मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

नेपाल डायरी, एक महिने नेपाल भ्रमणमा यस्तो भोगियो

नेपाल डायरी, एक महिने नेपाल भ्रमणमा यस्तो भोगियो

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मेरिकी राष्ट्रपतिमा कसले जित्छ ? गत महिना म नेपाल रहँदा प्रायः जमघटमा यही प्रश्नको सामना गर्नुप¥यो । नेपाली समुदायबीच अमेरिकामा जति चासोको विषय थियो राष्ट्रपतिको निर्वाचन । नेपालमा त्योभन्दा कम्ती थिएन । अमेरिकी निर्वाचनका सन्दर्भमा नेपालमा भेटिएका नेपालीका चासो तीन प्रकारका थिए । 
 
पहिलो- रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पको अवस्था कस्तो छ ? उनले जित्छन् कि जित्दैनन ? उनले जिते भने अमेरिकामा रहेका नेपालीलाई कस्तो असर पर्ला ? अमेरिकामा रहेका नेपालीका आफन्त, परिवारका सदस्यहरुमा यस्तो चासो ज्यादा थियो । 
 
दोस्रो चासो देखिन्थ्यो- डोनाल्डले जितिदिए पनि हुन्थ्यो । अमेरिकामा रहेका नेपालीलाई उनले गोर्खेलौरी लगाएर खेदेर नेपाल नै पठाइदिऊन् । यस्तो कामना गर्नेमा जसरी भए पनि अमेरिका पस्ने योजना सफल नभएकाहरुको बाहुल्यता थियो । 
 
तेस्रो चासो थियो- नयाँ राष्ट्रपति आएपछि कतै डिभी-चिठ्ठा खारेज त गर्दैनन् ? कमसेकम अमेरिका सहज रुपमा जाने एउटा माध्यम त छ यो डिभी । 
 
मतगणना नहुँदासम्म डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनले जित्ने अनुमान थियो । मिडियामा आएको प्रायः सबै मतसर्वेक्षणले पनि यही देखाएका थिए । यही आधारमा यो प्रश्नमा सबैको जवाफ हुन्थ्यो–हिलारीले नै जित्छिन् । हिलारीसँग नेपालीको केही निकटता थियो । उनी प्रथम महिला हुँदा छोरी चेल्सीका साथ नेपाल घुमेकी थिइन् । मेरो गृहनगर चितवन पुगेर हात्तीसमेत चढेकी थिइन् । 
 
हिलारीका तुलनामा अर्का प्रतिस्पर्धी उम्मेदवार रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले अमेरिकामा बस्ने आप्रवासीप्रति कठोर अभिव्यक्ति दिएका थिए । त्यही कारणले उनको विजययात्रा त्यति सहज छैन भन्ने अनुमान पर्यवेक्षक र मिडियाको समेत थियो । तर नतिजा आउँदा ठीक उल्टो भयो । ट्रम्पले निकै अग्रताका साथ जिते । 
 
जब उनले जिते फेरि प्रश्न गर्न थालियो– अमेरिकामा बस्ने सबै नेपालीलाई ट्रम्प प्रशासनले फिर्ता पठाउँछ ? अमेरिका गएको नरुचाउनेले ट्रम्पको जितलाई स्वाद लिइलिइ यो कुरा उठाइरहे । ट्रम्पका कारण अब अमेरिकाको भिसा लिन सजिलो हुँदैन, चिठ्ठाबाट अमेरिका जान पाइने डिभी बन्द हुन्छ भन्नेदेखि लिएर नेपालीले जागिर पाउँदैनन् भन्नेजस्ता विषयमा चियापसल, चौतारादेखि दिएर कोठामा बसेर टिप्पणी लेखेर मिडियामा छपाउनेले समेत एक महिनासम्म काम पाए । 
 
तर, यो प्रश्न सर्वसाधारणको मात्र होइन, नेपालका प्रधानमन्त्रीसम्मको रहेछ । केही दिनअघि काठमाडौँस्थित अमेरिकी राजदूत एलिना टेप्लिससँगको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत यस्तै जिज्ञासा राखेका थिए । त्यस बखत दाहालले अमेरिकामा बस्ने नेपालीलाई ट्रम्पको जीतले फरक पर्छ कि पर्दैन भनेर प्रश्न गरेको कुरा मिडियामा छायो । प्रधानमन्त्री दाहालको प्रश्नमा अमेरिकी राजदूतले केही असर नपर्ने जवाफ दिएको समाचारमा उल्लेख थियो । 
 
अमेरिकामा भने डोनाल्डको जितलाई नेपालीले सहज रुपमा लिन थालेका छन् । कानुनी रुपमा बस्दै आएकालाई उनको जितले खासै फरक नपर्ने देखिन्छ । कानुनी रुपमा भन्नाले ग्रीनकार्ड वा नागरिकता लिएर बसेकालाई कुनै असर नपर्ने देखिन्छ । कतिपय नेपालीहरुसँग काम गर्ने अनुमतिपत्र (वर्क परमिट) छ । वर्क परमिट काम गर्न दिइएको अधिकार हो । स्थायी बसोबास पत्र होइन । 
 
अबको दिनमा गैरकानुनी रुपमा लुकेर बसिरहेका र अपराध गर्नेलाई भने कठिन हुने देखिन्छ । अपराध गरेको रेकर्ड छ भने डिर्पोटेसन हुने जोखिम उत्तिकै छ । तर, यो नयाँ भने होइन । वर्तमान राष्ट्रपति बाराक ओबामाको कार्यकालमा पनि वार्षिक झण्डै चार लाखका दरले गैरकानुनी रुपमा अमेरिकामा बस्नेलाई डिर्पोटेसन गरिएको तथ्यांक छ । यो संख्याले भने अब पनि निरन्तरता पाउन सक्ने देखिन्छ । 
 
नेपाल बसाइँको क्रममा केही तीता र केही मीठा अनुभवहरु बटुल्ने अवसर पनि मिल्यो । देशको राजधानी सहरको ट्राफिक व्यवस्थापन असाध्यै कमजोर देखियो । एक ठाउँबाट अर्को ठाउँमा कसैलाई भेट्न जाँदा धेरै समय त सडकमै बिताउनु पर्ने भयो । छोटो र निश्चित समयका लागि धेरै साथीहरुकहाँ पुगेर भेट्छु भनेर योजना बनाउन सम्भव हुँदो रहेनछ । अर्को धूँवा र धुलोको समस्या । चितवनबाट काठमाडौँ आउँदादेखि नै यो समस्याले सताउँछ । 
 
अर्को महंगी पनि चर्कोलाग्दो रहेछ । एक अमेरिकी डलर साट्दा एक सय ५ रुपैंयाँभन्दा बढी आउने भए पनि रेष्टुरेन्ट जाँदा वा समान किन्दा निकै महंगो लाग्ने रहेछ । अमेरिकामा कमाउनेलाई पनि महंगो लाग्यो ? भन्ने मित्रहरु पनि थिए । यत्रो खर्च गर्ने पैसा कहाँबाट आउँछ ? अर्थतन्त्रका बारेमा बुझ्नेले भने विदेशबाट आउने रेमिट्यान्स नै यसको मुख्य कारण हो । उताबाट पैसा आउँछ उताकै समान किन्यो सकिन्छ । 
 
अन्त्यमा- 
धेरै नेपालीहरु विदेश जाँदा कतार एअरबाट यात्रा गर्छन् । तर केही कुराहरु जानकारी नहुँदा अप्ठेरो पर्ने रहेछ । दोहामा लामो ट्रान्जिट हुनेको बाहिर होटलमा बस्न नपाएको गुनासो नै गुनासो थियो । टिकट लिँदा बाहिर जान पाइन्छ, एअरलाइन्सले होटल दिन्छ भने पनि सजिलै यो सुविधा नपाइने रहेछ । अहिले नियममा यसरी बाहिर निस्कन आवश्यक पर्ने ट्रान्जिट भिसा लिन केही दिनअघि नै निवेदन लिई लिनुपर्ने रहेछ । होइन भने एयरपोर्टभित्रै बस्न तयार हुँदा राम्रो हुन्छ । 
 
८ घण्टाभन्दा लामो समयको ट्रान्जिट हुनेले होटलमा बस्न चाहेमा सुरूमा टिकट लिँदा नै निश्चित गर्दा सहज हुने रहेछ ।