हिमालयखबर संबाददाता
ड्यालस (अमेरिका) – जनैपूर्णिमा शनिबार मनाउने कि अाइतबार भन्नेमा यो वर्ष पनि विवाद देखिएको छ ।
क्यालेण्डरमा नेपाली समयलाइ पछ्याउने कि नपछ्याउने भन्ने विवादले गर्दा जनैपूर्णिमा कुन दिन मनाउने भन्नेमा स्थानीय ज्योतिषीहरूमा विवाद देखिदा नेपाली समुदायमा अन्याैलता बढेको छ । टेक्ससका नेपाली ज्योतिषी मेघराज निराैलाले सोमबार अाफ्नो फेसबुकको वालमा जनै पूर्णिमा शनिबारनै मनाउनुपर्ने देखिएको विषय पोष्ट गरेपछि समुदायमा नयाँ तरङ्ग सुरू भएको छ ।
निराैलाले फेसबुकमा लेखे अनुसार अमेरिकाको स्थानीय समय अनुसार अगष्ट २५ शनिबार बिहान ४ बजेर ५५ मिनेटपछि श्रावण शुक्ल पूर्णिमा तिथि सुरुहुन्छ । सो दिनको ड्यालसमा सूर्योदय ६ बजेर ५७ मिनेटमा हुन्छ । नाग पन्चमी, जनैपूर्णिमा, कुशेअौंसी जस्ता पर्वहरू मनाउन कम्तिमा सूर्योदयकालमा सम्बन्धित तिथि हुन जरूरी भएको हुँदा नेपालभन्दा पश्चिमी मूलुकहरूमा शनिवारनै जनै पूर्णिमा मनाउनु पर्ने हुने निराैलाको तर्क छ ।
नेपालका लागि भने २६ अगष्ट अाइतबारकै दिन जनै पूर्णिमा पर्ने निराैलाको भनाइ छ ।
उता नेपाली समुदायको अास्थाको केन्द्र पशुपतिनाथ तथा बुद्ध मन्दिरका मुल पुरोहित डा. शेखर पण्डितले भने २६ अगष्टकै दिन जनै पूर्णिमा पर्ने भएकाले बिहान ६ बजेर ५० मिनेटमा स्नान गरेर जनै चढाइ सकिने जनाएका छन् । पूजा समिति मार्फत पण्डितले समुदायलाइ सूचना गर्दै अाव्हान गरेका छन्–‘यस वर्ष श्रावणी पूर्णिमा अगस्त २६,२०१८ का दिन बिहान ६:५७ सम्म रहन्छ। यस दिन धर्म शास्त्रीय गणना अनुसार रातको ३ बजे २५ तारिख बितेर २६ तारिख लागि सकेको हुन्छ। अत २६ तारिखका दिन ३ बजे स्नान गरी जनै मन्त्रने र ऋषि तर्पणी को काम ६:५० मा गरि सकी श्री पशुपति नाथमा जनै चढाई सकिने छ र प्रसादको रूपमा दिन भरि लगाउन सकिनेछ ।२५ तारिखमा चतुर्दशी स्नान गरि जनै मंत्रनु उपयुक्त देखिदैन।‘
मन्दिरले अगष्ट २६ तारिक अाइतबार बिहान ७ देखि साँझ ८ बजेसम्म जनै फेर्ने समय तोकेको छ ।
एउटै हुनुपर्ने ज्योतिष हिसाबमा किन यस्तो विवाद अायो त ? जवाफमा पं. निराैला भन्छन्–‘नेपालबाट १३ हजार ३ सय ४६ किलोमिटर टाढा रहेको ड्यालसमा उतैको क्यालेण्डर थपक्क बोकेर ल्याउँदा समस्या अाएको हो ।‘
निराैलाले थप स्पष्ट पार्दै उल्लेख गरेका छन्– अमेरिका क्यानाडा अादि मुलुकहरूमा अगष्ट २६ अाइतबार प्रातकालीन सूर्योदय भाद्र कृष्ण प्रतिपदामा हुने देखिन्छ । रक्षा बन्धन र श्रावणी तथा जनै अभिमन्त्रण भाद्र कृष्णप्रतिपदामा गर्ने विधान होइन, यो त श्रावण शुक्ल पूर्णिमा तिथिमा सूर्योदय भएको शुभ तिथि र घडिपला भित्रमा गर्ने शास्त्रीय विधान हो। नेपालको पात्रो यहाँ जस्ताको तस्तै मिल्दैन तसर्थ यहाँ तिथिको घडीपलालाई विचार गरेर पर्वहरू मनाउनु पर्ने हुन्छ ।‘
मन्दिरले २६ तारिकमा जनै फेर्ने समय राखेपछि धेरै नेपालीले सोही दिन मनाउने बताएका छन् ।
गत वर्ष पनि जनैपूर्णिमाको विवाद भएको थियो । नेपाल र यहाँको समय फरकले गर्दा यस वर्ष जनै पूर्णिमामात्र नभएर तीज, दशैंको घटस्थापना, विजयादशमीको टीका, लक्ष्मीपूजाको दिन र समयमा पनि विवाद हुने संकेत देखिएको छ । तस्बिर: सामाजिक संजाल
प्रतिक्रिया