मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विस्थापित हुँदै अन्तरजातीय विवाहित जोडी

विस्थापित हुँदै अन्तरजातीय विवाहित जोडी


काठमाडौँ । जाजरकोट गर्खाकोट–३ का गणेश चमारले अन्तरजातीय विवाह गरेकै कारण गाउँबाट विस्तापित हुनुप¥यो ।
 
२०६७ सालमा सोही गाविसकी ज्योति शाहसँगको प्रेम सम्बन्धपछि अन्तरजातीय विवाह गरेका गणेशलाई ज्योतिका माइती पक्षले ज्यान लिनेसम्मको धम्की दिएपछि अहिले उहाँ जाजरकोटमा कोठा भाडा लिएर बस्दै आउनुभएको छ । 
 
समता फाउण्डेसनले राजधानीमा आयोजना गरेको ‘अन्तरजातीय विवाह र मानव अधिकार’ विषयक राष्ट्रिय जनसुनुवाइ कार्यक्रममा गणेशले भन्नुभयो, “मैले ज्योतिसँग विवाह गरेपछि गर्खाकोटका ठकुरीले गाउँमै जान दिएका छैनन् धेरै पीडा दिएका छन्, वैशाखमा गाउँमै गएर कक्षा १२ को परीक्षा दिनुपर्ने छ, त्यसको व्यवस्था मिलाइदिन विनम्र अनुरोध गर्दछु ।”
 
त्यसैगरी २०६८ सालमा अन्तरजातीय विवाह गरेका दैलेख तोली–२ का सन्तबहादुर दमाईलाई अहिले पनि ज्यान लिनेसम्मको धम्की आउने गरेको छ । 
 
दैलेख तोली गाविस–२ कै नन्दकला शाहीसँग प्रेम विवाह गरकै कारण सन्तबहादुरका बाबु सेते दमाईको नन्तकला शाहीका माइती पक्षले खुकुरी प्रहार गरी हत्या गरेका थिए । हत्यामा संलग्न नौमध्ये चार जना जेल चलान भएका छन् । 
 
“मैले अन्तरजातीय विवाह गरेकै कारण मेरो बाबुको खुकुरी प्रहार गरी हत्या गरियो, विवाहपछि लामो समय विस्तापित हुनुप¥यो, अहिले घरमै छु, तर अहिले पनि ममाथि धम्की आउने गर्छ, गाउँमा डर र त्रासका बीच बस्नुपरेको छ ।” 
 
गोरखाका जितबहादुर सुनारले गोरखाकै सुनिता गुरूङसँग अन्तरजातीय विवाह गर्दा सुनिताको माइती पक्षबाट कुटपिटको सामना गर्नुप¥यो । सुनारले २०६८ सालमा अन्तरजातीय विवाह गरेका थिए । 
 
यसरी अन्तरजातीय विवाह गरेकै कारण विस्थापितसँगै अनेकौँ पीडा भोग्ने गशेण, सन्तबहादुर र जितबहादुर प्रतिनिधि मात्र हुन् । उनीहरू जस्तै मोरङ, सुनसरी, बर्दिया र नुवाकोटलगायत जिल्लामा अन्तरजातीय विवाह गर्ने धेरै जोडीहरू विस्तापित हुनुपरेको छ । 
 
२०६८ माघ १६ गते आफूभन्दा माथिल्लो जातसँग प्रेम गरेकै कारण सप्तरी पन्सेरा–३ का शिवशङकर दासलाई विष खुवाएर हत्या गरिएको घटना सर्वविदितै छ । 
 
अझै दुःखको कुरा त जातीय भेदभाव तथा छुवाछूत भयो भनेर प्रहरी प्रशासनमा उजुरी दिँदासमेत उजुरी दर्ता हुँदैन । अन्तरजातीय विवाहपछि पीडकले प्रहरीमा दिएको उजुरीको आधारमा प्रहरीले घटनालाई तोडमोड गरेर पीडित दलित समुदायमाथि अन्याय गर्दे आएको अन्तरजातीय विवाहित जोडLको भनाइ छ । 
 
शिवशङ्कर दासका भाइ पशुपतिनाथले भन्नुभयो, “दाइलाई विष खुवाएर मारियो, न्याय पाउनु त कता हो कता, उल्टै दाइलाई मार्नेहरूले अहिले हामीलाई धम्की दिँदै आएका छन् ।”
 
यता राज्यले जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन, २०६८ लागू गरेपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । अहिले पनि ऐन कार्यान्वयन गर्ने निकायले नै ऐनबारे अनभिज्ञता प्रकट गर्दै आएका छन् । 
 
तत्कालीन सरकारले अन्तरजातीय विवाहित जोडीलाई प्रोत्साहन गर्न प्रत्येक जोडीलाई प्रोत्साहनस्वरूप रु एक लाख दिने घोषणा गरे पनि त्यसले निरन्तरता पाउन सकेको छैन् । 
 
जनसुनुवाइ कार्यक्रमको उद्घाटन गर्दै उपप्रधानमन्त्री र गरिबी निवारण तथा सहकारी मन्त्री चित्रबहादुर केसीले अन्तरजातीय विवाह विज्ञानसम्मत भए पनि समाजले पचाउन नसक्नु बिडम्बना हो, भन्नुभयो । समाजमा व्याप्त जातीय भेदभाव तथा छुवाछूत अन्त्य गर्न ऐन÷कानुनमात्रै बनाउनेभन्दा पनि कार्यान्वयनसँगै चेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ ।
 
सांसद टेकु नेपाली अन्तरजातीयय विवाह गर्ने जोडीमध्ये पनि अन्तरजातीय विवाह गर्ने महिलाले सबैभन्दा बढी पीडा खेप्नुपरेको छ, भन्नुहुन्छ । 
 
दलित आन्दोलनका अगुवा तथा समता फाउण्डेसनका अध्यक्ष पदम सुन्दासले ऐन आएपनि अन्तरजातीय विवाह गरेका कारण दर्जनौँ दलित घरपरिवार विस्तापित हुनुपरेको भन्दै गुनासो गर्नुभयो । रासस