच्छे अनुसार दान, सहयोगको अपेक्षा गरिएको बताए । निकै ठूलो लागत रहेको र नेपाली समुदायको प्रतिष्ठाको सूचक समेत रहने यो मन्दिरका लागि अमेरिकामा बस्ने नेपाली समुदायबाट सहयोगको अपेक्षा गरिएको आर्थिक संकलन समितिका संयोजक कृष्ण लामिछानेले बताए ।
त्यस अवसरमा हालैमात्र न्यूयोर्कबाट बसाई सरेर आउनुभएका मोहन ज्ञवाली, एनआरएन टेक्सस च्याप्टरका अध्यक्ष सोफिन थापा, बौद्ध गुरु उत्तम बज्राचार्य, बोर्ड अफ ट्रष्टीका अध्यक्ष विनय अर्याल, एनसिएससीका अध्यक्ष सुरेशचन्द्र पोखरेल लगायतले मन्दिरले समाज जोड्ने हुँदा यसका लागि सबैले एकमतले सहयोग गर्दै आएको र मन्दिर निर्माणको महान कार्यमा अझै पनि खुल्ला मनले थप सहयोग अपेक्षित रहेको बताउनुभएको थियो ।
मन्दिरका लागि अहिलेसम्म ९ जनाले ५० हजार डलरभन्दा बढी सहयोग गरेर संरक्षकत्व ग्रहण गरिसक्नुभएको छ । ५० हजार सहयोग गर्नेमा अनिल पाठक, भीम कार्की, डा. मुरली अधिकारी, गोरीराज जोशी, कपिलदेव अधिकारी, महेन्द्र कुँवर, बासु भण्डारी, कृष्ण पन्त र शैलेन्द्र मानन्धर हुनुहुन्छ ।
प्रतिक्रिया