मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

न्यूयोर्कका नेपालीहरु धमाधम अन्य राज्य सर्दै

न्यूयोर्कका नेपालीहरु धमाधम अन्य राज्य सर्दै

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका – एक समय न्यूयोर्कमा बस्ने नेपालीहरुबीच गर्वको विषय थियो रिजउडको बसाई । ‘नेपाल छाडेर आइसकेपछि बस्नुपर्ने शहर न्यूयोर्क नै हो । त्यसमध्य पनि बस्नैपर्दा रिजउडनै छान्नुपर्छ’ भन्ने धारणा थियो । रिजउडमा बस्नेहरुले आफूलाई निकै गौरवान्वित महसुस गर्थे ।
 
त्यही रिजउड हो अहिले नेपालीहरु कतिखेर उम्किएर अर्को राज्यमा सरौं भन्ने अवस्थामा छन् । रिजउड त्यही ठाउँ हो जहाँ नेपालीहरुले पहिलो पटक मन्दिर स्थापना गरेका थिए । तीन वर्ष अघि त्यही ठाउँमा मन्दिर बनाउन महापुराण लगाउँदा १५ लाख ५० हजार डलरको प्रतिवद्धता आयो ।
 
यतिखेर त्यही रिजउड नेपाली सोसाइटीका संस्थापकदेखि लिएर वर्तमान पदाधिकारीहरु अर्को राज्यमा सर्न खुट्टा उचालेर बसेका छन् । कतिपय सरिसके ।
 
कोरोना भाइरसले पेशा, व्यबसायलाई नराम्रोसँग गाँजेपछि अमेरिकाको आर्थिक राजधानीबाट धेरै नेपाली अन्य राज्यमा बसाई सर्ने सुरु भएको छ ।
 
केही वर्ष अघि आएकादेखि लिएर दुई दशकदेखि निरन्तर बासस्थल बनाएका नेपालीहरु धमाधम अन्य राज्य सर्न थालेका छन् । चौबिसै घण्टा जागा रहने न्यूयोर्क कोरोनाका कारण अमेरिकामा सबैभन्दा बढी प्रभावित स्थान हो ।
 
‘कुनै यस्तो समय थियो, अमेरिकामा बस्नुछ भने न्यूयोर्कमै बस्नुपर्छ र न्यूयोर्कमा पनि रिजउडनै छान्नुपर्छ भन्ने अवस्था थियो’ १८ वर्ष न्यूयोर्क बसेर कोरोनाकै कारण टेक्ससको फोर्टवर्थ सरेका जनक भण्डारीले हिमालयखबरसँग भने । यतिखेर रिजउड बस्ने भन्नासाथ अरु राज्यका नेपालीहरुको पहिलो जिज्ञासा भैहाल्छ–‘कोरोनाले त बर्बादै पार्यो है त्यहाँ ?’
 
 न्यूयोर्कको नेपाली समुदायका धेरैले सर्नका लागि कोरोना प्रकोप साम्य हुने समय कुरेका छन् । तर भण्डारी परिवारले त्यो समयलाई समेत नकुरि मे १ तारिकमा सदाका निम्ति न्यूयोर्कको १८ वर्षिय बसाइलाई बाइबाई गरेर टेक्सस सरे ।
 
कोरोनाको इपीसेन्टरका रुपमा चित्रित न्यूयोर्क शहरका धेरै नेपालीहरु यो प्रकोपको न्यूनीकरणसँगै अन्य राज्यहरुमा बसाई सर्ने क्रम सुरु भएको छ । एकलाख नेपाली न्यूयोर्कमा बस्छन् भनिएपछि नेपाली अगुवाहरुका अनुसार झण्डै ५० हजार नेपाली यो राज्यमा बसोबास गर्छन् ।
 
विगत दुई महिनादेखि कोरोनाले न्यूयोर्क राज्यलाई निकै नराम्रोसँग गाँजेको छ । यो राज्यलाई आफ्नो बासस्थान बनाएर बस्दै आएका नेपालीहरुमध्य धेरैले अन्य राज्यहरुमा सर्ने मनस्थिती बनाएका छन् । प्रकोपकै बीचमा केहि परिवार अन्य राज्यहरुमा सरिसकेका छन् ।
 
‘यहाँ बसोबास गर्ने हाम्रो समुदायका धेरै साथीहरु अब बस्न सकिँदैन भन्ने मानसिक अवस्थामा पुग्नुभएको मैले पनि पाएको छु’ एनआरएन न्यूयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारीले भने । अधिकारीका अनुसार दुई महिनादेखि रोजगारी गुमाएका, डेराबाट बाहिर निस्कन नसकेकाहरु न्यूयोर्क छाडेर खुल्ला ठाउँमा सर्ने निधोमा पुगिसकेका छन्।
 
‘मेरै पारिवारिक निकट, साथीहरु मध्य केही परिवार सर्ने तयारीमा छन् । उहाँहरु यो कोरोना केही मत्थर होस् भनेर पर्खिबसेका छन्,’ अधिकारीले भने । उनी भने तत्काल नसर्ने अवस्थामा छन् ।
 
न्यूयोर्कका सामाजीक कार्यकर्ताहरुका अनुसार यो संकट कम हुने बित्तिकै ५० प्रतिशत जतिले स्टेटमुभ हुने बताउने गरेका छन् ।
 
न्यूयोर्क लकडाउनकै बीचमा सर्ने उपयुक्त स्थान छनौटका लागि नेपालीहरु नर्थ क्यारोलाइना, भर्जिनिया, टेक्सस, केन्टकी, मेरिल्याण्ड लगायतका राज्यहरुमा पुगेका छन् । न्यूयोर्कबाट मात्र ३० देखि ३५ परिवार केही साताभित्रै टेक्सस सर्ने तयारीमा रहेको भण्डारीले बताए ।
 
कुनै समय न्यूयोर्कको रिजउड नेपाली समाजका महत्वपूर्ण ओहोदामा रहेका नेपालीहरु अहिले सुरक्षित स्थान, भरपर्दो रोजगारी पाइने र आर्थिक रुपमा ‘बुम’ हुँदै गरेका राज्यहरुमा सरिरहेका छन् । रिजउड नेपाली समाजको संस्थापक अध्यक्ष मोहन ज्ञवाली केही महिना अघि टेक्ससको ड्यालस सरे । उनी सरेको केही समय लगत्तै अर्का पूर्व पदाधिकारी सहकुल खत्री पनि सरे ।
 
न्यूयोर्कका अर्का सामाजीक अभियन्ता अच्युत सिग्देलको अनुभवमा पनि नेपाली समुदायका धेरै परिवार महामारी साम्यसँगै दीर्घकालिन रुपमा बस्ने हिसाबले अर्को राज्य सर्ने योजनामा छन् । उबर, ट्याक्सीचालक, रेस्टुरेन्ट, ग्रोसरी स्टोरमा काम गर्ने नेपालीहरु सहजै रोजगारी पाइने राज्य खोज्ने, बुझ्ने अभियानमा छन् ।
 
न्यूयोर्कका नेपाली अगुवाहरुका अनुसार कोरोनाका कारण धेरै नेपालीहरु निसासिएको अवस्थामा छन् । त्यसैकारण खुल्ला स्थान, स्थायी रुपमा बसोबास गर्न, व्यबसाय र रोजगारीका लागि नेपालीहरु उपयुक्त ठाउँ खोज्दैछन् ।
 
कोरोना प्रकोप साम्य भएपछि अमेरिकामा पनि केही व्यबसाय र रोजगारीको प्रकृतिमा ठूलो अन्तर आउने संभावना छ । विशेषगरि उबर, सूचना प्रविधि, रेस्टुरेन्ट, पार्लर जस्ता पेशा र व्यबसायमा निकै ठूलो परिवर्तन आउने संकेतहरु देखिएका छन् ।
 
न्यूयोर्कका रहेका नेपालीहरु मध्य ठूलो संख्यामा नेपालीहरु यस्तै व्यबसायमा संलग्न छन् । जसका कारण उनीहरुको पेशानै समस्यामा पर्ने संभावना छ । यही संभावनालाई आकलन गरेर आफन्त, निकटका साथीहरु भएका स्थान खोज्दै नेपालीहरु न्यूयोर्कबाट मुभ हुने प्रयासमा छन् ।
 
केही नेपालीहरु न्यूयोर्कभन्दा उत्तरतिरका कनेक्टिकट, मासाचुसेट, न्यूह्याम्पसायर, रोडेआइल्याण्ड लगायतका राज्यहरुमा जाने योजना पनि छन् । तर धेरैको रोजाई भने नजिकैको भर्जिनिया र नर्थक्यारोलाइना परेको छ । दीर्घकालिन रुपमा घर किनेर या व्यबसाय गरेर बस्न चाहनेले भने टेक्ससलाई रोजेको स्रोतहरुले जानकारी दिए ।
 
‘टेक्ससको ड्यालसप्रति वर्षौदेखि न्यूयोर्कमा बस्दै आउनुभएका नेपाली समुदायका सदस्यहरुको चासो छ । व्यबसाय गर्न पनि संभावना भएको र सहज, रोजगारीका लागि पनि सहजै पाइने भएका कारण यता आउनेतिर धेरैले सोधिखोजी गरिरहनु भएको छ,’ रिजउड नेपाली सोसाइटीका संस्थापक अध्यक्ष मोहन ज्ञवालीले भने ।
 
ज्ञवालीका अनुसार न्यूयोर्कबाट न्यूयोर्कमा केही वर्ष बसेर रोजगारी, व्यबसाय गरिसकेपछि अन्य राज्यमा सर्ने क्रम पहिलेदेखिनै हो । तर अहिले कोरोनाका कारण मानिसहरु निसासिएका कारण जतिसक्दो चाँडो सर्ने मनस्थितीमा छन् ।
 
‘स्थायी रुपमा अमेरिका बस्ने नेपालीहरुमा स्थायी बासस्थान चाहिने रहेछ भन्ने धारणा पनि अहिले गढेको छ । न्यूयोर्कमा घर किन्न निकै महंगो पर्ने र सामान्य कमाईले किस्ता समेत महंगो पर्ने कारण सस्तो मूल्य, नयाँ घरहरु पाइने, रोजगारी पनि भने अनुसार पाइने कारणले रोजाईमा टेक्सस परेको छ’ ज्ञवालीले प्रष्ट्याए ।
 
अन्यत्र राज्यहरुमा ठूलो संख्याका नागरिकहरुले कोरोना महामारीका कारण रोजगारी गुमाएपनि टेक्ससमा भने ज्यादै कमले मात्र रोजगारी गुमाएका छन् । कतिपय रोजगारदाताहरुले महामारीको समयमा कामदारहरुलाई घरमै बस्न छुट्टी दिएर त्यो अवधिको पनि पुरै पारिश्रमिक दिइरहेका छन् ।
 
‘न्यूयोर्कमा निकै महंगी बढेको छ । यहाँ एक महिना तिर्ने भाडाले धेरै राज्यहरुमा घर किन्दा दुई महिना मोर्गेज तिर्न पुग्ने अवस्था देखेर धेरै साथीहरु अन्य राज्यहरुमा सर्ने सोचमा भएको मैले पनि पाएको छु’ जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले भने ।
 
‘अब परिवारलाई दीर्घकालिन रुपमा उपयुक्त स्थानमा सेटल गराएर आपूm चाँही नेपाल फर्किएर पूर्णकालिन राजनीतिमा लाग्ने तयारीमा छु’ विष्टले आफ्नो योजना सुनाए ।
 
चार जनाको परिवारका लागि न्यूयोर्कको खर्च मासिक झण्डै ६ हजार डलर पर्ने बसोबास गर्नेहरुको अनुभव छ । एकातिर बसाई महंगो हुनु, अर्कातिर महामारीका समयमा सबैभन्दा बढी प्रभावित हुने कारणले गर्दा पनि धेरै नेपालीहरु न्यूयोर्क शहर छाड्ने मनस्थितीमा पुगेका हुन् । तस्बिर: सामाजिक संजाल