काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’सँग भेट गरी भोटेकोशी बाढीप्रभावित क्षेत्रका बासिन्दाहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शनिबार भएको भेटवार्तामा नेता आङ्देम्बेले बाढीग्रस्त क्षेत्र नुवाकोटको ढुङ्गेबजार र देवीघाटलगायतका स्थानहरूको स्थलगत अनुगमन गरेर फर्किएपछि उद्धार र राहतका लागि सरकारसमक्ष नौ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा उद्धार तथा राहत कार्य गर्दा स्थलगत रूपमा देखिएका समस्याहरूको तत्काल समाधान गर्न र हवाई उद्धारलाई अझ बढी प्रभावकारी बनाउन माग गरिएको उनले बताए ।
नेपाली सेनाले हाल गरिरहेको उद्धार कार्य अत्यन्त सराहनीय रहेको उल्लेख गर्दै नेता आङ्देम्बेले रसुवा र नुवाकोटका लागि छुट्टाछुट्टै हेलिकप्टर उद्धार युनिट बनाएर परिचालन गर्न जोड दिए । बाढीका कारण अवरुद्ध सडक र पुलहरू तत्काल सञ्चालनमा ल्याएर रसुवा, नुवाकोट र धादिङका बन्द मार्गहरू सफा गरी आवागमन सहज बनाउन, तथा क्षतिग्रस्त १९ भन्दा बढी पुलहरूमध्ये तत्काल कम्तीमा ७ स्थानमा बेलीब्रिज जडान गर्न पनि उनले माग राखेका छन् ।
यसका साथै प्रभावित क्षेत्रमा छिटोभन्दा छिटो विद्युत् र सञ्चार सेवा सुचारु गर्नुपर्ने उनको जोड छ । सम्पर्कविहीन भएकाहरूको खोजी र शव व्यवस्थापनको कार्यलाई तीव्र पार्न आग्रह गर्दै उनले बाढीले बगाएर विभिन्न स्थानमा यत्रतत्र पुर्याएका शवहरूको खोजी, पहिचान र उचित व्यवस्थापनका लागि स्थलगत रूपमा विशेष खोज तथा उद्धार टोली परिचालन गर्नुपर्ने बताए ।
उद्धार गरिएका नागरिकहरूलाई सुरक्षित स्थानमा ल्याएपछि उनीहरूलाई आवश्यकताअनुसार काठमाडौँसम्म पुर्याउनका लागि उचित यातायातको व्यवस्था गरिनुपर्ने पनि ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
घाइते तथा ज्येष्ठ नागरिकहरूको उपचारमा विशेष ध्यान दिँदै नुवाकोट जिल्ला आयुर्वेद केन्द्रमा आश्रित घाइतेहरूका लागि आवश्यक अक्सिजन, औषधि र स्वास्थ्यकर्मीको व्यवस्था गर्न तथा ज्येष्ठ नागरिकका लागि पर्याप्त शय्या उपलब्ध गराउन उनले आग्रह गरेका छन् ।
उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सङ्घीय सरकारले स्थानीय तहहरूसँग आवश्यक समन्वय र सहकार्य बढाउनुपर्ने तथा राहत वितरणमा सहयोग गर्न चाहने विभिन्न सामाजिक सङ्घसंस्थालाई समेत राज्यले उचित सहजीकरण गर्नुपर्ने उनको भनाइ छ ।
त्रिशूलसहित अन्य नदी तथा खहरे क्षेत्रहरूमा आवतजावतका लागि तुइनको शीघ्र व्यवस्था गर्न पनि प्रमुख प्रतिपक्षी दलका नेताले सरकारको ध्यानाकर्षण गराएका छन् । विपद्को यो कठिन घडीमा नागरिकको जीवन रक्षालाई सरकारले सर्वोच्च प्राथमिकतामा राखेर उद्धार, राहत र पुनःस्थापनाको कामलाई तीव्र बनाउनुपर्ने माग गर्दै यस कार्यमा सरकारलाई पूर्ण सहयोग र सहकार्य गर्न नेपाली कांग्रेस सधैँ तयार रहेको नेता आङ्देम्बेको सचिवालयले जनाएको छ ।












प्रतिक्रिया