काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीमा परेका गरिकको खोज, उद्धार र राहतको कार्यमा राज्यका सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्री वालेन्द्र शाहलाई आग्रह गरेका छन् ।
राष्ट्रपति पौडेलले बुधबार साँझ टेलिफोन कुराकानीमा प्रधानमन्त्री शाहसँग भोटेकोसीमा आएको बाढीबाट भएको जनधनको क्षतिबारे जानकारी लिँदै उद्धारमा सबै संयन्त्र परिचालन गर्न आग्रह गरेका हुन् ।
पीडामा परेका जनताको उद्धार, राहत र खोज कार्यलाई तिव्रता दिन राज्यका सबै अंग परिचालनका लागि आग्रह गरेको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । रसुवाको भोटेकोसी नदीमा बुधबार बिहान बाढी भएको थियो ।
सो अवसरमा प्रधानमन्त्री शाहले रसुवामा आएको बाढीले पारेको जनधनको क्षतिबारे राष्ट्रपतिलाई जानकारी दिँदै सरकारले नागरिकको सहयोग, उद्धार र राहतका लागि राज्यका सबै सयन्त्र परिचालन गरी हरसम्भव सबै सहयोग जुटाउन कुनै कमी नगर्ने जानकारी दिएको पनि प्रेस सल्लाहकार पोखरेलले बताए ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा हुँदै बहने भोटेकोसी नदीमा आज बिहान अकस्मात आएको बाढीबाट भएको धनजनको क्षतिको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको बताएका थिए ।
उनले विपद्को यस घडीमा उद्धार र राहतको कामलाई तिव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था, सुरक्षासहित सम्पूर्ण निकाय र आम नागरिकलाई आह्वान गरेका थिए । साथै, तल्लो तटीय क्षेत्रका सर्वसाधारणलाई सर्तक रहँदै आवश्यक समन्वय एवम् सहयोगमा जुट्न पनि आग्रह गरेका थिए ।












प्रतिक्रिया