-हिमालय खबर, न्युयोर्क
न्युयोर्कका गभर्नर एण्ड्र्यु कुमोमाथि स्वतन्त्र छानविन हुने भएको छ । दोस्रो महिलाले पनि कुमोमाथि यौन हिंसाको आरोप लगाएपछि कुमो छानविनमा तानिने भएका हुन् ।
२५ वर्षीया पूर्वकर्मचारी चार्लोट बेन्नेटले कुमोले आफूमाथि यौन हिंसाजन्य व्यवहार गरेको आरोप लगाएको रिपोर्ट न्युयोर्क टाइम्सले प्रकाशन गरेको थियो । पीडित भनिएकी महिला बेन्नेट कुमोको कार्यालयकी पूर्वस्वास्थ्य सल्लाहकार हुन् ।
उनका अनुसार गत वर्षको शरद मौसममा कुमोले आफू २० वर्षीया महिलासँग डेट गर्न पनि खुल्ला रहेको बताएका थिए । तर, कुमोले आफूलाई कहिले पनि नछोएको भए पनि आफूसँग सुत्न चाहेको बेन्नेटले आरोप लगाएकी छिन् ।
सो घटनाबारे कुमोका कर्मचारी प्रमुख र कानुनी सल्लाहकारलाई भनेको र त्यसपछि उनलाई सरुवा गरिएको दाबी आरोप लगाउने महिलाको छ ।
स्वतन्त्र छानविनबारे बाइडेनको समर्थन :
न्युयोर्कका मेयर ब्लाजिओले गरे राष्ट्रपतिलाई फोन
गभर्नर कुमोमाथि यौन हिंसाको आरोप लागेपछि न्ययोर्कका केही जनप्रतिनिधिहरुले उनीमाथि छानविन हुनुपर्ने माग गरेका छन् । स्वतन्त्र छानविनको माग गर्दै न्युयोर्कका डेमोक्रयाटीक मेयर बिल डे ब्लाजिओले राष्ट्रपति जो बाइडेनलाई फोन गरेका थिए ।
सो कुराको पुष्टि गर्दै बाइडेनका प्रेस सेक्रेटरी जेन पास्कीले कुमोमाथि हुने स्वतन्त्र छानविनलाई समर्थन गर्ने जनाएका छन् ।
कुमोद्वारा आरोप अस्वीकार तर छानविनलाई सहयोग गर्ने
गभर्नर कुमोले आफूमाथि लागेको आरोपको खण्डन गरेका छन् । शनिबारको नियमित ब्रिफिङका क्रममा कुमोले बेन्नेटमाथी त्यस्तो दुुव्र्यवहार केही नगरेको न त उनलाई असहज हुने कुरा गरेको दाबी गरे ।
कुमोका अनुसार कहिलेकाहीँ मजाक गरिएको हुन सक्छ तर त्यो हिंसाजन्य हैन । कामको सिलसिलामा केही व्यङ्ग गरिए पनि हिंसा प्रेरित नभएको कुमोको भनाइ छ । उनले स्वतन्त्र छानविनलाई सहयोग गर्ने बताएका छन् ।
कुमोमाथि यही सातामात्र यौन हिंसाको यो दोस्रो आरोप हो । केही दिनअघि ३६ वर्षीया लिण्ड्से बोयलानले पनि कुमोले यौन दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन । यही बेला कुमोले नर्सिङ होममा कोरोनाबाट मृत्यु हुनेको तथ्यांक लुकाएको आरोप पनि झेलिरहेका छन् ।
गत वर्ष कोरोना भाइरसको इपिसेन्टर हुँदा आफ्नो राज्यलाई राम्रोसँग नेतृत्व दिन सकेका कारण बाहबाही कमाइरहेका कुमोको अवधि सन २०२२ मा सकिँदैछ । न्युयोर्कमा आगामी वर्ष गभर्नरको निर्वाचन हुने भएका कारण कुमोलाई पुनः निर्वाचित हुन नदिन आफ्नै दल डेमोक्रयाटीक भित्रैबाट पनि खेल खेलिएको कतिपयको विष्लेषण छ ।
प्रतिक्रिया