काउले, चितवन । चितवनको पहाडी गाविस काउलेको वडा नं ४ राक्सीराङ गाउँका बालबालिका पढ्नबाट बञ्चित छन् । स्कुल जाने हो भने एक दुई घण्टा पैदल हिँड्नु पर्छ । बाटो सजिलो छैन । भीर र पाखामा उकाली-ओराली गर्न साना केटाकेटीलाई गाह्रै हुने भयो । त्यसैले बाबुआमा आफ्ना छोराछोरीलाई स्कुल पढाउँदैनन् ।
गाउँमा विद्यालय थियो । तर, विसं २०७२ साल वैशाख १२ मा आएको बिनाशकारी भूकम्पका बेलामा भत्कियो । त्यसपछि विद्यालय बनाउने तदारुकता कसैले देखाएन । काउलेको केन्द्र हात्तीबाङमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयको विस्तारित विद्यालय थियो । विद्यालय सञ्चालनका लागि पाएको छ वर्ष अवधि सकिएकै बेलामा भूइँचालो गयो ।
‘टाढा भएका कारण बालबच्चा त्यहाँबाट यहाँ पढ्न आउन नसक्ने । फेरि गाउँमा ठूलै उमेरका केटाकेटी पनि पढ्न छुटेका हुन्थे । उनीहरुका लागि गाउँमै सुविधा होस् भनेर विद्यालय खोलेका थियौं’ हात्तीबाङ स्कुलका शिक्षक तथा पूर्व प्रधानअध्यापक भूमिनन्दन घिमिरेले भने । सो विद्यालयमा कक्षा ३ सम्म पढ्न मिल्ने सुविधा थियो । गाउँमा सबै घर चेपाङका मात्रै छन् ।
एकजना शिक्षकले गाउँका केटाकेटीलाई पढाउने गर्दथे । शिक्षा कार्यालयले हात्तीवाङकै विद्यालयमार्फत सो स्कुलको शिक्षकलाई तलब उपलब्ध गराउँथ्यो । ‘सुरूमा तीन वर्षका लागि सञ्चालन भयो । त्यसपछि अर्को तीन वर्ष समय थप भयो । दोस्रो पटक थपेको समय सकिने बेलामा भूइँचालो गयो । त्यसपछि स्कुलै हरायो’ शिक्षक घिमिरेले भने ।
स्कुल सञ्चालनका लागि शिक्षा समितिका अध्यक्ष रहेका चितवनका स्थानीय विकास अधिकारी समक्ष धेरै पटक कुरा राखेको गाउँलेहरु बताउँछन् । स्थानीयले कुरा राखेपछि स्थानीय विकास अधिकारीले विद्यालय सञ्चालनको वचन दिएका थिए । तर, यसरी वचन दिने स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेल सरूवा भइसकेका छन् । त्यसैले गाउँलेहरु चिन्तित देखिन्छन् ।
‘जिल्लामा मात्रै होइन यो विषय मन्त्रालयसम्म पुगेको छ । फेरि विद्यालय चल्छ कि भन्ने आशा भने कायमै छ’ हात्तीबाङमा रहेको स्कुलका प्रधानअध्यापक रमेश रसाइलीले भने । राक्सीराङमा स्कुल नहुँदा ३० भन्दा धेरै बालबालिका पढ्नबाट बञ्चित भएको उनले बताए । साक्षर घोषणा भएको चितवन जिल्लामा यस्तो दुःखद अवस्था रहनु बिडम्बना नै भएको उनले बताए ।
गाउँमा धेरै कुराको अभाव छ । बाटो बिजुली छैन । स्वास्थ्य चौकी, विद्यालय पनि टाढा भयो । खानेपानीको पनि अभावै छ । यस्तो ठाउँमा सरकारले स्कुल नदिए अन्याय गरेको हुने स्थानीय सिर्जना चेपाङ बताउँछिन् ।
‘गाउँमा अभावै अभाव छ । तर कसैले हामीलाई अरु केही नगर्दे पनि केही फरक नपर्ला तर सरकारले स्कुल खोल्दिन प¥यो । चैत लागेपछि गाउँमा पानीको ठूलो हाँहाकार हुन्छ । गाउँमा स्कुल भएन भने पानीको भन्दा ठूलो हाँहाकार मच्चिन्छ भन्ने मलाई लाग्छ’ सिर्जनाले भनिन् ।
स्कुल सञ्चालन भए गाउँका बालबालिकाहरु दिनभर हल्लिएर हिँड्न रोकिने उनले बताइन् । ‘केटा केटीहरु नपढी बसे भने अहिलेको जमानामा त्योभन्दा ठूलो हाँहाँकार के होला र’ सिर्जनाले भनिन् । सोही गाउँकी गोमा चेपाङ सरकारले चाडोभन्दा चाडै स्कुल खोलेर गाउँको हित गर्ला भन्ने विश्वास बोकेर बसेकी छन् ।
सो गाउँमा चेपाङ उत्थानको काम गर्दै आएको भरतपुरको नेपाल ग्रामीण आत्मनिर्भर अभियान (रुसेक)नामक गैरसरकारी संस्थाकी सामाजिक परिचालक इन्दिरा दाहाल विद्यालयका लागि आफूहरुले पनि पहल गरेको बताउँछिन् ।







प्रतिक्रिया