मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

रंगशालाको तारबार ठड्याउन कस्सिए भरतपुरवासी

रंगशालाको तारबार ठड्याउन कस्सिए भरतपुरवासी


चितवन । नेपालकै गौरवको आयोजनाका रुपमा जनस्तरबाट सहयोग जुटाएर चितवनको भरतपुर महानगर १५ रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अस्थायी तारबार स्थानीयले डोजर प्रकरणपछि फैलिएको नकारात्मक सन्देश चिर्न भरतपुरवासी भत्किएको तारबार उठाउन कस्सिएका छन् । 
 
जेठ १५ अर्थात् गणतन्त्र दिवसको एकाबिहानै स्थानीयले डोजर लगाएर भत्काएपछि ठप्प रहेको रंगशाला निर्माणको काम आज शनिबारदेखि पुनः सुचारु भएको छ । शुक्रबार भरतपुर महानगरका १५ र १६ वडाका पाँच टोल विकास संस्थाको संयुक्त बैठकले डोजर प्रकरणप्रति दुःख व्यक्त गर्दै भत्किएको तारबार उठाउने, रंगशालाको सुरक्षा दिने र रंगशाला निर्माणको काम सुचारु गर्न आग्रह गर्ने निर्णयपछि निर्माणको कामले गति लिएको हो । 
 
शान्तिदीप टोल विकास संस्थाका मीनबहादुर लामा, पालुवा टोल विकास संस्थाका मीनबहादुर बस्नेत, रामपुर टोल विकास संस्थाकी रिता बस्ताकोटी, प्रकृति टोल विकास संस्थाका रामचन्द्र बस्ताकोटी र राधाकृष्ण टोल विकास संस्थाका सुशील लामाले संयुक्त हस्ताक्षर गरी आफूहरु रंगशाला निर्माणको विरोधी नभएको विज्ञप्ति जारी गरेका थिए । 
 
स्थानीयवासीले भत्किएको तारबार ठड्याएर काम गर्ने वातावरण बनाइदिन धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले आग्रह गरेका थिए । स्थानीयको भने बाटोको स्थायी समाधान हुनुपर्ने माग छ । 
 
भरतपुर महानगरपालिकाभित्रका सयौँको संख्यामा उपस्थित विभिन्न वडावासीले शनिबार रंगशाला निर्माणस्थलमा ढलेका खम्बा, तार, रुख, जस्तापाता ठड्याएका थिए । पुरानै डोबमा तारबार, खम्बा र रुखलाई लैजाने काममा जनप्रतिनिधि, सरकारी कर्मचारी, सुरक्षाकर्मी र केही स्थानीयवासी सरिक भएका थिए ।
 
भरतपुरका विभिन्न वडावासी उपस्थित भएर भत्किएको बार ठड्याइरहँदा अधिकांश स्थानीयवासी मुकदर्शक बने । तारबार भत्काएको आरोपमा पक्राउ परेका १९ जना स्थानीयवासीको विनाशर्त रिहाइ हुनुपर्ने र महानगरले यथाशीघ्र बाटोो समस्या हल गर्नुपर्ने विषयमा स्थानीयको एकमत छ । 
 
शनिबार उपस्थित जनसुमदायमाझ सीतारामले आफूहरुले पैसाको लोभले रंगशाला निर्माणको काम नगरेको बताए । शनिबार पनि भावुक हुँदै उनले थपे, ‘म जीवनमै कम रोएको छु । रंगशालाको बार आँखैअगाडि भत्काइँदा मैले हारगुहारसमेत गर्न सकिन । देशविदेशका नेपालीको रगत र पसिनामाथि डोजर चल्दा मेरो आत्मा रोयो, अनि म रोएँ ।’ 
 
भरतपुर १५ स्थित रामपुरमा अन्तर्र्रािष्ट्रय क्रिकेट रंगशाला निर्माणका लागि भरतपुर महानगरले २० बिघा १६ कठ्ठा जग्गा उपलब्ध गराएको थियो । भरतपुर महानगरले विवाद हल गर्न पुरानो बाटोलाई यथावत राखी स्थायी बार बनाउे योजना अघि सारेको छ । महानगर प्रमुख रेनु दाहालले स्थानीयलाई आश्वस्त बनाउँदै भनिन्, ‘डीपीआर बन्दैछ, बाटो कत्रो बनाउने, अन्तर्राष्ट्रिय मापदण्डअनुसार कसरी अगाडि बढाउने भन्ने विषय महानगरको हो । यस विषयमा जनताले चिन्ता गर्नु पर्दैन । जनतालाई उठिबास लगाएर विकास गर्न सकिँदैन । त्यसको समाधानमा हामी जुट्छौँ ।’
 
स्थानीयले साढे चार महिनादेखि बारम्बार महानगरलाई अवगत गराउँदा पनि विवाद नसुल्झिएको भनाइप्रति आक्रोशित हुँदै उनले भनिन्, बाटोको विषयमा कुनै दिन डेलिगेसन आउनु भयो तपाईंहरु ? बाटो फराकिलो बनाउने मुद्दामा यसरी प्रस्तुत भएपछि कसरी हुन्छ समाधान ?’