राजनीति-समाज

मुलुकको निराशालाई आशामा बदल्ने दायित्व कांग्रेसको काँधमा : देउवा

मुलुकको निराशालाई आशामा बदल्ने दायित्व कांग्रेसको काँधमा : देउवा


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा देखिएको निराशालाई आशामा बदल्ने जिम्मेवारी नेपाली कांग्रेसले लिनुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौँमा कांग्रेसको संस्थापनइतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले मुलुकको राजनीतिक इतिहास र अग्रजहरूको योगदानलाई नयाँ पुस्तामाझ स्थापित गर्नुपर्नेमा जोड दिए ।

Advertisement

उनले राणाकालीन अवस्था, तत्कालीन गरिबी तथा निरंकुश निर्दलीय व्यवस्थाविरुद्ध नेपाली कांग्रेसले गरेको संघर्षबारे नयाँ पुस्ताले जान्न आवश्यक रहेको बताए । अग्रजहरूले बलिदानीपूर्ण संघर्ष गरेर मुलुकलाई वर्तमान अवस्थामा ल्याएको उल्लेख गर्दै देउवाले इतिहास बिर्सिए सही राजनीतिक गन्तव्यमा पुग्न नसकिने धारणा राखे ।

उनले भने, ‘समाजमा अहिले पनि निराशा देखिएको छ । यो निराशालाई आशामा बदल्नुपर्ने हुन्छ । यो दायित्व समेत सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसले लिनुपर्दछ ।’

देउवाले कांग्रेसले विगतमा गरेको योगदानबारे नयाँ पुस्तालाई जानकारी गराउनुपर्ने बताउँदै राजनीतिक परिवर्तन र अग्रजहरूको योगदानको इतिहास टोल–टोलसम्म पुर्‍याउन आग्रह गरे । इतिहासबाट पाठ सिकेर मात्रै मुलुकको सही राजनीतिक गन्तव्य तय गर्न सकिने उनको भनाइ थियो ।

विगतमा केही पनि नभएको र भएका सबै कुरा खराब थिए भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै देउवाले यस्तो प्रवृत्तिले मुलुकलाई थप कमजोर बनाउने चेतावनी दिए ।

उनले भने, ‘विगतका कठिन राजनीतिक परिवर्तनका कथा समाजले नपढ्ने हो भने हाम्रा पुर्खाहरूले पुर्‍याएको योगदानको राजनीतिक इतिहास ओझेलमा पर्छ । मुलुकको विगतको इतिहासमा गर्व गर्नुपर्छ । त्यो वातावरण बनाउने काम नेपाली कांग्रेसको काँधमा आएको छ ।’

देउवाले मुलुकको इतिहास र लोकतान्त्रिक आन्दोलनमा अग्रजहरूले गरेको योगदानप्रति गर्व गर्ने वातावरण निर्माण गर्नु कांग्रेसको महत्त्वपूर्ण जिम्मेवारी भएको बताए ।

उनले विशेष महाधिवेशनको नामामा पार्टीलाई कमजोर बनाइएको आरोप लगाए । नेपालको राजनीति अवस्था संवेदनशील रहेकाले सबै सजक भएर भूमिका खेल्नुपर्ने उनले बताएका छन् । पार्टीले संयम भएर गन्तव्य पहिल्याउन सकेमात्रै सही बाटो हिँड्न सकिने पनि उनले बताए ।