काठमाडौँ । लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण तथा मृत्यु हुनेको सङ्ख्या बढिरहेकाले यसको जोखिमप्रति सतर्क र सुरक्षित रहन परिवार कल्याण महाशाखाले सबैमा अनुरोध गरेको छ ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको पछिल्लो प्रतिवेदन अनुसार देशका २५ जिल्लाका ५९ स्थानीय तहमा ८० जना प्रयोगशालामा पुष्टि भएका जापानिज इन्सेफलाइटिसका बिरामी देखिएका छन् ।
आज एक विज्ञप्ति जारी गर्दै महाशाखाले पुष्टि भएका बिरामीमध्ये ८६ प्रतिशतले जापानिज इन्सेफलाइटिस रोगविरुद्धको ‘जेइ खोप’ नलगाएका जनाएको छ । यसैगरी, हालसम्म सङ्क्रमितमध्ये २१ जनाको मृत्यु भइसकेको छ । मृतक सबैले जेइ खोप नलगाएका पाइएको छ ।
जेइका ‘केस’ (बिरामीको अवस्था) हालसम्म सबैभन्दा बढी झापामा १०, कैलाली र मोरङमा सात-सात, सप्तरी र कञ्चनपुरमा छ–छ तथा चितवन, सुनसरी र नवलपरासीपूर्वमा पाँच-पाँच रहेका छन् । मुख्यतः तराई तथा भित्री मधेसका जिल्लामा केन्द्रित भए पनि इलाम, काभ्रेपलाञ्चोक, काठमाडौँ, सिन्धुली, सुर्खेतलगायत पहाडी जिल्लामा जेइ पुष्टि भएको प्रतिवेदनले जनाएको छ ।
जापानिज इन्सेफलाइटिस मुख्यतः सङ्क्रमित क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट सर्दछ । धेरै बिरामी धानखेत तथा सुँगुरपालन गरिने क्षेत्रमा बसोबास गर्नेमा यसको सङ्क्रमण देखिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
सङ्क्रमित जनावर जस्तै सुँगुर, बङ्गुर, हाँसलाई टोकेको लामखुट्टेले मानिसलाई टोक्दा मानिसमा भाइरस सर्न सक्छ । जेइको सङ्क्रमण भएका प्रत्येक तीन जनामध्ये एक जनाको मृत्यु हुने र एक जना दीर्घकालीन अपांगता वा स्नायुसम्बन्धी समस्यासहित बाँच्नुपर्ने तथ्यांक छ ।












प्रतिक्रिया