राजनीति-समाज

नेतृत्व छाड भन्नेलाई ओलीको चेतावनी : ‘बस्न मन नभए पार्टी छोड्दा हुन्छ’

नेतृत्व छाड भन्नेलाई ओलीको चेतावनी : ‘बस्न मन नभए पार्टी छोड्दा हुन्छ’


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूले नेतृत्व नछाड्ने स्पष्ट पारेका छन् । लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ बैठकलाई सम्बोधन गर्न इलाम पुगेका ओलीले पार्टी अफ्यारो परेको बेलामा नेतृत्व छाडेर नहिँड्ने बताए ।

उनले भने, ‘अहिले अलिकति अनुशासनहीनता देखापरेको छ । पार्टी कार्यालयको क्यान्टिनमा बसेर केही हल्ला राखेका छन् । अध्यक्षलाई हटाउने ? कसले हटाउने ? के मजाक हो यो ? यस्तो अराजकता हुन्छ ? कोही हस्ताक्षर गर्दै हिँड्या छ।’

Advertisement

उनले पार्टी पुनर्गठनको बहस गर्नेहरूलाई आवाराको संज्ञा दिए । उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायत नेताहरू ओलीको विकल्प खोज्नुपर्ने पक्षमा उभिएका छन् ।

उनले आफूले नेतृत्व नछाड्ने बताए । उनले थपे, ‘विरोधीले तीव्र प्रहार गरेको छ, हामीलाई झेल्न मुस्किल भइराखेको छ । एकताबद्ध पार्टीले सामना गर्नुपर्ने बेलामा अध्यक्ष हटाउँछौँ भन्या छ । यो केही हुनेवाला होइन । अब केन्द्रीय कमिटीको बैठक पछि पार्टीलाई दृढ अनुशासनका साथ एकताबद्ध बनाएर लगिनेछ । अनुशासनका साथ लगिनेछ ।’

उनले पार्टीमा अराजकता र मनपरितन्त्र नचल्ने चेतावनी दिए । उनले भने, ‘पार्टीको विरोध गरेर हिँड्ने, सामाजिक सञ्जालमा जेपायो त्यही लेख्ने कुरा हुँदैन । पार्टीमा बस्ने हो भने पार्टीको अनुशासनमा बस्नुपर्छ । अर्को पार्टीमा जाने हो भने त्यही पार्टीको अनुशासन के के छ, त्यही गरे हुन्छ । चुप लागेर घरमा बस्ने भए बसे हुन्छ। तर पार्टीमा काम गर्ने हो अनुशासन चाहिन्छ । कुनै संस्थामा काम गर्दा त्यो संस्थाको नीति, नियम, विधि, अनुशासन पालना गर्नुपर्छ। यो कुरा कार्यान्वयन गरेर गइन्छ ।’

उनले विधि–विधान विपरीत जानेहरूमाथि कारबाही हुने चेतावनी दिए । उनले आफूले अर्को महाधिवेशनसम्मका लागि पार्टी चलाउनका लागि कार्यकर्ताबाट अत्याधिक मतसहित जितेर नेतृत्वमा आएकाे बताए ।