काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाएको संख्या ६२६ पुगेको छ । शनिबार बिहान १० बजेसम्म ६२६ शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
सबैभन्दा धेरै शव चितवनमा भेटिएको छ । रसुवामा १३, नुवाकोटमा ५१, धादिङमा ४५, गोरखामा ४८, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा १५८, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा ४७, तनहुँमा ३१ र चितवनमा २३३ (विभिन्न मानव अंगसहित) शव फेला परेको प्राधिकरणले जनाएको छ ।
उक्त बाढीपश्चात् अझै दुई हजार ४२६ जना सम्पर्कविहीन छन् । सम्पर्कविहीन हुनेमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, विभिन्न जलविद्युत् आयोजना, भन्सार कार्यालयका कर्मचारीलगायत छन् ।
सम्पर्कविहीन हुनेमा विदेशी नागरिक ५१७ जना छन् । नेपाल घुम्न आएका विदेशमा बस्ने नेपाली नागरिक १२७ जना पनि सम्पर्कविहीन रहेका प्राधिकरणले जनाएको छ ।
बाढीमा परी घाइते भएका १०१ जना विभिन्न अस्पतालमा उपचाररत छन् । खोज, उद्धार तथा राहत कार्य जारी रहेको प्राधिकरणले जनाएको छ ।
यही भदौ १० गते बिहान उक्त बाढी आएको थियो । बाढीबाट रसुवा, नुवाकोटलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ ।












प्रतिक्रिया