मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पहिरोले घर पुरेपछि ओडारमा बास

पहिरोले घर पुरेपछि ओडारमा बास


पर्वत । वर्षायाममा बस्तीभन्दा माथिबाट आएको पहिरोले घर पुरेपछि यहाँका एक दम्पती ओडारमुनि बस्न बाध्य भएका छन् । 
 
पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ मालढुङ्गास्थित माझी बस्तीका भीमबहादुर माझीको परिवार ओडारमा बस्ने बाध्य भएको हो । स्थानीयवासी ६२ वर्षीय भीमबहादुर र उनकी श्रीमती ४५ वर्षीया चन्द्रकुमारी डेढ वर्षदेखि ओडारमा दैनिकी गुजार्दै आएका छन् । 
 
घर, सम्पत्ति पहिरोमा गुमेपछि बागलुङ–पर्वतको सीमाक्षेत्र मालढुङ्गामा बस्ने माझी दम्पती आफ्नै थातथलोमा पनि शरणार्थी झै बस्नुपरेको हो ।
 
उनीहरुलाई बिहान, बेलुका छाक टार्ने केले हो भन्ने चिन्ता एकातिर छ भने अर्कोतिर गतिलो सुत्ने बास नभएर समस्या छ । विसं २०७२ साउन ३ मा मालढुङ्गा–बेनी सडकखण्डको माथि पाङबाट खसेको पहिरोले माझी दम्पतीको घरबास पूर्णरुपमा पुरिएपछि उनीहरु ओडारमा बस्दै आएका हुन् । 
 
घरको भग्नावशेष देखाउँदै चन्द्रकुमारीले आफूहरुको यो हालत हुँदा पनि कसैले नहेरेको गुनासो पोखिन् । उनका दुई छोरा अलग्गै घरमा बस्दै आएका छन् । दुई छोरीको विवाह भइसकेको छ । बुढेसकाल लाग्ने बेलामा परिवारबाट एक्लिएका माझी दम्पतीको बाँच्ने सहारा कालीगण्डकी किनारको गिट्टी र बालुवा बनेको छ । 
 
“बालुवा, गिट्टी निकालेर छाक टार्दै आएका छौँ, हामीलाई कसैले सहयोग गरेको छैन,” चन्द्रकुमारीले भन्नुभयो – “हामी पुरानै बासमा फर्कन चाहन्छौँ, तर घर कसरी बनेको हो भन्ने उपाय सुझेको छैन ।” त्यहाँका अन्य केही माझी परिवार पनि विस्थापित हुने अवस्थामा छन् । पुस्तौँदेखि कालीगण्डकी नदी किनारमा बस्दै आएका माझीले आफूहरु राज्यबाट उपेक्षामा परेको गुनासो गर्ने गरेका छन् । 
 
छिटफुट राहत पाए पनि पहिरोबाट विस्थापितको पुनर्वास र व्यवस्थापनमा कसैले ध्यान नदिएको स्थानीय श्रमिक प्राविका प्रधानाध्यापक तेजेन्द्र आचार्यले बताए । “परिवारको अवस्था साह्रै दयनीय छ, बस्ने बास समेत गुमेपछि यो अवस्था आयो” – उनले भने । 
 
बागलुङ र पर्वत जोड्ने कालीगण्डकी नदी किनारमा बस्दै आएका माझीले जीविकोपार्जनका लागि राज्यको सहयोगको अपेक्षा गर्दै आएका छन् । 
माछा मारेर जीवन धान्ने माझी पनि त्यही बसोबास गर्छन् । वर्षायाम लाग्ने बित्तिकै डर त्रासमा दिनरात कटाउनुपर्ने अवस्थामा माझी छन् । लगातार दुई वर्षसम्म पहिरो खस्दा माझी बस्तीका साथै त्यहाँ रहेको विद्यालय पनि जोखिममा परेको छ । यो वर्ष पहिरो नखसे पनि विगतको पहिरोले पु¥याएको क्षतिको घाउ निको नभएपछि माझी बस्तीको दुःख अझै रोकिएको छैन । 
 
त्यहाँ बस्दै आएका माझी परिवार र विद्यालयको सहकार्यमा यस वर्ष स्काभेटरको प्रयोगले बाढी नियन्त्रणका लागि गाउँमाथि सम्याउने काम गरेकाले यस वर्ष बाढी बस्तीमा पस्न नपाएको प्रधानाध्यापक आचार्यले बताए । मालढुङ्गामा बिनालालपुर्जा २८ परिवार मजदुरी गरेर बस्दै आएका छन् । रासस