राजनीति-समाज

विशेष महाधिवेशनको पक्षमा थिइनँ, अदालतले न्याय दिनेछ : देउवा

विशेष महाधिवेशनको पक्षमा थिइनँ, अदालतले न्याय दिनेछ : देउवा


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू सम्पूर्णरूपमा पार्टी एकताको पक्षमा रहेको बताएका छन् ।

शनिबार महाराजगञ्जस्थित निवासमा भेट्न पुगेका पत्रकारहरूसँग कुराकानी गर्दै उनले आफू विशेष महाधिवेशनको पक्षमा नरहेको स्पष्ट पार्दै सर्वोच्च अदालतको न्यायपछि पार्टीमा एकता हुने दाबी गरेका हुन् ।

Advertisement

‘सम्पूर्ण रूपमा पार्टी एकता हुनुपर्छ । विशेष अधिवेशनको पक्षमा म थिइनँ, मैले मानेको पनि होइन’, देउवाले भने, ‘त्यसको खिलाफमा हामीले मुद्दा दिएका छौँ । त्यसको पुनरवलोकन नभएसम्म धेरै बोल्नु हुँदैन । मलाई विश्वास छ, त्यसमा न्याय मिल्छ । अनि पार्टी एकता हुन्छ ।’

अर्को प्रसङ्गमा नेता देउवाले लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र पत्रकारिता अतिआवश्यक रहेको बताए । प्रेसले कसैको पक्ष वा विपक्षभन्दा भीष्म प्रतिज्ञाका रूपमा निष्पक्ष भई काम गर्नुपर्नेमा उनले जोड दिए ।

‘स्वतन्त्र पत्रकारिता प्रजातन्त्रका लागि अतिआवश्यक कुरो हो । मेरो पक्षमा छ, मेरो पक्षमा छैन भन्ने कुरा होइन,’ देउवाले भने, ‘व्यक्तिपूजा होइन नि ! प्रेसले पनि निष्पक्षरूपले हेर्ने हो । प्रेस स्वतन्त्रता हरेक लोकतन्त्रमा सबैभन्दा महत्त्वपूर्ण हुन्छ ।’

लामो समयको अन्तरालपछि स्वदेश फर्किएका देउवाले आफ्नो गृहक्षेत्र सुदूरपश्चिम तथा डडेलधुरा जाने तीव्र इच्छा रहेको बताए । स्थानीय जनताको माया र समर्थनलाई स्मरण गर्दै उनले त्यहाँका विकास निर्माणका बाँकी कामहरू पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।