मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भूकम्पपछि फरार मानव बेचबिखनका अभियुक्त अझै सम्पर्कमा आएनन्

भूकम्पपछि फरार मानव बेचबिखनका अभियुक्त अझै सम्पर्कमा आएनन्


चौतारा, २४ असोज । गत वैशाख १२ गतेको भूकम्पलगत्तै सिन्धुपाल्चोक कारागारबाट फरार कैदी अझै सम्पर्कमा आउन सकेका छैनन् ।
 
निर्माण गरी हस्तान्तरणसमेत नभएको पक्की कार्यालय भवन भत्केपछि विभिन्न अपराधमा सजाय भोगिरहेका सबै २१६ कैदी फरार रहेकामा विभिन्न जिल्लामा अहिलेसम्म ६१ जनामात्र सम्पर्कमा आएको र बाँकी १५५ जना अझै बेपत्ता रहेको कारागार प्रमुख शाखा अधिकृत ओमप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
 
फरार कैदीमध्ये मानव बेचबिखनमा सजाय भोगिरहेका आठ जना कैदीसमेत रहेका छन् । त्यसमध्ये बाँसखर्क गाविस–९ निवासी सुकुमान दोङसहितका छन् । दोङविरुद्ध छ जना चेली भारतमा बिक्री गरेको अभियोगमा तीनवटा मुद्दामा जिल्ला अदालतले २०६८ असोज १६ मा १६ वर्ष कैद र रु तीन लाख ७५ हजार जरिवानाको फैसला गरेको गरेको थियो ।
 
उनी चेलिबेटी बेचबिखनका प्रमुख नाइकेका रुपमा परिचित बजिरसिं तामाङका सहयोगी हुन् । बजिरसिंलाई २०६९ सालमा जिल्ला अदालतले १७० वर्ष कैद सजाय र रु ११ लाख क्षतिपूर्ति र जरिवाना तोकेको थियो । सिन्धुपाल्चोक कारागारबाट पनि चलखेल सुरु गरेपछि चितवन हुँदै सुनसरी कार्यालय सरुवा भएका उनको गत वर्ष जेलभित्रै मृत्यु भएको थियो ।
 
स्याउले गाविस–२ का अर्का फरार अभियुक्त सन्तोष कार्की २०६८ जेठ १६ गते १० वर्ष कैद र ५० हजार जरिवानाको सजाय पाई कैद सजाय भोगिरहेका थिए । उनले गाउँकै दुई जना चेलीलाई भारतमा लगी बिक्री गरेका थिए । त्यसैगरी हगाम–८ का भीमबहादुर तामाङले बैतडीका एक युवकलाई राम्रो काम लगाउने भन्दै खासामा लगेर रु एक लाखमा बिक्री गरेका थिए । 
–ः २२ ः–
 
उनको खासामै हत्या भएको थियो । अभियुक्त तामाङले २०७० माघ ८ देखि कैदी जीवन बिताइरहेका थिए । अदालतले उनलाई १० वर्ष कैद र ७० हजार जरिवाना तोकेको थियो ।
 
त्यसैगरी, १० वर्ष लामो कैद सजाय र रु ५० हजार जरिवानाको सजाय पाएका इचोक–६ का दीपक थापा क्षेत्री, १० वर्ष कैदकै सजाय पाएका लाक्पा तामाङ र मीनबहादुर खड्का तथा १५ वर्षको कैद सजाय र रु ८० हजार जरिवानाको सजाय पाएका नुवाकोट जिल्ला रिखापोखर–६ का रामकृष्ण नेपाली पनि फरार रहेका छन् । उनी काठमाडौँबाट स्थानान्तरण भइआएका थिए ।
 
उल्लिखित चार जना अभियुक्तले झन्डै आधा दर्जन चेलीलाई भारतमा लगी बिक्री गरेका थिए ।
 
त्यसैगरी, मानव बेचबिखनको अभियोग लागी काठमाडौँ जिल्लाबाट स्थानान्तरण भइआएकी कल्पना थापामगर, जनकन्या–८ सिन्धुलीकी तुलसा लुङ्गेली र बराम्ची–२ सिन्धुपाल्चोककी कविता घिमिरे समेत सम्पर्कमा नआएको प्रमुख सुवेदीले जानकारी दिनुभयो ।
 
विनाशकारी भूकम्पपछि तातोपानी नाका पहिरोले तहसनहस भई मानव बस्ती नै शून्य प्रायः हुँदा खासामा हुने बेचबिखनमा भने कमी आएको छ ।
 
बाह्रबिसेदेखि तातोपानीसम्मको विभिन्न भागमा ठूल्ठूला पहिरोले तातोपानी नाका पूरै बन्द भएको हुँदा अहिले खासा जाने काम पनि बन्द भएको माइती नेपालकी तातोपानी प्रतिनिधि पवित्रा घिमिरेले बताउनुभयो ।
 
भूकम्पको मौका छोपेर जिल्लाका विभिन्न चेलीलाई भारत, खाडी राष्ट्र तथा अफ्रिकी मुलुकमा लान भने दलाल सक्रिय रहेको पाइएको छ । यसरी लगेको चेलीलाई विभिन्न नाकाबाट प्रहरीले पक्राउ गरेको समाचार सञ्चारमाध्यमबाट बाहिर आइरहेका छन् ।
 
यता, चार दशकअघि सजाय तोकिएका बेचबिखनका दलालहरू अझै पक्राउमा परेका छैनन् । मानव बेचबिखनको अभियोगमा जिल्ला अदालतबाट सजाय सुनाइएका ३८ भन्दा बढी दलाललाई समात्न सकिएको छैन । 
 
अदालतबाट प्रहरीलाई दिइएको फरार अभियुक्तका सूचीमा रहेका ३८ जना मानव बेचबिखनका अभियुक्तलाई पहिचान गर्न नसकेपछि उनीहरू कानुनी फन्दाबाट उम्किन सफल भएका हुन् । 
 
प्रहरीको तथ्याङ्कअनुसार जिल्लाको पश्चिमी क्षेत्रको महाकांल गाविस ग्याल्थुमका एक युवकलाई मानव बेचबिखन तथा ओसारपसार अभियोगमा २०३० भदौमा जिल्ला अदालतले पाँच वर्ष सजाय तोकेको थियो । उनी अहिले कहाँ र कस्तो अवस्थामा छन् भन्ने प्रहरी अनभिज्ञ छ ।
 
खोजी गरे पनि धेरै अघिको घटनामा संलग्न भएका कतिपयले हुलिया परिवर्तन गरेको हुनसक्ने र कतिपय राजधानी तथा विदेश गएको हुनसक्ने प्रहरी नायब उपरीक्षक विश्व अधिकारीले बताउनुभयो ।
 
गत आवमा जिल्लामा दुई वटामात्र बेचबिखनको मुद्दा दर्ता भएको थियो । तीन वर्षयताका कुनै पनि बेचबिखनको मुद्दा बाँकी नरहेको जिल्ला अदालतबाट जानकारी प्राप्त भएको छ । रासस