मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

लेकमा यार्सागुम्बा संकलन गरिँदै

लेकमा यार्सागुम्बा संकलन गरिँदै


पुपाल लेक (रुकुम) । रोल्पा उवा गाविस–३ का १७ वर्षीय रवीन्द्र रोका रु तीन हजार तिरेर यार्सागुम्बा सङ्कलन गर्ने अनुमति लिएर पुपाल लेक पुगे । यार्सा खोज्न खुला गरेको पहिलो दिन उनले चार वटा भेट्टाए । करिब एक महिनासम्म यार्सा सङ्कलन गर्ने उनले योजना बनाएका छन् ।  

 
पाँच वर्षपछि रोका यार्सा संकलन गर्न आएका उनीसँगै बागलुङका दिलबहादुर पुन र भीमबहादुर पुन पनि पुपाल लेकमा यार्सा सङ्कलन गर्दै छन् । ‘पहिला ५०/६० वटा यार्सा एकै दिनमा टिपिन्थ्यो, अहिले त दिनमा तीन/चार वटा पनि मुश्किलले भेट्टिन्छ,’ उनले भने । 
 
पुपाल लेकमा अहिले यार्सा सङ्कलन गर्न रुकुम तथा बाहिरी जिल्लाका नागरिक आएका छन् । पूर्वको इटहरीदेखि तराईको रौतहटसम्मका सङ्कलक यार्सा सङ्कलन गर्न यहाँ आएका यार्सा मौसम व्यवस्थापन समितिका कोषाध्यक्ष आइतमान पुन बताउँछन् । असार महिनाभरि नै पुपाल लेकमा ओहोरदोहोर चलिरहन्छ । 
 
गत वर्ष यहाँ करिब १८ हजार मानिस यार्सा सङ्कलन गर्न आएका थिए । यही जेठ १५ गतेबाट बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलन गर्न खुला गरेपछि रुकुमको उत्तर–पूर्वमा पर्ने पुपाल लेकमा अहिले चार हजार बढी सङ्कलक आइपुगेका छन् । 
 
कतिपय स्थानीयवासी स–परिवार ढोका थुनेरै यार्सा सङ्कलन गर्न यहाँ आइपुगेका छन् । पुपाल लेक समुद्र सतहबाट चार हजार ७०० मिटरको उचाइमा पर्छ । यार्सा अनुसन्धानकर्ता राजु क्षेत्रीका अनुसार च्याउ प्रजातिमा पर्ने यो बहुमूल्य जडीबुटी शक्तिवद्र्धक तथा औषधिका रुपमा प्रयोग हुने गर्छ । जेठ पहिलो सातादेखि असार मसान्तसम्म यार्सा खोज्ने समय हो । 
 
एउटा यार्साको मूल्य रु ५०० देखि रु एक हजारसम्म पर्छ । स्थानीयवासीको जीविकोपार्जनको मूल स्रोत भएकाले जिल्ला बाहिर गएकाहरुसमेत यो समयमा गाउँ आएर यार्सा सङ्कलन गर्न थालेका छन् । 
 
उपत्यकाजस्तै देखिने पुपाल लेकमा हिउँ भरिएको छ । फेदमा यार्सा सङ्कलकले टेन्ट र त्रिपाल गाडेका छन् । घोडा र खच्चडमार्फत यहाँ सङ्कलकले खाद्य सामग्री ढुवानी गर्दै आएका छन् । कतिपय महिला तथा बालबालिका डोकोभरि बन्दोबस्तीका सामान बोकेर आएका छन् । घोडा खच्चडसहित भारी बोकेर आएका सङ्कलक लावालस्करका साथ पुपाल लेक आउनेक्रम रोकिएको छैन । रासस