नेपाल

पोखरामा स्कुल बस दुर्घटना : पाँच जनाको मृत्यु, १४ जना घाइते

पोखरामा स्कुल बस दुर्घटना : पाँच जनाको मृत्यु, १४ जना घाइते


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font

कास्की । कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक वृद्धसहित पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा १४ जना घाइते भएका छन् ।

पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भीरमा कालिका इङ्ग्लिस बोर्डिङ स्कुलको ग.२ ख १४१७ नम्बरको बस शुक्रबार बिहान सडकबाट करिब २०० मिटर तल खसेको हो ।

Advertisement

दुर्घटनापछि बसमा सवार १९ जनाकै उद्धार गरी अस्पताल पठाइएको थियो । उपचारका क्रममा चार बालबालिका र ६५ वर्षीय बाबुराम तिवारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुने विद्यार्थीमध्ये १३ वर्षीया ममता तिवारी र १३ वर्षीय अशिम कँडेलको पहिचान खुलेको छ। अन्य दुई बालिकाको नाम र ठेगाना खुल्न बाँकी छ । तिवारी पोखरा–२८ का बासिन्दा हुन् र उपचारका लागि जान बसमा लिफ्ट मागेर चढेको जनाइएको छ ।

दुर्घटनामा घाइते भएकामध्ये तीन जनाको गण्डकी मेडिकल कलेजमा र ११ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत गण्डकी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये एक विद्यार्थीको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा १३ देखि १६ वर्ष उमेर समूहका विद्यार्थी र बस चालक ५७ वर्षीय तुलबहादुर गुरूङ छन् । उनी पोखरा महानगरपालिका–१५ का बासिन्दा हुन् ।

दुर्घटनामा घाइतेको उद्धार गर्ने क्रममा इलाका प्रहरी कार्यालय शिशुवामा कार्यरत प्रहरी जवान अर्जुन शाही पनि सामान्य घाइते भएका छन् । उनको गण्डकी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।