चितवन । पूर्वी चितवनको रत्ननगर–१८ मालपुरमा रहेको मुसहरबस्तीकी सरिता मुसहरको गत वर्ष १५ वर्षको कलिलैमा विवाह भयो । बस्तीकै शिव मुसहरसँग उनले प्रेम विवाह गरिन् । २०७१ साल मंसिरमा आफू खुसी बिहे गरेकी सरिता अहिले गर्भवती छन् । बस्तीमा पुग्दा सरिता र शिव त्यहीँ भेटिए । सानै उमेरमा भएको विवाहले पार्ने असरबार उनीहरुलाई ज्ञान रहेनछ । कलिलै उमेरमा बच्चा जन्माउँदा आमा र बच्चालाई पर्ने असरका बारेमा उनीहरुलाई पत्तो छैन ।
‘एकअर्कालाई मन पराएर विवाह ग¥यौँ’ शिवले भने, ‘अरु हामीलाई केही जानकारी छैन ।’ ३० वर्षदेखि बछौलीको मालपुरमा बस्दै आएका मुसहर बस्तीमा चेतनाको कमीले प्रजनन् स्वास्थ्यबारे जानकारी छैन । प्रजनन् स्वास्थ्यका बारेमा जानकारी दिन बस्तीकै एउटी महिलालाई स्वास्थ्य स्यमंसेविकाको रुपमा परिचालन गरिएको भए पनि किशोरकिशोरीले त्यति ध्यान दिँदैनन् । सरिताजस्ता बस्तीका धेरैजसो किशोरीहरु कलिलै उमेरमा आमा बनिसकेका छन् ।
बस्तीकी संगीता मुसहरको पनि १५ वर्षमै विवाह भएको हो । उनले नवलपरासीको मुसहरबस्तीका युवकसँग विवाह गरिन् । उनी पनि अहिले गर्भवती छिन् । आर्थिक अभावका कारण पोसिलो खानेकुरा खान नसक्ने मुसहर किशोरीहरु गर्भवती हुँदा पनि दालभातमै चित्त बुझाउनुपर्छ । एकातिर कलिलै उमेरमा गर्भवती र अर्कोतिर पौष्टिक आहारको कमीले उनीहरु जोखिममा छन् ।
बस्तीकी गौरी मुसहर र कलिसा मुसहरको पनि १६ वर्षको उमेरमा यसै वर्ष विवाह भयो । कलिलै उमेरमा बच्चा जन्माउँदा हुने असर र परिवार नियोजनका अस्थायी साधनको प्रयोगबारे अनभिज्ञ भएकाले बस्तीमा गर्भवती मुसहर किशोरीको संख्या बढ्दै गएको छ । बस्तीका अधिकांश किशोरकिशोरी आफू खुसी भागेर विवाह गरेका छन् । ‘प्रजनन् स्वास्थ्यका बारेमा बुझ्न कसैले ध्यान दिँदैनन्’ महिला स्वास्थ्य स्यमंसेविका तथा सचेतना केन्द्रकी संयोजक भगन्तीया मुसहरले भनिन् ‘भागेर विवाह गर्छन्, अनि सानै उमेरमा गर्भवती हुन्छन् ।’
सरकारले ‘बिहेवारी २० वर्ष पारी’ भन्ने नारासहित अभियान नै चलाएको छ । तर यो कुरा मुसहर किशोरीहरुलाई जानकारी छैन । किशोरीहरुमा प्रजनन् क्षमताको विकास नभई गर्भवती हुनुहुँदैन भनेर सिकाउँदा पनि सचेत हुँदैनन् । भगन्तीया भन्छिन्, ‘यसलाई सुधार गर्न अझै समय लाग्छ ।’ बस्तीका धेरै किशोरीहरु कलिलै उमेरमा आमा बनिसकेको उनले बताइन् । यो अवस्थाको अन्त्य गर्न बछौली स्वास्थ्य चौकी र सेवा केन्द्रको सहयोगमा कार्यक्रम सञ्चालन गरिँदै आएको छ ।
उनले बस्तीका गर्भवती किशोरीहरुलाई हेल्थपोष्ट लगेर जँचाउने, खोप लगाउने र आइरन चक्की खुवाउने काम आफूले गर्दै आएको बताइन् । सीमान्तकृत यो जाति आर्थिक तथा सामाजिक हिसावले धेरै पछाडि छ । ३० वर्षअघिसम्म खोलाको किनारमा बसेर माछा मारेर जीवन चलाउँदै आएका मुसहर समुदायको जीवनशैलीमा खासै परिवर्तन आउन सकेको छैन ।
आर्थिक र शिक्षाको कमीले कलिलै उमेरमा आमा हुनेको संख्या घट्नुभन्दा झन बढ्दो छ । रत्ननगर नगरपालिकाका सामुदायिक विकास शाखा प्रमुख तेजेन्द्रनाथ लामिछानेले मुसहर समुदायमा चेतनाको स्तर केही बढेको भए पनि सामाजिक विकासको अवस्था भने उस्तै रहेको बताए । बछौलीको मालपुर, रत्ननगरको गठौली र कठारमा मुसहरहरुको बसोबास रहेको छ ।
प्रतिक्रिया