मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रधानमन्त्री ‘प्रचण्ड’का गुरु राजकृष्ण कँडेलले संसार त्यागे

प्रधानमन्त्री ‘प्रचण्ड’का गुरु राजकृष्ण कँडेलले संसार त्यागे


-हिमालय खबर संवाददाता
चितवन । चितवनका शिक्षासेवी तथा साहित्यकार राजकृष्ण कँडेलको ७१ वर्षको उमेरमा निधन भएको छ । चितवन साहित्य परिषद्का अध्यक्षसमेत रहेका उनी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को गुरुसमेत हुन् । उनको निधनप्रति चितवनका स्रष्टा तथा शिक्षासँग सम्बन्धित व्यक्तिहरुले शिक्षा क्षेत्रको नक्षेत्र गुमेको बताएका छन् । उनीहरुले एकजना कर्मठ, असल अभिभावक गुमेको बताए ।
 
भरतपुर–७ कृष्णपुरस्थित बुद्धचोकमा उनको घरमा पुग्दा चितवनका शिक्षासेवी तथा साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको थियो । कोही भन्दै थिए कर्मठ, कोही भन्दै थिए असल र कोही उनको नाम लिएर सबैका गुरु आज हाम्रा सामु रहेनन् भनेर दुःख मनाउ गरिरहेका थिए ।
 
कँडेलको मृत्युको खबरपछि चितवनका शिक्षा जगतमा सन्नाटा नै छाएको थियो । अधिकांशले उनको योगदान सम्झेर उनले देखाएको बाटोमा हिँड्ने प्रतिबद्धता गरेका थिए । उनले पढाएका विद्यार्थीहरु उच्च तहमा पुगेका छन् । भर्खर देशको प्रधानमन्त्री भएका पुष्पकमल दाहाललाई उनले शिवनगरको नारायणी विद्या मन्दिरमा पढाएका हुन् ।
 
‘उनले शिक्षा दिएका धेरै मान्छेहरु अहिले राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा ठूला मान्छे बनेर काम गरिरहेका छन्, स्व। राजकृष्ण कँडेलको सहकर्मी भुवनप्रसाद पौडेलले भने ‘उनको शिक्षादीक्षा पाएर ठूलो मान्छे बनका मध्ये एक जना प्रधानमन्त्री प्रचण्ड पनि हुन् ।’
 
प्रधानमन्त्री पुष्पकमल दाहालको नाम राख्ने व्यक्ति पनि राजकृष्ण कँडेल नै हुन् । प्रचण्डले २०२७ सालमा नारायणी विद्या मन्दिर शिवनगरबाट एसएलसी दिँदा कँडेल त्यस स्कुलका प्रधानाध्यापक थिए । नारायणी विद्या मन्दिर उच्च माविमा २०२६ असोज १२ गतेदेखि २०३९ सालसम्म अध्यापन गराउँदा प्रचण्डलाई अध्यापन गराएका थिए । एमए, बिएडसम्मको अध्ययन गरेका कँडेलले ४२ वर्ष शिक्षण पेसामा खर्चेका थिए ।
 
२००२ साल असोज ७ गते धादिङको रिचोटटारमा जन्मेका कँडेल पछिल्लो समय भरतपुर उपमहानगरपालिका ७ मा बस्दै आएका थिए । बबा पुष्पराज कँडेल र आमा नन्दकुमारी कँडेलको माइलो सन्तानको रुपमा राजकृष्ण कँडेलले जन्म लिएका हुन् । चार दाजुभाइ रहेको कँडेलको एक श्रीमती र दुई छोरा छन् ।
 
विसं २०२५ सालमा अभिभावकसँगै चितवन शिवनगर आएका कँडेल त्यहाँस्थित नारायणी विद्या मन्दिर शिवनगरमा २०२५ सालबाटै पढाउन सुरु गरेका हुन् । उनले प्राचार्यको रुपमा विसं २०३९ सालसम्म त्यस स्कुलमा पढाएका कँडेलले त्यसपछि २०५६ सालसम्म प्रेमबस्ती उच्च माविमा अध्यापन गरेका थिए । उनी यही स्कुलबाट प्रधानाध्यापक रहँदा सेवा निवृत्त भएका हुन् ।
 
विसं २०५६ सालबाट २०६७ सालसम्म बालकुमारी कलेज नारायणगढमा अध्यापन गराएका कँडेल पछिल्लो समय नेपाली साहित्यमा सक्रिय थिए ।डेढ वर्षदेखि मृगौलामा समस्या आएपछि उनी शारीरिक रुपमा केही गलेका थिए । मृगौला डायलोसिस गर्ने क्रममा बिहीबार बिहान ४ बजेको समयमा पुरानो मेडिकल कलेज भरतपुरमा अचानक थप समस्या देखिएपछि उनलाई तत्कालै आईसीयूमा लगिएको थियो । आईसीयूमा लगिएको केही समयपछि नियोनियाका कारण कँडेलको मृत्यु भएको घोषणा चिकित्सकले गरेका थिए ।
 
कँडेल भ्रष्टाचारविरुद्ध अभियान, नेपाल रेडक्रस सोसाइटीलगायत संस्थामा आवद्व थिए । पछिल्लो समयमा कँडेल चितवन साहित्य परिषद्को अध्यक्ष थिए कँडेलको, ‘द्रौपदीको पश्चाताप’ खण्डकाव्य र ‘समवेदनाका स्वरहरु’ निबन्धसङ्ग्रह प्रकाशित भएका छन् । ‘उहाँ धेरै मिजासिलो र खरो स्वभावको हुनुहुन्थ्यो, साहित्यकार बालकृष्ण थपलियाले भने, ‘आँखामा राख्दा नबिझाउने हुनुहुथ्यो ।’ साहित्य परिषद्ले विज्ञप्ति निकालेर अध्यक्ष कँडेलको निधनप्रति दुःख प्रकट गरेको छ ।