काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको सेफ तोडफोड गरी त्यसमा रहेको नगद निकालेर लगेको आरोपमा धादिङ प्रहरीले २९ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले बगाएर ल्याएको सेफ गल्छी गाउँपालिका(४ बेल्खुखोलास्थित त्रिशूली नदी किनारमा फेला परेको थियो ।
स्थानीय व्यक्तिहरुले उक्त सेफ तोडफोड गरी सेफभित्र रहेको नगद आफूखुसी निकालेर लगेको भन्ने सूचना भदौ १२ गते प्रहरीलाई प्राप्त भएको थियो। सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थलमा परिचालन गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा २९ जनालाई नियन्त्रणमा लिएर खानतलासी गर्दा उनीहरुको साथबाट कुल ९२ लाख ६८ हजार ५ सय ५ रुपैयाँ नगद बरामद भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
प्रहरीका अनुसार बरामद नगदको स्रोत तथा घटनामा संलग्न हुन सक्ने अन्य सम्भावित व्यक्तिहरुको पहिचानका लागि अनुसन्धान भइरहेको छ। नियन्त्रणमा लिइएका व्यक्तिहरु र बरामद नगदबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरुको नामावली
प्रहरीका अनुसार पक्राउ पर्नेमा गल्छी गाउँपालिका–४ मासटारका २७ वर्षीय पवन पौडेल, ४१ वर्षीय वीरबहादुर राना मगर, ३५ वर्षीय विनोद गिरी, ३३ वर्षीय नवराज भेटुवाल, ४० वर्षीय पूर्णलाल श्रेष्ठ, ३१ वर्षीय विष्णुमणि अधिकारी, ३६ वर्षीय कृष्ण मगर, ४९ वर्षीय शिवबहादुर राना मगर र ४६ वर्षीय युवराज अधिकारी रहेका छन्।
त्यस्तै गल्छी–६ आदमघाटका ४७ वर्षीय सुशान्त श्रेष्ठ, गल्छी–४ मासटारका ४६ वर्षीय सुचिमबहादुर राना मगर, २४ वर्षीय सविन श्रेष्ठ, ४३ वर्षीय प्रेमबहादुर राना मगर, १९ वर्षीय अनिल भेटुवाल, ४९ वर्षीय रामशरण सुवेदी, ३८ वर्षीय मिनबहादुर राना मगर, ३२ वर्षीय देवेन्द्र राना मगर, ३१ वर्षीय दीपक तामाङ, ३६ वर्षीय राजकुमार भेटुवाल, २९ वर्षीय दिनेश अधिकारी, ३० वर्षीय दिनेश पुलामी, ३० वर्षीय टेकबहादुर राना मगर र ३२ वर्षीय सन्तोष श्रेष्ठ रहेका छन्।
गल्छी–८ सिमपानीका ३६ वर्षीय सानुभाई श्रेष्ठ, सिद्धलेक गाउँपालिका–७ आदमटारका ४९ वर्षीय सानु खतिवडा, चितवनको राप्ती नगरपालिका–६ घर भई हाल गजुरी गाउँपालिका–८ आदमघाट बस्ने २९ वर्षीय विचारी आले मगर, ३२ वर्षीय नारायण श्रेष्ठ, २० वर्षीय अग्नि आले मगर तथा पर्साको बहुदरीमाई नगरपालिका–९ घर भई हाल गजुरी गाउँपालिका–६ आदमघाट बस्ने २८ वर्षीय सकुर अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीले बरामद भएको ९२ लाख ६८ हजार ५ सय ५ रुपैयाँ नगदको स्रोत, सेफमा रहेको वास्तविक रकम र घटनामा अन्य व्यक्तिको संलग्नताबारे अनुसन्धान भइरहेको जनाएको छ।












प्रतिक्रिया