काठमाडौ । “भूकम्पको नाम नलिउँ भनेको फेरि नलिई सुःख पाइएन, तिमीहरूमध्ये कसैको भूकम्पका कारण पाठ्यपुस्तक पुरिएको वा अझै किन्न नपाएको छ भने जानकारी गराउनु, हामी केही व्यवस्था गर्छांै ।”
भक्तपुरको सूर्यविनायकस्थित तारा माध्यमिक विद्यालयका प्रधानाध्यापक पुष्पलाल सुजखुले आफ्ना विद्यार्थीलाई बिहानी प्रार्थना गराइसकेपछि गरेको आग्रह थियो यो । विनाशकारी भूकम्पपछि बिदामा रहेका प्रभावित जिल्लाका विद्यालय यही जेठ १७ गतेदेखि सञ्चालनमा आए पनि एक साता पढाइ भएको थिएन । विद्यार्थीको ध्यान पढाइमा केन्द्रित गर्न प्रअ सुजखुले त्यस्तो आग्रह गर्नुभएको थियो ।
उहाँले भूकम्पको डर कसले हटाउन सक्छ भनेर विद्यार्थीलाई प्रश्न गर्दा विद्यार्थी एकछिन नाजवाफ भए । पछि सरले नै उत्तर दिँदै भन्नुभयो, “वास्तवमा त्यो डर शिक्षक, अभिभावक वा अरू कसैले हटाउने होइन, तिमीहरू आफँैले हो, अब भूकम्पलाई सम्झन छाडी देऊ, डर पनि जान्छ ।”
करिब ३०० विद्यार्थी रहेको सो विद्यालयमा अझै सबै विद्यार्थी आइसकेका छैनन् । सम्भवतः यस विद्यालयका केही विद्यार्थी अन्यत्र स्थानान्तरण पनि भएका हुन सक्छन् । त्यसो त, भूकम्प प्रभावित अन्य जिल्ला काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र रामेछापका केही विद्यार्थी यहाँ भर्नाका लागि आएका छन् ।
भूकम्पका कारण करिब एक महिना विद्यालय बन्द भएका थिए । विद्यालय सञ्चालनमा आउन थालेपछि जनजीवन पनि क्रमशः सामान्यीकरण हुन थालेको छ । विश्वविद्यालयका पढाइ पनि सञ्चालनमा आएका छन् । पहिलो साता मनोसामाजिक परामर्शमै बितेको थियो । बिदाको अवधिको शुल्क मिनाहाका लागि विद्यार्थी सङ्गठनले माग गरे पनि निजी विद्यालयले शिक्षकको तलब र घरभाडा तिर्नुपर्ने भएकाले त्यसलाई स्वीकार गरेका छैनन् ।
शिक्षा मन्त्रालयको मातहतको शैक्षिक जनशक्ति विकास केन्द्रले भूकम्प प्रभावित जिल्लामा पठनपाठन सञ्चालन गर्नुअघि मनोसामाजिक परामर्श दिनेसम्बन्धी शिक्षक–पठन सामग्री तयार गरी प्रशिक्षण दिएको थियो ।
निर्देशक खगराज बरालले विपद्पछि विद्यालय सञ्चालन भएको दुई सातासम्मका लागि गरिने शैक्षिक क्रियाकलापको सामग्री तयार गरी १४ जिल्लामा पठाइएको र अन्य जिल्लाबाट पनि माग भएको बताउनुभयो । शिक्षा विभागले यसअघि नेपाल शिक्षक महासङ्घ र अन्य संस्थासँग सहकार्य गरी एक हजार १२० शिक्षकलाई अभिमुखीकरण दिइसकेको छ ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन) का अध्यक्ष कर्णबहादुर शाहीले विद्यार्थीलाई अब विस्तारै पाठ्यपुस्तकमा प्रवेश गराउन थालिएको बताउनुभयो । केही विद्यार्थी डर र त्रासले अझै विद्यालय आइनसकेको उहाँले बताउनुभयो । केही सञ्चारमाध्यम (टेलिभिजन)ले ध्वस्त नै भयो भन्ने प्रकारको सन्देश दिएकाले पनि विद्यार्थीमा नकारात्मक असर परेको हुन सक्ने उहाँ बताउनुहुन्छ । कतिपय विद्यार्थी चाहिँ काठमाडौँ उपत्यकाबाट अन्य जिल्ला गएको हुन सक्ने अनुमान गरिएको छ ।
उनन्चास जिल्लामा गरी छ हजार ९०२ विद्यालय र १६ हजार ४७५ कक्षाकोठा भूकम्पबाट पूर्णतः प्रभावित भएका छन् भने ३८० विद्यार्थी र ६४ शिक्षकको निधन भएको छ । विद्यालय पुनः सञ्चालनका लागि क्षति पुगेको विद्यालयमा टहरा बनाई कक्षाकोठा निर्माण, शौचालय, खानेपानीलगायतको व्यवस्थापन गरी सहज वातावरण तयार गर्न सरकारले न्यूनतम रु ७५ हजारदेखि रु तीन लाखसम्म रकम निकासा दिने निर्णय गरे पनि सो रकम सबै विद्यालयमा नपुगेको पाइएको छ ।
नागरिक अनुगमन
‘विपद्मा शिक्षा : सहयोग तथा अनुगमन मञ्च’ले भूकम्पपछि शिक्षा क्षेत्रमा सहयोग र समन्वयका लागि टोली पठाएको छ । प्रारम्भिक चरणमा मञ्चले भूकम्पपछि विद्यालय खुलेको पहिलो दिनमा भक्तपुर, दोलखा, नुवाकोट र सिन्धुपाल्चोकका पाँच विद्यालयको प्रारम्भिक अनुगमन गरेको थियो । अनुगमनबाट जिल्लास्तरमा राहत तथा पुनःस्थापनामा सङ्घसंस्थाबीच समन्वय अभाव तथा सहयोगमा दोहोरोपना देखिएको शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका अध्यक्ष राजकुमार गन्धर्वले बताउनुभयो ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सञ्जाल, शिक्षा कार्य समूहलगायतका संस्थाले गठन गरेको मञ्चले भूकम्पबाट प्रभावित शिक्षा क्षेत्रमा सरकारी, दातृ निकाय र संस्थाले गरिरहेका र गर्नुपर्ने काममा दोहोरोपना र कमजोरी नहोस् भन्नका लागि समुदायस्तरमा परिचालन भई अनुगमन र समन्वय गर्ने भएको छ । रासस
प्रतिक्रिया