नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमित हुनेको सङ्ख्या एकै दिनमा अत्यधिक देखिएको छ । पछिल्ला केहीदिनमा सार्वजनिक भएका दैनिक विवरणहरुमध्ये आइतबार सबभन्दा धेरै अर्थात् एकै दिनमा १५ हजार ९१५ जनामा सङ्क्रमित भएको जानकारी दिइएको छ ।
सरकारी अधिकारीहरुले बताएअनुसार भारतमा पछिल्लो २४ घन्टामा १५ हजार ९१५ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै भारतमा आइतबारसम्ममा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या कुल चार लाख २१ हजार २७९ पुगेको छ ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको सङ्ख्या १३ हजार ४८८ पुगेको छ ।
भारतमा कुल सङ्क्रमितमध्ये एक लाख ७३ हजार ७७ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने दुई लाख ३४ हजार ७१४ जना सङ्क्रण मुक्त भएका छन् ।
प्रदेशगत रुपमा हेर्दा सवैभन्दा धेरै सङ्क्रमित रहेको महाराष्ट्र प्रदेशमा एक लाख २८ हजार २०५ जना सङ्क्रमित भएका छन् ।
तीमध्ये ५८ हजार ६८ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने ६४ हजार १५३ जना सङ्क्रण मुक्त भएका छन् । महाराष्ट्र प्रदेशभरी कोरोनाभाइरसका कारण अहिलेसम्म पाँच हजार ९८४ जनाको मृत्यु भएको छ ।
त्यसैगरी तमिलनाडु प्रदेशमा ५६ हजार ८४५ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । एएनआई
प्रतिक्रिया