मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

तराई मधेस, थारु समुदाय एवम् अन्य असन्तुष्ट पक्षलाई वार्तामा आउन तीन दलको पुनः आग्रह

तराई मधेस, थारु समुदाय एवम् अन्य असन्तुष्ट पक्षलाई वार्तामा आउन तीन दलको पुनः आग्रह


काठमाडौँ । तीन दलका शीर्ष नेताहरुले नयाँ संविधानको विषयलाई लिएर आन्दोलन गरिराखेका तराई मधेस, थारु समुदाय एवम् अन्य असन्तुष्ट पक्षलाई वार्तामा आउन पुनः आग्रह गर्नुभएको छ ।

उहाँहरुले सीमाङ्कनको विषय थपघट र हेरफेर हुनसक्ने भएको स्पष्ट पार्दै नयाँ संविधान घोषणा उत्सवमा भाग लिन पुनः आह्वान पनि गर्नुभएको छ ।

नेपाली काँग्रेस, नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी)का तर्फबाट प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित पत्रकार सम्मेलनमा नेकाका सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, एमालेका अध्यक्ष केपी शर्मा ओली र एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले एकै स्वरमा तराई—मधेस, थारु समुदायबाट उठाइएका मागलाई सम्बोधन भैसकेको जानकारी दिनुभयो ।

नयाँ संविधान अपरिवर्तनीय एवम् असंशोधनीय नभएको शीर्ष नेताहरुले स्पष्ट पार्दै उहाँहरुले इतिहासको एक पटक आउने नयाँ संविधान जारी हुने सर्वाधिक महत्वको अवसरमा खुशीयालीको महा उत्सवमा सहभागी हुन आग्रह गर्नुभएको हो ।

संविधानसभाको भदौ ३० गते बसेको बैठकले नेपालको संविधान २०७२ को विधेयकलाई अत्यधिक बहुमतले पारित गरेको थियो भने हिजो शुक्रबार सवै सभासद्ले हस्ताक्षर गरी सभाध्यक्षले प्रमाणीकरण गरिसक्नुभएको छ । भोली आइतवार राष्ट्रपति डा रामवरण यादवले संविधान घोषणा गर्ने कार्यक्रम रहेकोे छ ।

लामो सङघर्षबाट प्राप्त उपलब्धिलाई संविधानले समेटेको छ : प्रधानमन्त्री 
प्रधानमन्त्री कोइरालाले लामो सङघर्षबाट प्राप्त उपलब्धिलाई नयाँ संविधानले समेटेको पत्रकार सम्मेलनमा वताउनुभयो । उहाँले नयाँ संविधानमा दलित, जनजाती, महिला सबैका अधिकार सुनिश्चित गरेको चर्चा गर्दै नयाँ संविधानले राजनीतिक स्थायित्व प्रदान गर्दै आर्थिक विकासको ढोका खोल्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री कोइरालाले संविधान प्रमाणीकरण भई जारी हुन लागेको यस सुखद् उपलक्ष्यमा सवैलाई उत्सव समारोहमा एकढिक्का भई भाग लिन आम नागरिकलाई आह्वान गर्नुभयो ।

संविधान अपरिवर्तनीय र असंशोधनीय नहुने स्पष्ट पार्दै प्रधानमन्त्री कोइरालाले भन्नुभयो “तराई मधेस एवम् थारु समुदायबाट उठेका मागलाई वार्ताका माध्यमबाट समाधान गर्न सकिन्छ, म वार्तामा आउन उहाँहरुलाई पुनः आग्रह गर्दछु ।”

सञ्चारकर्मीको एक जिज्ञासामा उहाँले तराई मधेसमा सेना परिचालन भएको छैन, हुँदैन पनि । अहिले तराई मधेसको जनजीवन सामान्य हुँदै गएको छ भन्नुभयो । प्रधानमन्त्री कोइरालाले देशलाई शान्ति, विकास र समृद्धि आवश्यक छ , यो काम संविधानबाट पुरा हुने विश्वास व्यक्त गर्नुभयो । 

लोकतान्त्रिक विधि र प्रक्रियाद्वारा नै नयाँ संविधान बनेको छ : ओली 
नेकपा (एमाले) का अध्यक्ष ओलीले पत्रकार सम्मेलनमा लोकतान्त्रिक विधि र प्रक्रिया मार्फत नै नयाँ संविधान बनेको हुँदा ४ प्रतिशतले ९५ प्रतिशतलाई खोचे थाप्न पार्इँदैन भन्नुभयो । उहाँले भन्नुभयो, “यो संविधानमा असहमति र असन्तुष्टि राख्ने कुरै छैन, अनि मेरो कुरा परेन भनेर चित्त दुःखाउनु पर्दैन ।”

विगतका सवै आन्दोलनमा उठेका गणतन्त्र, सङ्घीयता, समानुपातिक, समावेशीता जस्ता सवै मागलाई संविधानले समेटेको छ, यस्तो प्रगतिशील संविधान बन्दा पनि किन मन कुँडाउनु प¥यो ? भन्ने प्रश्न अध्यक्ष ओलीले गर्नुभयो ।

उहाँले आवश्यकता अनुसार सहमति र सहकार्यमा संविधान परिवर्तन हुँदै जाने चर्चा गर्दै प्रदेशको सङ्ख्या र सीमा घट्ने र बढ्ने भइरहन्छन् भन्नुभयो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतका रुपमा नेपाल भ्रमण गर्नुभएका विदेशसचिव एस जयसङकरले के भन्नुभयो त ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष ओलीले भन्नुभयो “लोकतान्त्रिक विधि र प्रक्रिया मार्फत नेपालमा नयाँ संविधान घोषणा हुन लागेकोमा भारतले खुशी व्यक्त गरेको सन्देश थियो । ”

संविधानले गणतन्त्रदेखि सङ्घीयतासम्म संस्थागत गरेको छ : अध्यक्ष दाहाल 
पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले नयाँ संविधानमा तराई मधेस एवम् थारु समुदायबाट उठाइएको मागलाई सम्बोधन गरेको हुँदा संविधान जारी हुने उत्सवमा भाग लिन पुनः आग्रह गर्नुभएको छ । उहाँले ती समुदायबाट उठाइएका नागरिकता, जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण, सामाजिक न्यायको हक अन्तर्गत समानुपातिक र समावेशी सिद्धान्तलाई संविधानमा समेटिएको वताउनुभयो ।

अध्यक्ष दाहालले संविधान जारी गर्ने उत्सव पटक पटक नआउने भन्दै प्रदेशको सीमाङ्कनको विषयलाई लिएर आन्दोलन गरिरहनु पर्दैन, यसलाई वार्ता र सम्वादबाट हल गर्न सकिन्छ भन्नुभयो । “नयाँ संविधानले गणतन्त्रदेखि सङ्घीयतासम्म संस्थागत गरेको छ, धेरै चित्त दुखाईरहनु पर्दैन” उहाँले भन्नुभयो । सञ्चारकर्मीको एक जिज्ञासामा अध्यक्ष दाहालले भन्नुभयो, “मलाई विश्वास छ अव तराई—मधेसवादी दलहरु आन्दोलन छाडी नयाँ संविधानको खुशीयालीमा सहभागी हुनुहुनेछ । ”

अध्यक्ष दाहालले प्रदेशको सीमाङकनलाई आयोगले दिने सुझावका आधारमा गरिने हुँदा तराई मधेसका जनताले यो संविधानलाई अपनत्व प्रदान गर्नेछन भन्नुभयो ।

पत्रकार सम्मेलनमा नेकाका महामन्त्री कृष्ण सिटौला, एमालेका नेता माधव नेपाल उपाध्यक्षद्वय विद्या भण्डारी र भीम रावल तथा एनेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठको सहभागीता रहेको थियो । शीर्ष नेताहरुले पत्रकार सम्मेलनमा सम्बोधन गरिरहँदा उहाँँहरुका अनुहारमा चमक एवम् हर्ष प्रतिविम्वित थियो । रासस