कोलोराडो, अमेरिका । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा कोलोराडोमा विशेष सामूहिक तीज पूजा आयोजना हुने भएको छ । नेपाली घर तथा दिदीबहिनी समूह (Sisters Group Colorado) को संयुक्त आयोजनामा हुने उक्त कार्यक्रम सोमबार, सेप्टेम्बर १४ का दिन दुई समूहमा सञ्चालन हुनेछ ।
हरितालिका तीज नेपाली हिन्दू महिलाहरूको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व हो । भगवान् शिव र माता पार्वतीको श्रद्धा, भक्ति र समर्पणसँग जोडिएको यस पर्वमा महिलाहरूले आफ्नो परिवारको सुख, शान्ति, समृद्धि तथा दाम्पत्य जीवनको मंगलमय कामनासहित व्रत तथा पूजा गर्ने परम्परा रहि आएको छ । पछिल्लो समय तीज धार्मिक आस्थासँगै महिलाहरुबीचको भेटघाट, आत्मीयता, पारिवारिक सम्बन्ध, सामाजिक एकता र सांस्कृतिक अभिव्यक्तिको पर्वका रूपमा समेत विकसित हुँदै आएको छ ।
प्रवासमा आफ्नो धर्म, संस्कृति, परम्परा, मूल्य–मान्यता र मौलिक नेपाली पहिचानलाई संरक्षण तथा नयाँ पुस्तामाझ हस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको दिदीबहिनी समूहका अध्यक्ष शान्ति भूषालले बताएकी छन् ।
विशेषगरी विदेशमा बसोबास गर्ने नेपाली समुदायका लागि यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमले आफ्नो मौलिक पहिचानलाई जीवन्त राख्न महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछ। नयाँ पुस्ताका बालबालिका तथा युवाहरूलाई नेपाली चाडपर्व, धार्मिक संस्कार र परम्पराबारे परिचित गराउँदै ‘जहाँ रहे पनि आफ्नो जरा र संस्कृति सँग जोडिइरहने’ वातावरण निर्माण गर्नु कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष रहेको नेपाली घरका अध्यक्ष गंगा चौलागाईं बताउँछन् ।
व्रतालु दिदीबहिनी तथा आमाहरूलाई समय अनुकूल सहभागी हुन सहज होस् भन्ने उद्देश्यले तीज पूजा दुई समूहमा सञ्चालन गरिने भएको छ । पहिलो समूहको पूजा बिहान ९ः०० बजेदेखि सुरू हुनेछ, जसको धार्मिक विधिअनुसारको पूजा गुरु चिरञ्जीवी पौडेलबाट सञ्चालन हुनेछ । त्यसैगरी दोस्रो समूहको पूजा दिउँसो ३ः०० बजेदेखि सञ्चालन हुनेछ । उक्त समूहको पूजा धार्मिक विधिअनुसार गुरू जीवन बरालबाट सञ्चालन हुनेछ ।
दुई समूहमा पूजा सञ्चालन गर्ने व्यवस्थाले काम तथा अन्य पारिवारिक व्यस्तताका कारण एउटै समयमा उपस्थित हुन नसक्ने व्रतालु दिदीबहिनी, आमाहरूलाई समेत सहभागी हुने अवसर मिल्ने र तथा व्यवस्थित तरिकाबाट पुजा संचालन गर्न सहज हुने अध्यक्ष भूषालले बताएकी छन् ।
नेपाली घर तथा दिदीबहिनी समूहको संयुक्त आयोजनामा हुन लागेको यस कार्यक्रमलाई केवल पूजा–आराधनाको कार्यक्रमका रूपमा मात्र नभई नेपाली संस्कृति, धार्मिक आस्था र सामाजिक सद्भावलाई प्रवासमा पुस्तान्तरण गर्ने साझा अभियानका रूपमा हेरिएको छ ।
तीजका अवसरमा दिदीबहिनीहरू एकै ठाउँमा भेला भएर पूजा–आराधना गर्नुका साथै आफ्ना अनुभव, सुख–दुःख र भावनाहरू साटासाट गर्ने परम्परा पनि नेपाली समाजमा लामो समयदेखि रहिआएको छ। यस्ता भेटघाटले प्रवासमा रहेका नेपाली परिवारबीच आत्मीयता र सामाजिक सम्बन्ध अझ बलियो बनाउन सहयोग पुर्याउने विश्वास गरिएको छ ।
आयोजक संस्थाहरूले सम्पूर्ण व्रतालु दिदीबहिनी, आमाहरू तथा नेपालीभाषी समुदायका इच्छुक सदस्यहरूलाई आफूलाई सहज हुने समुहमा उपस्थित भई तीज पूजा तथा धार्मिक कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गरेको छ । यसबारे थप जानाकारी चाहिएमा नेपाली घर तथा दिदीबहिनी समूहका पदाधिकारीहरूसँग सम्पर्क गरी जानाकारी लिन सकिने पनि बताइएको छ । पूजाको लागि आवश्यक पर्ने शौभाग्यका सामग्रीहरू कार्यक्रम स्थलमा नै खरिद गर्न पाइने व्यवस्था गरिने र खर्च कटाएर बाँकी रहेको रकम नेपाली घरको खातामा जम्मा गरिने अध्यक्ष भूषालले खुलाएकी छन् ।
‘धर्म र संस्कृतिले पुस्तालाई जोड्छ, परम्पराले पहिचान जोगाउँछ’ भन्ने मूल भावसहित प्रवासमा नेपाली मौलिकता र संस्कृतिको संरक्षणका लागि आयोजना हुन लागेको यस तीज पूजा कार्यक्रममा सबैको उत्साहजनक सहभागिता र सहयोगको लागि आयोजक संस्थाका पदाधिकारीहरूले आग्रह गरेका छन् ।













प्रतिक्रिया