मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

एनआरएन अमेरिकाको अध्यक्षमा जोशीले उम्मेदवारी दिने

एनआरएन अमेरिकाको अध्यक्षमा जोशीले उम्मेदवारी दिने


ड्यालस , टेक्सस – गैर आवासीय नेपाली संघ एनआरएन अमेरिकाकाको नेतृत्वका लागि टेक्ससका गौरी जोशीले तयारी गरेका छन्। विगत दुई दशकदेखि टेक्ससको ड्यालसलाई कर्मथलो बनाएर अघि बढिरहेका जोशीको उम्मेदवारीले अमेरिकामा रहेका नेपाली समुदाय तरंगीत भएको छ। 
 
‘नेतृत्वका लागि मैले साथीहरुसँग सम्पर्क गरिरहेको छु,’ जोशीले भने–‘सबैबाट सकारात्मक सुझाव आएकोले अगाडी बढेको हुँ।’ 
 
झण्डै १० वर्ष अघि एनआरएन अमेरिकाको कार्यसमितिमा बसेर त्यसमा सकृय रहेका गौरी हाल सल्लाहकार हुन्। ‘एनआरएन अमेरिकाप्रति नेपाली समुदायको ठूलो विश्वास छ, यसलाई अझै अघि बढाउन मैले केही गर्नसक्छु कि भन्ने लागेर अध्यक्ष पदमा उम्मेदवार बन्न लागेको हुँ,’ जोशीले भने।
 
गौरीलाई नेपाली जनसम्पर्क समितिले अघि सारेको उम्मेदवार भन्ने पनि छ। तर गौरीभने आफू  कुनै पनि नेपाली राजनीतिक दलसँग सम्वद्ध नरहेको बताउँछन्।
 
‘काठमाडौंको शंकरदेव क्याम्पस पढ्दा त्यहाँको वातावरणले गर्दा नेपाल विद्यार्थी संघका साथीहरुसँग सम्बन्ध थियो, त्यतै लागियो,’ उनले भने– ‘तर अमेरिका आएपछि पढाई र व्यबसायमै संघर्ष गर्नुपर्‍यो। त्यसले गर्दा राजनीतिमा ध्यान दिने र लाग्ने समयनै भएन।’ गौरी विद्यार्थीका रुपमा दुई दशक अघि अमेरिका आएका थिए।
 
एनआरएन अमेरिकाको वर्तमान कार्यसमितिको पदावधि पुरा हुन करिव चार महिनामात्र बाँकी छ। दुई वर्ष अघिको अधिवेशनमा अध्यक्षमा पाँचजना उम्मेदवारहरु थिए।
 
झण्डै दुई वर्ष अघि जनसम्पर्क समिति अमेरिकाको ड्यालस अधिवेशनलाई उनले सहयोग गरेका थिए। ‘आफ्नो ठाउँमा कार्यक्रम हुँदा सहयोग गरेको हुँ,’ उनले भने। 
 
जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्ट जोशीका शंकरदेव क्याम्पसमा पढ्दाका सहपाठी हुन्। ड्यालसमा कृष्ण लामिछाने, सुन्दर कर्माचार्य, सुभेन्द्र रानाभाट, अमृत सापकोटा, भगवान मैनाली, पासाङ शेर्पासँग पनि उनको गतिलै उठबस छ। 
 
‘नेपाली कांग्रेसमा सकृय युवा व्यक्तित्व हरिबोल भण्डारी पनि मसँग निकट छन्,’ उनले भने। अमेरिकामा विष्णु सुवेदी, बेद खरेल, धनन्जयनरसिंह केसी, धर्म श्रेष्ठ लगायतसँग पनि उनको सुमधुर सम्बन्ध छ। 
 
‘तर यथार्थ के हो भने एनआरएन पूर्णत गैर राजनीतिक संस्था हो। यसको नेतृत्वमा पुग्न सबै पक्षको प्रतिनिधित्व र सहयोगको आवश्यकता पर्छ,’ जोशीले भने। उनले त्यसैका लागि सबैपक्षसँग सरसल्लाह र सुझाव लिइरहेका छन्। 
 
अहिलेको एनआरएन अमेरिकाको कार्यसमितिका बारेमा उनीसँग मिश्रीत प्रतिकृया छ। ‘यो कार्यसमितिले असहज परिस्थितीमा काम सुरु गरेको थियो, निर्वाचित हुने वित्तिकै नेपालमा महाभुकम्प गयो। अध्यक्ष केशव पौडेल लगायत हाम्रो टीमले नेपाल पुगेर सहयोग गरेका थियौं,’ उनले भने। त्यतिखेरको उक्त कार्यको सर्वत्र प्रशंसा भएको थियो। 
 
‘यस बाहेक कम्युनिटी सेन्टर बनाउने लगायत केही राम्रा कामहरुको सुरुवात भएका छन्,’ उनले भने। तर जे जति कामहरु भएका छन् त्यसबाट सन्तुष्ट भने उनी छैनन्। 
 
एनआरएन अमेरिका धेरै सदस्य भइकन पनि अन्तर्राष्ट्रिय समन्वय समितिमा प्रभाव पार्न भने सकेको छैन। ‘अझै संस्थागत स्वरुप लिइसकेको छैन,’ उनले भने। 
 
‘एनआरएनको क्षेत्रीय सम्मेलनमा उठेको मध्य केही रकम हामीले एनआरएनको सचिवालय बनाउन दियौं, त्यो राम्रो हो,’ जोशीले भने–‘तर अमेरिकामा बस्ने नेपाली समुदायले यहाँपनि केही काम होस् भन्ने चाहनालाई पनि हामीले संबोधन गर्नुपर्छ।‘
 
 
‘हाम्रो संस्कृति र परम्परासंग  नयाँ पुस्तालाई कसरी संलग्न गराउने, नेपाली समुदायले अमेरिकाका बिभिन्न शहरहरुमा सुरुवात गरेका सामुदायीक अभियानलाई एनआरएनले कसरी सहयोग गर्ने भन्नेमा हामीले विचार  गर्नैपर्छ।’ 
 
‘अर्को, आइसिसीमा हाम्रो पनि प्रभाव बढ्नुपर्छ ,’ उनले भने। यसमा पनि मिलेर केही गर्नुपर्नेमा उनको जोड छ। एनआरएनले कुटनीतिक नियोगहरुसँग  गहन सम्बन्ध बढाउनुपर्ने अवस्था रहेको उनले बताए। मिलेर काम गर्न सकिने थुप्रै क्षेत्रहरु रहेकोले त्यसका लागि आफ्नोमात्र एक्लो प्रयासले मात्र नहुने उनले बताए। 
 
सबै मिलेर अघि बढेमा एनआरएन अमेरिकालाई सबैभन्दा प्रभावकारी, सबैले आफ्नो ठान्ने संस्थाको रुपमा अघि  बढाउन  सक्ने अठोट जोशीसँग छ। ' त्यसैका लागि मैले आफूलाई  अघि सारेको हूँ,  साथीहरुको सर-सहयोग र विश्वास मैले पाउने नै छु र  म केहि गर्न सक्छु । ' यो दृढता  गौरी जोशीले हिमालय खबरसंग व्यक्त गरे I